हलेसीमा खानेपानीको हाहाकार

डम्बरसिं राई

खोटाङ — खानेपानीको चर्को समस्याले गर्दा धार्मिक पर्यटकीयस्थल हलेसीलगायत आसपास क्षेत्रका बासिन्दा समस्यामा परेका छन् । कतिपय बासिन्दा खानेपानीकै समस्याले अन्यत्र बसाइँ सर्न बाध्य छन् ।‘पानीको जोहो गर्न दिनभरि लाग्छ,’ हलेसी तुवाचुङ नगरपालिका–५ दुर्छिम जोरकाफलकी कोटगैह्राकी रीता कार्कीले भनिन्, ‘गाग्रो बोकेर हिँड्दा हिँड्दै दिन जान्छ ।’

हलेसीमा खानेपानीको हाहाकार

यो क्षेत्रमा खानेपानीको समस्या अहिले मात्र होइन । पुस्तौंदेखि समस्या उस्तै भएको हलेसी तुवाचुङ नगरपालिका–५ दुर्छिम जोरकाफलका चन्द्रबहादुर राईले सुनाए । ‘सात पुस्तादेखि पानीको समस्या टरेको छैन,’ ६१ वर्षीय राईले भने, ‘खानेपानी नभएपछि गाउँलेहरू बसाइँ नै सरेका छन् ।’ हलेसी क्षेत्रका अधिकांशलाई खानीपानी समस्याले पिरोलेको छ । नजिकै मुहान नहुँदा घन्टौं लगाएर पानीको जोहो गर्नुपरेको दुर्छिम जोरकाफलकी रेनुका राईले सुनाइन् । ‘पानी लिन खाजा लिएर जानुपर्छ ।’ उनले भनिन्, ‘कुवामा पानी भरिएको छ र पालो पाइयो भने एक घण्टा लाग्छ ।’ उनले भनिन्, ‘नत्र दिनभरि पनि पर्खिनुपर्ने हुन्छ ।’

उनका अनुसार पानी अभावले दूधकोसीको पानी ट्र्याक्टरमा बोकेर खानुपरेको छ । लिङ्लाम, पकौटेपा, झापा, थुम्का, ढिकेरबोट, डिकुपुलगायतका सुक्खा क्षेत्रमा खानेपानी नभएपछि ट्र्याक्टरमा बोकेर खानुपर्ने बाध्यता छ । पानीको अभाव टार्न टोल विकासको १४ लाख र बाँकी रकम नगरपालिकाले लगानी गरी त्यस क्षेत्रका सामुदायलाई पानी बोक्नका लागि एउटा ट्र्याक्टर खरिद गरिएको खानेपानीका लागि ट्र्याक्टर व्यवस्थापन समितिका अध्यक्ष हपिनशेर राईले बताए ।

समग्र हलेसी क्षेत्रलाई खानेपानी पुर्‍याउन तीन वर्षअघि बृहत् पम्पिङ खानेपानी आयोजना निर्माण सुरु गरिए पनि अहिले अलपत्र छ । ‘बृहत् पम्पिङ प्रविधिको खानेपानी आयोजना सम्पन्नपछि खानेपानीको हाहाकार टर्छ भनेर आशा गरिएको थियो,’ निर्माण उपभोक्ता समितिका उपाध्यक्ष डिल्ली चाम्लिङले भने, ‘आयोजना सकिनुको साटो अलपत्र परेपछि हामी निराश छौं ।’ निर्माण कम्पनीको गैरजिम्मेवारीका कारण निर्माण अवधि सकिए पनि आयोजना भने अपूरै रहेको चाम्लिङको गुनासो छ । हलेसी तुवाचुङ नगरपालिका बाहुनीडाँडा कदुवाको लिलिमाबेंसीबाट डिकुवाको भुम्जुडाँडामा र हलेसी तुवाचुङ नगरपालिका सल्लेको महादेवबेंसीबाट महादेवस्थानको काभ्रेडाँडासम्म पम्पिङ गरेर उक्त नगरपालिकाको सातवटा वडाका करिब ३ हजार ८ सय २५ घरधुरीलाई खानेपानी पुर्‍याउनका लागि सुरु गरिएको योजना अलपत्र परेको हो ।

करिब ३१ करोड ७५ लाख ९६ हजार रुपैयाँको लागतमा २०७६ साल मंसिरमा सक्ने गरी दिवा–महादेव खिम्तीले २०७४ असार २१ गते कामको ठेक्का सम्झौता गरेको थियो । उक्त समयमा नसकेपछि स्थानीयले खानेपानी मन्त्रालयसम्म गुहार माग्दासमेत निर्माण कम्पनीले अटेर गरेको उपभोक्ता समितिका उपाध्यक्ष चाम्लिङले सुनाए ।

प्रकाशित : वैशाख ६, २०७८ ११:४४
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

छ वर्षअघि अन्त्य भइसकेको यातायात क्षेत्रको सिन्डिकेट ब्युँताउने चलखेल सुरू भएको छ । तपाईंको के राय छ ?