प्रदेश १ सभा बैठक : विरोधका बीच हिउँदे अधिवेशन अन्त्य

अधिवेशनमा एउटा पनि विधेयक टेबल हुन सकेन
देवनारायण साह

मोरङ — प्रदेश १ का प्रदेशसभाको हिउँदे अधिवेशन आइतबार अन्त्य भएको छ । सभामुख प्रदिपकुमार भण्डारीले माओवादी केन्द्रका साथै सबै प्रतिपक्षी दलको विरोधका बीच प्रदेश प्रमुख सोमनाथ अधिकारीले पठाएको अधिवेशन अन्त्यसम्बन्धी पत्र पढेर सुनाएका थिए ।

प्रदेश १ सभा बैठक : विरोधका बीच हिउँदे अधिवेशन अन्त्य

सभामुख भण्डारीले बैठक सुरु गर्न खोज्दा माओवादी लगायतका सबै प्रतिपक्षी दल उठेर सदन अवरुद्ध गरेका थिए । सभामुख भण्डारीले सदनमा उठेका समस्या सम्बोधनका लागि मुख्यमन्त्री शेधरन राईले बोल्ने कार्यसूची रहेकाले बस्न आग्रह गरेका थिए । सभामुख भण्डारीले पटकपटक बस्न आग्रह गर्दा समेत नबसेपछि एक जनालाई आफ्नो कुरा राख्न समय दिएका थिए । तर सदन अवरुद्ध गर्न उठेकामध्ये कांग्रेसका प्रमुख प्रतिपक्षी दलले आफ्नै ठाउँबाट चालु आर्थिक वर्षमा स्वीकृत योजनाहरुको स्रोतको सुनिश्चितता नभएसम्म बैठक चल्न नदिने माग दोहोर्‍याएका थिए ।

त्यसपछि पनि प्रतिपक्षी दलका प्रदेशसभा सदस्यहरु नबसेपछि सभामुख भण्डारीले प्रदेश प्रमुख अधिकारीले पठाएको पत्र पढेर सुनाउन थालेका थिए । पत्र सुनाउन थालेपछि माओवादी लगायत सबै प्रतिपक्षी दलका प्रदेशसभा सदस्यहरुले नाराबाजी गरेका थिए ।

प्रदेशसभाको यो सातौं अधिवेशनमा बसेको ८ वटा बैठक २ घण्टा ३१ मिनेट चलेको थियो । हिउँदे अधिवेशनलाई विधेयक अधिवेशन पनि भनिन्छ । तर एउटा पनि विधेयक टेबलसम्म हुन सकेन । ८ वटा बैठकमा सबैको उपस्थितिमा एउटामात्रै पूर्ण बैठक बस्यो ।

प्रकाशित : वैशाख ५, २०७८ १४:३९
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

अध्यादेशबाट कानुन ल्याएर भएपनि सहकारीपीडितको रकम फिर्ता गर्ने गृहमन्त्री रवि लामिछानेको भनाईप्रति तपाईं के टिप्पणी छ ?