प्रदेश १ सभा बैठक : विरोधका बीच हिउँदे अधिवेशन अन्त्य- प्रदेश १ - कान्तिपुर समाचार
कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement

प्रदेश १ सभा बैठक : विरोधका बीच हिउँदे अधिवेशन अन्त्य

अधिवेशनमा एउटा पनि विधेयक टेबल हुन सकेन
देवनारायण साह

मोरङ — प्रदेश १ का प्रदेशसभाको हिउँदे अधिवेशन आइतबार अन्त्य भएको छ । सभामुख प्रदिपकुमार भण्डारीले माओवादी केन्द्रका साथै सबै प्रतिपक्षी दलको विरोधका बीच प्रदेश प्रमुख सोमनाथ अधिकारीले पठाएको अधिवेशन अन्त्यसम्बन्धी पत्र पढेर सुनाएका थिए ।

सभामुख भण्डारीले बैठक सुरु गर्न खोज्दा माओवादी लगायतका सबै प्रतिपक्षी दल उठेर सदन अवरुद्ध गरेका थिए । सभामुख भण्डारीले सदनमा उठेका समस्या सम्बोधनका लागि मुख्यमन्त्री शेधरन राईले बोल्ने कार्यसूची रहेकाले बस्न आग्रह गरेका थिए । सभामुख भण्डारीले पटकपटक बस्न आग्रह गर्दा समेत नबसेपछि एक जनालाई आफ्नो कुरा राख्न समय दिएका थिए । तर सदन अवरुद्ध गर्न उठेकामध्ये कांग्रेसका प्रमुख प्रतिपक्षी दलले आफ्नै ठाउँबाट चालु आर्थिक वर्षमा स्वीकृत योजनाहरुको स्रोतको सुनिश्चितता नभएसम्म बैठक चल्न नदिने माग दोहोर्‍याएका थिए ।

त्यसपछि पनि प्रतिपक्षी दलका प्रदेशसभा सदस्यहरु नबसेपछि सभामुख भण्डारीले प्रदेश प्रमुख अधिकारीले पठाएको पत्र पढेर सुनाउन थालेका थिए । पत्र सुनाउन थालेपछि माओवादी लगायत सबै प्रतिपक्षी दलका प्रदेशसभा सदस्यहरुले नाराबाजी गरेका थिए ।

प्रदेशसभाको यो सातौं अधिवेशनमा बसेको ८ वटा बैठक २ घण्टा ३१ मिनेट चलेको थियो । हिउँदे अधिवेशनलाई विधेयक अधिवेशन पनि भनिन्छ । तर एउटा पनि विधेयक टेबलसम्म हुन सकेन । ८ वटा बैठकमा सबैको उपस्थितिमा एउटामात्रै पूर्ण बैठक बस्यो ।

प्रकाशित : वैशाख ५, २०७८ १४:३९
प्रतिक्रिया
पठाउनुहोस्

राष्ट्रपतिद्वारा थापालाई गृहमन्त्रीमा पुनः नियुक्त

कान्तिपुर संवाददाता

काठमाडौँ — राष्ट्रपति विद्यादेवी भण्डारीले एमाले नेता रामबहादुर थापालाई पुनः गृहमन्त्रीमा नियुक्त गरेकी छिन् ।

राष्ट्रपति भण्डारीले आइतबार थापालाई गृहमन्त्रीमा नियुक्त गरेकी हुन् । राष्ट्रपतिको कार्यालयका प्रवक्ता रुपनारायण भट्टराईले विज्ञप्ति जारी गर्दै प्रधानमन्त्री केपी शर्मा ओलीको सिफारिसमा थापालाई नियुक्त गरिएको उल्लेख गरेका छन् ।

संघीय संसद्ले थापाको सांसद पद रिक्त गर्न माग राखी माओवादी केन्द्रले बुझाएको पत्र आइतबार स्वीकृत गरेकोमा प्रधानमन्त्री ओलीले उनलाई आजै पुनः नियुक्त का लागि सिफारिस गरेका थिए ।

थापाले साँझ ५ बजे राष्ट्रपति भवनमा सपथ लिने भएका छन् ।

प्रकाशित : वैशाख ५, २०७८ १४:३३
पूरा पढ्नुहोस्
प्रतिक्रिया
पठाउनुहोस्
×