२१.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: ३१७

धमाधम सुक्दै लेकाली वन

कुम्भराज राई

ओखलढुंगा — मानेभन्ज्याङ गाउँपालिका–४ केत्तुकेका अडिलमान तामाङ ‘सडक रेखालु’ हुन् । सिद्धिचरण राजमार्गको केत्तुकेदेखि लगलगे खण्डमा उनी सडकको रेखदेख, सरसफाइको काम गर्छन् । उनले काम गर्ने सडक खण्ड पर्ने क्षेत्र पूरै जंगलले ढाकिएको छ ।

धमाधम सुक्दै लेकाली वन

दशकौंदेखि यस खण्डमा काम गर्दै आएका उनी यसपालि जंगलका रूखहरू धमाधम सुक्न थालेपछि दुःखित छन् । वनभरि गुराँस फुलेर ढकमक्क हुने बेलामा पालुवासमेत लागेको छैन । ‘धेरैजसो पात्लेका रूखहरू सुकेका छन् ।’ अडिलमानले भने, ‘कटुस, गुराँसका रूख पनि सुकेका छन् । मैले जीवनमै यसरी जंगल सुकेको देखेको थिइनँ ।’

समुद्री सतहदेखि १ हजार ५ सय मिटर उचाइमा रहेको उक्त वन क्षेत्र हिउँदमा समेत प्रायः हरियाली नै रहने गर्थ्यो । २०७२ को भूकम्पपछि हिउँदमा रूख सुक्ने क्रम सुरु भएको सिद्धेश्वरी सामुदायिक वन सल्लेरीका उपभोक्ता समिति सचिव गोपाल धमलाले बताए । ‘भूकम्पपछि एक दुई रूखहरू सुकेको थियो । यस वर्ष त वनका ६० प्रतिशत रूख सुकेका छन्’ धमलाले भने ।

सिद्धेश्वरी, भुसुने, चैते, पम्पालुलगायतका दर्जनौं सामुदायिक वन सुकेका छन् । औसतमा ३० देखि ४० प्रतिशत रूखहरू सुकेको स्थानीय बताउँछन् । उद्योग पर्यटन, वन तथा वातावरण मन्त्रालय प्रदेश १ का सचिव मेघनाथ काफ्लेले पनि स्थलगत रूपमै वन अवलोकन गरेका छन् । सामान्य रूपमा अवलोकन गर्दा खडेरीकै कारण रूख सुकेको हुन सक्ने उनले बताए ।

लामो समय खडेरी परेको कारण चिसोको अभावले सुकेको हुन सक्ने उनले बताए । दुई दिनदेखि केही मात्रामा वर्षा भएकाले अब रूख पलाउँछ वा पलाउँदैन, हेरेपछि मात्रै अन्य कारणले मरेको हो वा होइन भन्ने अध्ययन गर्न सकिने वन विज्ञसमेत रहेका काफ्लेको भनाइ छ । लामो समयको खडेरीले गर्दा मानेभन्ज्याङ गाउँपालिकाको तटीय क्षेत्रमा बाँसका रूखसमेत सुकेर मर्न थालेका छन् । त्यसै पनि, सुक्खा क्षेत्र भएकाले पिउने पानी अभाव भएका बस्तीहरू काकाकुल बन्न थालेका छन् ।

प्रकाशित : वैशाख ५, २०७८ ०८:४५
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

राजनीतिक दलमा आबद्ध शिक्षकहरूलाई पदबाट हटाउने शिक्षा मन्त्रालयको निर्णय कस्तो लाग्यो ?