पानीजति हाइड्रोमा, खोलानदी सुक्खा

आनन्द गौतम

ताप्लेजुङ — पाँचथरको याङवरक गाउँपालिका थर्पुबाट ताप्लेजुङको पाथीभरा याङवरक गाउँपालिका थुम्बेदिन जाँदा काबेली नदीमा झोलुंगे पुल तर्नुपर्छ । पुल तरिरहँदा दुईवटा दृश्य देखिन्छ । पुलको पूर्वपट्टि ठूलो आवाज गर्दै काबेली छङछङ बगेर आएको छ भने पश्चिमपट्टि नदी पूरै सुक्खा छ । 

पानीजति हाइड्रोमा, खोलानदी सुक्खा

पाँचथरको हेवा खोलाको हालत पनि यस्तै छ । मेची राजमार्गमा यात्रा गर्नेहरूले पुलमुनि पानी नदेखेपछि उदेक मान्छन् । काबेली नदी र हेवा खोलामा पानी आफैं सुकेको भने होइन । विद्युत् उत्पादक कम्पनीले खोलाको पानी थुनेर सुरुङ (टनेल) मा हालेका कारण सुक्खा भएको हो ।

नियमअनुसार, १० प्रतिशत पानी खोलामै छोड्नुपर्छ । तर विद्युत् उत्पादक उक्त नियम ठाडै मिचिरहेका छन् । खोलो पूरै थुनेर सुरुङमा पानी सोझ्याएछन् । ताप्लेजुङको रैराङ खोलाको अवस्था पनि यस्तै छ । रैराङको पानी काबेलीमा ल्याएर मिसाइएको छ ।

रैराङवाट १० मेगावाट विद्युत् उत्पादन हुन्छ । रैराङ खोलाको पानी ल्याएर काबेली नदी छेउमा झारिएको छ । रैराङ र काबेली नदीको पानीलाई समेटेर सुरुङमार्फत पावर हाउसमा पुर्‍याएर २४ मेगावाट उत्पादन गरिएको छ । बर्खाको तुलनामा हिउँदमा भने उत्पादन ह्वात्तै घट्ने गरेको छ ।

पाँचथरको फिदिम नगरपालिका–४ र हिलिहाङ गाउँपालिका–७ को सिमाना भएर बग्ने हेवा र फेमे खोलाको पानीबाट २२ मेगावाट विद्युत् उत्पादन हुन्छ । माउन्टेन हाइड्रोपावर कम्पनीले तल्लो हेवा खोला जलविद्युत् आयोजना सञ्चालन गरेको छ ।

तर यता खोला, नदीकै पानीमा आश्रित भई हिउँदे खेती गर्दै आएका किसान भने जलविद्युत्का लागि सबै पानी टनेलमा सोझ्याएपछि चिन्तित छन् । स्थानीय दीपक माझीले भने, ‘खोलै सुकेपछि खेतमा सिँचाइ गर्ने उपाय पनि भएन ।’ गत वर्ष पनि हाइड्रो चलाउनेले यसै गरेको र विरोध गरेपछि थोरै मात्रामा पानी छोडेको उनले बताए ।

काबेली सुकेपछि अन्तिम दाहसंस्कारमा समेत समस्या परेको सिनामका रत्न थेवेले गुनासो पोखे, ‘पानी नभएको खोलामै किन लैजानु र जस्तो हुन्छ ।’ हाइड्रो पावरका सञ्चालक दीपेन्द्र आङ्बो खोलामा पानीको बहाव घटेकाले यस्तो भएको बताउँछन् । उनी अहिले खोलामा प्रतिसेकेन्ड तीन/चार सय लिटर मात्रै पानी भएको र त्यसको १० प्रतिशत पानी छोडेको दाबी गर्छन् । ‘दाहसंस्कार गर्ने समयमा आयोजना बन्द गरेर पनि पानी छोडेका छौं,’ आङ्बोले भने, ‘हाइड्रोले नियम उल्लंघन गरेको छैन, पानी घटेकै कारण यस्तो भएको हो ।’ तीन/चार सय लिटर पानी छोड्दा खोलामा नदेखिएको उनको दाबी छ ।

प्रकाशित : वैशाख ५, २०७८ ०९:२७
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

अध्यादेशबाट कानुन ल्याएर भएपनि सहकारीपीडितको रकम फिर्ता गर्ने गृहमन्त्री रवि लामिछानेको भनाईप्रति तपाईं के टिप्पणी छ ?