२६.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १९३

पूर्व-पश्‍चिम जोड्दै वैकल्पिक राजमार्ग

डिल्लीराम खतिवडा

उदयपुर — पूर्वी नेपालका बासिन्दाका लागि २०६५ भदौ २ काहालीलाग्दो दिन हो । उक्त दिन पूर्वी नेपाल बाँकी भूभागसँग अलग्गिनुपरेको थियो । यातायात सम्पर्क पूर्णतः टुटेको थियो ।

पूर्व-पश्‍चिम जोड्दै वैकल्पिक राजमार्ग

सुनसरीको पश्चिम कुसाहास्थित कोसीको बाँध फुटेपछि करिब ५ महिना पूर्वी नेपालको अवस्था यस्तै रह्यो । ७ हजार बढी घरका झन्डै ४२ हजार विस्थापित भएका थिए । ५ हजार हेक्टर जमिन बालुवामा परिणत भएको थियो । १२ किलोमिटर कालोपत्रे सडक र १३ किलोमिटर कच्ची सडक बाढीले बगाउँदा लामो समयसम्म पूर्व–पश्चिमको यातायात सञ्चालनमा आउन सकेन ।

उक्त समय सप्तकोसी पूर्व र पश्चिम सुरक्षित आवतजावतका लागि भारतको बाटो रोज्नुपर्ने बाध्यता थियो । कोसी बाँध फुटेकै अवस्थामा २०६३ माघ १ यता सुरु भएको मधेस आन्दोलन चर्किंदै थियो । आन्दोलनकै कारण महिनौंसम्म मधेस क्षेत्र बन्द थियो । पूर्व–पश्चिम महेन्द्र राजमार्ग आन्दोलनकै कारण सुरक्षित थिएन ।

दैनिक सवारीसाधन तोडफोड गर्ने र जलाउने काम भइरहेको थियो । महेन्द्र राजर्माग ठप्प थियो । पूर्व–पश्चिम आवागमनको मुख्य राजमार्ग ठप्प भएपछि सरकार र सर्वसाधारण विकल्पको खोजीमा थिए । त्यसैक्रममा पूर्वी नेपाललाई राजधानी काठमाडौं र पश्चिम नेपालसँग जोड्ने गरी सप्तकोसीको चतराघाटमा फेरी सञ्चालन गरियो । फेरी सञ्चालनसँगै सरकारले पूर्व–पश्चिम राजमार्गको विकल्पमा चतराघाट हुँदै उदयपुरको गाईघाट–कटारी–सिन्धुली हुँदै हेटौंडासम्मको सडक निर्माण गर्ने निर्णय गर्‍यो ।

‘मदन भण्डारी राजमार्ग’ नाम दिइएको यस सडकको निर्माण यतिबेला अन्तिम चरणमा पुगेको छ । सप्तकोसी बाँध फुटेको र मधेस आन्दोलनले महेन्द्र राजमार्ग ठप्प भएपछि सरकारले विकल्पको रूपमा निर्माण सुरु गरेको सडक नै अहिले मदन भण्डारी राजमार्ग भएर पूर्वी नेपालको विकासको मेरुदण्ड बन्दै छ । ‘मधेस आन्दोलन नभएको भए सायद मदन भण्डारी राजमार्ग बन्दैनथ्यो होला,’ गैरसकारी संस्था महासंघ उदयपुरका सचिव सीएम गुरागाईंले कान्तिपुरसँग भने, ‘एकातिर कोसी बाँध फुट्दा र अर्कोतिर मधेस आन्दोलनले सडक अवरुद्ध भएपछि यहाँका सर्वसाधारण आजित थिए ।’ त्यसै समयमा सरकारले विकल्पका रूपमा मदन भण्डारी राजमार्ग निर्माण सुरु गरेको उनले बताए ।

बाँध फुट्नु र मधेस आन्दोलन चर्कनु सँगसँगै जस्तो हुनुले पनि सरकारको प्राथमिकतामा नहुँदा नहुँदै पनि वैकल्पिक राजमार्ग निर्माण सम्भव भएको चौदण्डीगढी नगरपालिका–६ वेल्टार बजारका दीपक राउतले बताए ।

सडक निर्माणको रेखदेखको जिम्मा पाएको मदन भण्डारी राजमार्ग पूर्वी क्षेत्र आयोजना कार्यालयले ‘क्यालेन्डर डे’ बनाएर दैनिक काम गर्ने गरेको छ । क्यालेन्डरको आधारमा दैनिक प्रगति हासिल गर्ने गरी निर्माण भइरहेको र पूर्वीखण्डको प्रगति ९५ प्रतिशत पुगेको आयोजना कार्यालय गाईघाटका प्रमुख बेलबहादुर भुजेलले बताए ।

०७८ वैशाख १५ गतेसम्म राजमार्गको पूर्वी खण्डको काम सम्पन्न गर्ने गरी पछिल्लोपटक म्याद थप गरिएको उनले जनाए । धरान–चतरा–गाईघाट–कटारी–सिन्धुली हुँदै हेटौंडा जोड्ने राजमार्गअन्तर्गत पूर्वीखण्ड उदयपुरको चौदण्डीगढी नगरपालिका–४ बसाहाको वीरेन्द्र चोकदेखि सिन्धुलीको भिमानसम्म १ सय ३४ किलोमिटरमध्ये १ सय २० किलोमिटरमा कालोपत्रे गरिएको भुजेलले बताए ।

भिमान–बसाहा खण्डमा थपिएका १२ पुल र पुलसँग जोडिएको सडक करिब ९ किलोमिटर कालोपत्रे गर्नेबाहेकको सबै काम वैशाख १५ भित्रै सकिने आयोजनाले जनाएको छ । राष्ट्रिय गौरवको योजनाका रूपमा लिइएको यो राजमार्ग निर्माणको काम जेडआईसीई र लामा–शर्मा जेभीले गरिरहेको छ ।

२०७३ कात्तिकदेखि निर्माण सुरु भएको राजमार्गअन्तर्गतका विभिन्न ४३ वटा पुल निर्माण सकिएको आयोजनाका इन्जिनियर मनीष पोखरेलले बताए । कोभेक–रसुवा–तुन्डी जेभी निर्माण कम्पनीले पुल बनाएको हो ।

प्रकाशित : वैशाख ४, २०७८ १०:०९
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

कक्षा १ मा भर्ना भएकामध्ये ५० प्रतिशत विद्यार्थी मात्र एसईई परीक्षामा सहभागी हुन्छन् । विद्यालय शिक्षा पुरा नहुँदै विद्यार्थी पलायन हुनेक्रम रोक्न के गर्नुपर्छ ?