२१.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १६७

अझै बनेन चक्रपथ

विराटनगर — अढाई दशकअघि नै सुरु गरिएको विराटनगरको चक्रपथ (रिङरोड) निर्माण योजना अझै अलमलमा छ । मुआब्जा वितरण र जग्गा प्राप्तिमै योजना अल्झिरहेको छ ।

योजनाअनुसार तत्कालीन कटहरी, भाथीगछ, हात्तीमुडा र झोराहाट गाविस हुँदै विराटनगर महानगरलाई चारैतर्फबाट घेर्ने चक्रपथ ४२ किलोमिटर लम्बाइको हुनेछ ।

करिब दुई किलोमिटर क्षेत्रमा मुआब्जा विवादका कारण ट्र्याक खोल्ने काम रोकिएको छ । निर्माण सुरुवातताका योजनाका लागि ४२ करोड ७० लाख ७७ हजार रुपैयाँ अनुमानित लागत इस्टिमेट तयार गरिएको थियो । सुरुमा सडक डिभिजन कार्यालय हुँदै भवन तथा सहरी विकास कार्यालयले निर्माणको जिम्मेवारी पाएका थिए । त्यसपछि केही वर्ष तत्कालीन विराटनगर उपमहानगरपालिकाले योजनामा काम गर्‍यो । पछिल्लो समय संघीय सरकार हुँदै प्रदेश सरकारको जिम्मेवारीमा सारिएको चक्रपथ निर्माण कार्य चालु आर्थिक वर्षमा भने ठप्पै छ ।

प्रदेश सरकार मातहतको पूर्वाधार विकास कार्यालय प्रमुख राजनराज रेडीका अनुसार चालु आर्थिक वर्ष प्रदेश सरकारले योजनाकानाममा एक रुपैयाँ पनि विनियोजन नगरेपछि निर्माण कार्य ठप्प भएको हो । ट्र्याक खोल्ने र स्तरोन्नति गर्ने नाममा डिभिजन सडक कार्यालयले ३० करोड, सहरी विकास कार्यालयले ४० करोड, संघीय सरकारले १५ करोड, तत्कालीन विराटनगर उपमहानगरपालिकाले १० करोड र पछिल्लोपटक प्रदेश सरकारको पूर्वाधार विकास कार्यालयले ५ करोड रुपैयाँ विराटनगरको चक्रपथको नाममा खर्च गरिसकेका छन् ।

सुरुमा दुई लेनको रिङरोड निर्माण गर्ने गुरुयोजना तयार गरेर ४२ करोड ७० लाख ७७ हजार रुपैयाँ लागतमा ट्र्याक खोल्ने र निर्माण कार्य सुरु गरिएको थियो । पछिल्लो समय प्रदेश सरकारको मातहतमा योजना सरेपछि चार लेनको निर्माण गर्ने गुरुयोजना तयार गरेर २ अर्ब ५० करोड रुपैयाँ अनुमानित बजेट तोकियो ।

२०५४ सालमा निर्माण सुरु गरिएको योजना २०७७ साल सकिँदासम्म ४२ किलोमिटरमध्ये ३७ किलोमिटरमा ट्र्याक खोल्ने, ग्राभेल गर्ने र त्यसमध्ये तीन किलोमिटरमा कालोपत्र गर्ने काम मात्र भएको छ । ‘अढाई दशकसम्म रिङरोडले पूर्णता नपाउनु लाजमर्दो हो,’ विराटनगर महानगर प्रमुख भीम पराजुलीले भने, ‘निर्माण जिम्मा पाएका निकायको लापरबाहीले योजना अलपत्र भएको हो ।’

प्रकाशित : वैशाख ४, २०७८ ०८:५५
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

स्वयंसेवी संस्था स्काउटको स्वामित्वमा रहेको सार्वजनिक जग्गा कब्जा गरी वर्षौंदेखि भाडामा लगाउने कांग्रेसका सांसद दीपक खड्कालाई अब के गर्नुपर्छ ?