कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement
२४.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १३४

कञ्चनजंघा क्षेत्र सुनसान

आनन्द गौतम

ताप्लेजुङ — संसारकै तेस्रो अग्लो शिखर कञ्चनजंघामा यस वर्ष आरोहण नहुने भएको छ । अहिलेसम्म एकै जनाले पनि आरोहणका लागि नाम दर्ता नगराएको पर्यटन विभागले जनाएको छ ।

कञ्चनजंघा क्षेत्र सुनसान

पर्यटन विभागका निर्देशक मोहन जीसीले अब सम्पर्कमा आउने सम्भावना पनि निकै कम रहेको जनाए । तयारीका लागि पनि केही समय चाहिने भएकाले अब उक्त सम्भावना न्यून रहेको उनले बताए । सामान्य अवस्थामा आरोहीहरू वैशाख पहिलो सातासम्ममा कञ्चनजंघा बेस क्याम्प पुगिसकेका हुन्थे ।

आरोही मात्रै नभएर घुम्न आउनेको संख्या पनि अत्यन्तै कम रहेको कञ्चनजंघा संरक्षण क्षेत्र पर्यटन सहायक टाँसी शेर्पाले बताए । उनका अनुसार यो सिजनमा अहिलेसम्म २० जना घुन्सा पुगेका छन् । ‘यो बेला त गाउँ नै पर्यटकले भरिएको हुन्थ्यो, टाँसीले भने, ‘होटलवालालाई सोध्दा अब आउनेहरू पनि सम्पर्कमा छैनन् ।’ फेरि लकडाउनको हल्लाले अलिअलि सम्पर्क गर्नेहरूले पनि सम्पर्क गर्न छोडेको होटल व्यवसायी नुपु शेर्पा बताउँछन् ।

कोरोना संक्रमणका कारण अघिल्लो सिजनमा ३५ जनाले भ्रमण गरेका थिए । सामान्य अवस्थामा बर्सेनि १४ सय जनासम्मले कञ्चनजंघा भ्रमण गरेको तथ्यांक कञ्चनजंघा संरक्षण क्षेत्रसँग छ । संक्रमणका बेला सबैभन्दा बढी जापानका नागरिक नेपाल आएका थिए ।

फक्ताङलुङ गाउँपालिका–६ लेलेपको घुन्सामा विदेशी पर्यटकको तथ्यांक राख्ने गरिएको छ । कञ्चनजंघामा जापानी, जर्मनी, अस्ट्रेलिया, अमेरिका, फ्रान्स, ब्रिटिस, नेदरल्यान्ड, क्यानाडा, स्विट्जरल्यान्ड, बेल्जियम, फिलिपिन्स, स्पेन, स्वीडेनलगायत देशका नागरिक आउने गरेका छन् । छिमेकी देशहरू भारत र चीनबाट पनि आरोहण तथा भ्रमणका लागि आउने गरेको तथ्यांक छ । कञ्चनजंघामा माघ, असार र साउनमा बाहेक विदेशी पर्यटक आउने गरेका छन् । आरोहण भने वैशाख र जेठमा मात्रै हुने गरेको छ ।

वैशाख अन्तिमदेखि जेठको पहिलो सातासम्म आरोहण गरेका हुन् । बाँकी समय आउनेले यो क्षेत्रको भ्रमण गर्ने गरेका छन् । भ्रमण गर्नेको संख्या असोज, कात्तिक, चैत र वैशाखमा धेरै हुने गरेको छ । यातायातले भ्रमणको दूरी छोट्याएसँगै विदेशी पर्यटकको संख्यामा पनि वृद्धि हुन थालेको हो ।

पहिला कञ्चनजंघाको पूर्वी र पश्चिमी गरी दुवै बेस क्याम्प घुम्न २४ दिन लाग्थ्यो भने अहिले १६ दिनमै भ्रमण गर्न सकिन्छ । पूर्वमा सिरिजंघा गाउँपालिकाको याम्फुदिन र उत्तरमा फक्ताङलुङ गाउँपालिकाको लेलेपसम्म यातायात चल्ने भएपछि पैदल मार्ग छोटिएको हो ।

प्रकाशित : वैशाख ४, २०७८ १३:१६
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

बैंकमा लगानीयोग्य रकम थुप्रिएर साढे ६ खर्ब नाघेको छ। बैंकहरूले ब्याजदर घटाउँदासमेत कर्जा प्रवाह बढ्न नसक्नुको कारण के हो?