१८.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १२४

फोम्जोले जित्यो आकर्षक चौंरी उपाधि

ताप्लेजुङ — पाँचथरको फालेलुङ गाउँपालिका ४ फालोटमा नयाँ वर्षको अवसरमा आयोजित चौंरी महोत्सवमा फोम्जो नामको चौंरीले आकर्षक चौंरीको उपाधि जितेको छ । याङवरक गाउँपालिका १ का किपा भोटियाले पालेको फोम्जो महोत्सवमा सहभागी तीन सयभन्दा बढी चौंरीलाई पछि पार्दै सर्वाधिक आकर्षकमा आएको हो । 

फोम्जोले जित्यो आकर्षक चौंरी उपाधि

उपाधिसँगै फोम्जोका धनी भोटियाले ५ हजार रुपैयाँ पुरस्कार पनि जिते । १२ वर्ष उमेरको यो फोम्जो प्रजातिकै चौंरी हो । भोटियाले फोम्जोलाई जातअनुसारकै नाम राखिदिएको बताए । फोम्जोलाई मान्छे बोकेर महोत्सवस्थलमा डुलाउने काममा पनि प्रयोग गरिएको थियो ।

याङवरक गाउँपालिकाकै श्रीभक्त राईले पालेको चौरी उपविजेता बन्दै ३ हजार रुपैयाँ जित्यो । यो याक प्रजातिको चौंरी भाले प्रजातिमा पर्छ । राजकुमार राईले पालेको चौंरी तेस्रो बन्यो र आफ्नो साहुलाई २ हजार रुपैयाँ जितायो । महोत्सवमा भेटनरी डाक्टर, पशु स्वास्थ्यकर्मीलगायतको टोलीलाई निर्णायक बनाइएको थियो ।

निर्णायकमण्डलमा रहेका फुछिरिङ शेर्पाले जात, उमेर, निरोगी, सहनशील, गुणलगायत विधा हेरेको बताए । महोत्सवमा प्रतिस्पर्धाका लागि सहभागी चौंरीलाई गोठ धनीले तीन महिनादेखि सदाएको चन्द्रलाल नेपाल बताउँछन् । ‘सामान्यतया मान्छे बोक्ने प्रयोजनमा घोडाको मात्रै प्रयोग हुन्छ,’ नेपालले भने, ‘हामिले चौंरीलाई सदाएर मान्छे बोक्ने बनायौं ।’

चौंरीले यसै वर्षदेखि मान्छे बोक्न थालेको उनले सुनाए । उक्त महोत्सव भने चार वर्षदेखि हुँदै आएको छ । यसअघि चौंरीलाई भारी बोक्ने प्रयोजनमा मात्रै उपयोग गरिन्थ्यो । महोत्सवमा जानेले नजिकबाट तस्बिर खिचाउन र चौंरीमाथि बसेर डुल्न पाउन भनेर सदाइएको नेपाल बताउँछन् ।

३ हजार ६ सय मिटर उचाइको चौरमा आयोजना गरिएको महोत्सवमा ताप्लेजुङ र पाँचथरका गरी ११ वटा चौंरी गोठ सहभागी थिए । तीन सीमा भनेर चिनिने यो ठाउँ सिक्किम भारतमा विलय हुनुअघि नेपाल, सिक्किम र भारतको बंगालको सीमावर्ती क्षेत्र पनि हो ।

प्रकाशित : वैशाख ३, २०७८ १२:१४
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

त्रिभुवन विश्वविद्यालयमा बारम्बार परीक्षार्थीको उत्तरपुस्तिका हराउने गरेको छ। यसको समाधान कसरी हुन्छ?