३०.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १५८

लुगा बाँड्दै विद्यार्थी

असहायलाई सहयोग गर्ने उद्देश्यले अभियान चलाइएको हो

सुनसरी — रात्रिकालीन ड्युटी सकिएपछि बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानका केही जुनियर चिकित्सक र चिकित्साशास्त्र अध्ययरत विद्यार्थीहरूको एउटा समूह अचेल मोटरसाइकल चढेर धरानको चोकचोकमा निस्कन्छन् ।

उक्त समूह चोकमा घुम्नका लागि नभई अर्धनग्न अवस्थामा नै सडकमा रात गुजार्न बाध्यहरूलाई लुगा वितरणका लागि निस्केका हुन् ।

इन्टर्न डाक्टर शुभमकुमार अग्रवाल, डा प्रभात कापडी, एमबीबीएस अध्ययनरत विद्यार्थीहरू अभिजितकुमार सिंह, मधुसूदन माधव, देवांसुराज श्रीवास्तव, वितस्ता मुस्कान र दीपा चौधरी झोलामा कपडा बोकेर गरिव र असहाय खोज्दै सडकमा निस्कने गरेका छन् ।

लायन्स क्लब अफ धरान घोपा युनाइटेडका अध्यक्षसमेत रहेका डा. अग्रवालले भने, ‘जाडोयाममा न्यानो कपडा वितरण गर्नु आम चलन छ । तर गर्मीयाममा शरीर ढाक्ने लुगा कुनै पनि संघसंस्था वा दाताहरूले हतपत वितरण गर्दैनन् । जाडोमा किन्न नसक्नेले गर्मीमा पनि त किन्न सक्दैनन् । त्यसैले बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानस्थित लायन्स क्लब अफ धरान घोपा युनाइटेडमा आबद्ध साथीहरूले गर्मीयाममा नग्न अवस्थामै बस्ने सडक मानवहरूलाई लक्षित गरेर तीन दिनदेखि ‘बन्धनः द क्लोथ बैंक’ सेवा सुरु गरेको हो ।’

लायन्स क्लबले धरानको भानु चोक, बगरकोट, वरगाछी र भ्युपोइन्ट आसपासमा नग्न अवस्थामा बस्नेहरूमध्ये ६७ जनालाई लुगा वितरण गरेको डा. अग्रवालले बताए । उनका अनुसार दिउँसो बिरामी हेर्न र आफैं पढ्नुपर्ने भएकाले सडक मानव खोज्दै लुगा वितरण गर्न नभ्याउने भएकाले रातको समय सडक मानव र उनीहरूका परिवारका अरू सदस्यहरूलाई लुगा वितरण गर्ने गरिएको हो । उनले भने, ‘बीपी प्रतिष्ठानमा चिकित्साशास्त्र अध्ययनरत विद्यार्थीहरूले नयाँ वर्ष मनाउन जोगाड गरेको रकम क्लोथ बैंकमा प्रदान गरिएको हो भने कतिपय लुगा नयाँ नै किनेर वितरण गरेको हो ।’

दिनभरि मागेर जीविका चलाउनेहरूले लुगा किनेर लगाउन नसक्दा सडक मानवहरू अस्तव्यस्त अवस्थामा बस्ने गरेको जानकारी पाएपछि एक सातासम्म लुगा संकलन, धुलाइ र प्रशोधन गर्ने र प्याकेजिङ गरेको डा. अग्रवालले बताए । क्लबका सचिव अभिजितकुमार सिंहले मागेर जीविका चलाउने असहाय दुःखीहरूलाई सहयोग गर्ने उद्देश्यले क्लबले क्लोथ बैंक सेवा सुरु गरेको बताए । ‘क्लोथ बैंक’ को सेवा अभियानलाई निरन्तरता दिने कार्यक्रमका संयोजक लायन मधुसूदन माधवले बताए । उनले बीपी प्रतिष्ठानमा रात्रिकालीन ड्युटी सकेपछि राति ११ बजेदेखि ३ बजे बिहानसम्म मोटरसाइकलमा धरानका विभिन्न सार्वजनिक ठाउँमा सुत्ने गरेका विपन्नलाई भेटेर लुगा वितरण गर्ने गरेको बताए ।

लायन्स क्लब अफ धरान घोपा युनाइटेडले स्थापना कालदेखि ‘आरोग्य : मुभ फर हेल्थ’ मार्फत दुर्गम ठाउँमा र विपन्नका लागि निःशुल्क स्वास्थ जाँच शिविरहरू सञ्चालन गर्दै आएको छ ।

टोल विकास संस्थासँग समन्वय गरी स्थानीय गरिबहरूलाई ‘अन्नपूर्ण : ह्यापी बेल्ली, ह्यापी फेसेस’ कार्यक्रम मार्फत खाद्यान्न बाँड्ने, ‘दीर्घजीवी ः लिब्स लाइफ, गिब्स लाइफ’ मार्फत जुनसुकै बेला ‘ब्लड अन कल’ रक्तदान गर्ने, ‘नवजीवन : होलिस्टिक रेज्युभिनेसन इन द हिलिङ स्पेस’ कार्यक्रममार्फत विपन्नको सम्पूर्ण उपचार गर्ने, ‘निकेतन : वेयर ड्रिम्स कम होम’ मार्फत विपन्न र अपांगका लागि घर निर्माण गरिदिने, ‘निर्मल : आवर सिटी, क्लिन सिटी’ मार्फत सरसफाइ अभियान चलाउँदै आएका छन् ।

प्रकाशित : वैशाख ३, २०७८ १२:२०
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

राजनीतिक दलमा आबद्ध शिक्षकहरूलाई पदबाट हटाउने शिक्षा मन्त्रालयको निर्णय कस्तो लाग्यो ?