१८.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १६६

संक्रमणको जोखिमले सिरुवा पर्व प्रभावित

अर्जुन राजवंशी

बिर्तामोड — राजवंशी जातिको ठूलो बसोबास रहेको कनकाई नगरपालिका–९ घैलाडुब्बामा प्रत्येक नयाँ वर्षका दिन सिरुवा पर्व धुमधामसाथ मनाइँदै आएको थियो । तर कोरोना संक्रमणको त्रासदीका कारण यहाँ पछिल्ला दुई नयाँ वर्ष सिरुवाको रौनकताले छोपेन । संक्रमण जोखिमकै कारण घैलाडुब्बावासीमा समेत पर्व आयोजनाका लागि उत्साह, उमंग छैन । 

संक्रमणको जोखिमले सिरुवा पर्व प्रभावित

संक्रमणको जोखिम बढ्दै गएपछि झापाका राजवंशी जातिले यस वर्ष पनि सिरुवा पर्व हर्षोल्लाससाथ मनाउन पाएनन् । नयाँ वर्षको शुभारम्भसँगै वैशाख १, २ र ३ गतेसम्म सिरुवा पर्व मनाउने गरिन्छ ।

सिरुवा राजवंशी जातिको प्रमुख चाड हो । जातीय पहिचान झल्किने सांस्कृतिक कार्यक्रमसहित सिरुवा मनाउन नपाउँदा पर्व नै खल्लो भएको कोचिला गाभुर फ्रन्टका केन्द्रीय अध्यक्ष अभय राजवंशीले बताए । ‘घैलाडुब्बामा सिरुवा पर्व सबैले सम्झिनलायक हुन्थ्यो । तर, कोरोनाले दुई वर्षयता सुनसान बनाएको छ’ उनले भने ।

राजवंशी जातिले वैशाख १ गते एकआपसमा पानी छ्यापाछ्याप गरी ‘पानी सिरुवा’ मनाउने गर्छन् । आफन्तजनमा वर्षभरि शीतलता प्राप्त होस्, क्रोध नष्ट भएर जाओस् भन्ने कामना गर्दै पानी सिरुवा खेल्ने चलन रहेको लक्ष्मीपुरका राजन राजवंशीले बताए ।

२ गते हिलो छ्यापाछ्याप गरी ‘काद सिरुवा’ खेलिन्छ । माटोसँगको आत्मीयता कायम राख्न काद सिरुवा खेल्ने चलन छ । ३ गते ‘रङ सिरुवा’ खेलिन्छ । उक्त दिन नयाँ वर्ष थप रंगीन बनोस् भन्ने शुभकामना आदानप्रदान गर्ने चलन रहेको राजवंशीले बताए ।

सिरुवा पर्व टाढा–टाढाका आफन्त, इष्टमित्र तथा साथीभाइबीच भेटघाट गरी उल्लाषमय रूपमा मनाउने पर्व भएको चारआलीका प्रमोद राजवंशीले बताए । ‘सिरुवा पर्वको सांस्कृतिक महत्त्व कोरोनाकाल सुरु भएपछिको दुई वर्षमा संकटमा परेको छ,’ उनले भने, ‘नयाँ वर्षको सुरुवाती तीन दिन विभिन्न स्थानमा हुने सिरुवा सांस्कृतिक कार्यक्रमहरूले पर्वको महत्त्वलाई नयाँ पुस्ता र गैरराजवंशीमाझ पुर्‍याउने गरेको थियो ।’

अघिल्लो वर्ष लकडाउनले सिरुवा पर्व प्रभावित बनेको थियो । यस वर्ष पनि कोरोना संक्रमणको जोखिम बढेको भन्दै प्रशासनले भीडभाड हुने कार्यक्रम आयोजना नगर्न सन्देश जारी गरेकाले सिरुवाको रौनकता नै हराएको राजवंशी समाज विकास समिति केन्द्रीय समितिका कार्यवाहक अध्यक्ष मोहन राजवंशीले बताए ।

‘यो पर्वको विशेषता नै खुला स्थानमा भव्य सांस्कृतिक कार्यक्रम आयोजना गरेर मनाउने हो । त्यही गर्न नपाउँदा पर्व आयो कि गयो थाहा नै नहुने रहेछ’ अध्यक्ष राजवंशीले भने ।

प्रकाशित : वैशाख २, २०७८ ०८:१३
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

त्रिभुवन विश्वविद्यालयमा बारम्बार परीक्षार्थीको उत्तरपुस्तिका हराउने गरेको छ। यसको समाधान कसरी हुन्छ?