१८.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: ६०७

धरानमा पानीको हाहाकार

सुनसरी — नेपाल खानेपानी संस्थानलाई केही समयअघि धरान खानेपानी व्यवस्थापन बोर्डमा गाभियो । यसो गरेर खानेपानी वितरण चुस्त बनाउने भनिएको थियो । तर त्यसो हुन भने सकेको छैन । वितरण प्रणालीमा देखिएको समस्या पहिचान गर्न नसक्दा धरान उपमहानगरमा पानीको हाहाकार भएको छ ।

धरानमा पानीको हाहाकार

उपभोक्ताले बोर्ड र पुरानो संस्थान एकै ठाउँ हुँदा पनि किन खानेपानी आपूर्ति गर्न नसकेको भनेर प्रश्न गर्न थालेपछि बोर्डले समस्याको पहिचान गरेर सहज रूपमा पानी वितरण गर्न अझै ६ महिना लाग्ने बताएको छ ।

एसियाली विकास बैंकको ऋण तथा अनुदानमा सञ्चालित २२ मिलियन अमेरिकी डलरको आयोजना अन्तिम रूप दिनुपूर्व ‘टेस्टिङ एन्ड कमिसनिङ रिपोर्ट’ पर्खिनुपर्ने बोर्डले जनाएको छ । खानेपानी आयोजनाका परामर्शदाता बिल्डिङ डिजाइन अथोरिटी (बीडीए) कम्पनीका निर्देशक अनिल नेपालले आयोजनाका पाँच

ट्यांकीमध्ये धरान ११ स्थित सुम्निमा सब–सिस्टमको ट्यांकीको परीक्षण गर्न १५ लाख लिटर पानी आवश्यकता पर्ने बताए । उनले पर्याप्त पानी भएको बेलामा परीक्षण गर्नुपर्ने भएकाले अझै ६ महिना पर्खिनुपर्ने बताए ।

साबिक धरानका १९ वटा वडाका २८ हजार धारा उपभोग गर्ने उपभोक्ताले दैनिक २ करोड लिटर खानेपानीको माग गर्दै आएका छन् । नेपालले भूमिगत पानी उत्पादन पर्याप्त भए पनि ट्यांकीमा झारेपछि वितरणमा समस्या आएको बताए । नौ वर्षअघि गरिएको आयोजनाको डिजाइनअनुसार संस्थान र आयोजनाको सतह र भूमिगत गरी १ करोड ९७ लाख लिटर खानेपानी उत्पादन हुनुपर्ने हो । तर पानीको अभाव भएपछि उपभोक्ताले आयोजनाप्रति नै शंका गरेपछि बोर्डले समस्या पहिचानका लागि काम थालेको बोर्डका अध्यक्षसमेत रहेका उपमहानगरका प्रमुख तिलक राईले बताए ।

राईले भने, ‘हाललाई पालो पालो प्रणाली अपनाउने नीति लिइएको छ । खानेपानी वितरणमा सुधार आइरहेको छ । तर तत्काल समस्या समाधान गर्न भूमिगत पानी तान्ने मेसिनका लागि अटोमेटिक भोल्टेज कन्ट्रोलर पाँचवटा, बुस्टर पम्प दुइटा, सवमरसिवल पम्प चारवटा, कन्ट्रोल प्यानल दुइटा र सर्दुखर्दुको पाइपलाइन विस्तार कार्य गर्नुपर्ने भएको छ ।’ उनले पानीको हाहाकार भएपछि धरानका विभिन्न वडामा एउटा घरमा पानी आउने त्यसैको छिमेकीको धारामा भने पानी नआउने समस्या पनि धेरै देखेको बताए ।

पाइपलाइन विस्तार वा धारा जडानमा केही समस्या भएकाले पनि पानीको हाहाकार भएको उनको बुझाइ छ । सतहको पानी र भूमिगत पानी संकलन गरेर ट्यांकीमा झारिसकेपछि वितरण प्रणालीमा समस्या देखिएकाले समाधानका लागि बोर्डले दैनिक निरीक्षण अवलोकन गरिरहेको नगर प्रमुख राईले बताए ।

सन् २०३१ डिसेम्बर ३१ सम्म नगरवासीलाई पानी खुवाउनका लागि आयोजनाको विस्तृत आयोजना प्रतिवेदन (डीपीआर) अनुसार पाइपलाइन विस्तार भएको थियो । डीपीआरअनुसार बोर्डले चारकोसे जंगलमा ७ वटा डिप ट्युबवेल (भूमिगत इनार) तयार गरी पानी उत्पादन गर्दै आएको जनाएको छ । बोर्डका कार्यकारी निर्देशक राजु पोखरेलले वितरण प्रणालीमा आएको समस्या बुझेर समाधान गर्ने प्रयास भइरहेको बताए ।

प्रकाशित : वैशाख २, २०७८ ०८:०९
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

राजनीतिक दलमा आबद्ध शिक्षकहरूलाई पदबाट हटाउने शिक्षा मन्त्रालयको निर्णय कस्तो लाग्यो ?