१९.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १७०

‘जीवनभर पानीकै दुःख’

पानी अभावकै कारण सदरमुकाम गढीबाट सारिएको थियो । घरनजिकै धारा छन् तर पर्याप्त पानी आउँदैन ।
डिल्लीराम खतिवडा

उदयपुर — ‘धनसम्पत्तिको कहिल्यै दुःख भएन । तर पानीको दुःखले जीवनभर छोडेन’ स्वर्गीय गन्जबहादुर सुनुवारले उदयपुरगढी पुग्ने प्रायःलाई आफ्नो जीवनकालमा यही गुनासो बारम्बार दोहोर्‍याउँथे । सुनुवारको पानी पीडा सुन्दा जोकोही पनि भावुक हुन्थे । तर पनि बाँचुन्जेल उनको पीडामा कहिल्यै कसैले मलपट्टी लगाइदिएनन् ।

‘जीवनभर पानीकै दुःख’

पानीको दुःख भए पनि जन्मे हुर्केको ठाउँ छोडेर अन्यत्र बसाइ सर्न उनको मनले मानेन । ४ वर्षपहिले सुनुवारको ९५ वर्षको उमेरमा मृत्यु भएको हो । उदयपुरगढीमा अझै पनि पानीको समस्या भने जस्ताको तस्तै छ ।

पानी अभावकै कारणले गर्दा २०२७ सालमा सदरमुकामलाई गढीबाट गाईघाट सारिएको थियो । ‘गढीलाई पानीको दुःखले कहिल्यै छोडेन’ स्थानीय केशव पाण्डेले भने, ‘पानीकै कारण सदरमुकामसमेत सारियो ।’ सदरमुकाम सरे पनि स्थानीयले आफ्नो थातथलोको मायाले सर्न सकेनन् । बरु पानीको सास्ती खेपेरै बसिरहेको पाण्डेले सुनाए । ‘उबेला उदयपुरगढीमा बस्ने बडाहाकिमले पनि पानीको दुःख भोगेको थिए’ ७८ वर्षीया मधुमाया पाण्डेले भनिन्, ‘सरकारी अड्डाका कर्मचारीले किनेर पानी खान्थे ।’ तत्कालीन बडाहाकिमलाई मधुमायाले नै पानी बेच्ने गरेको सुनाइन् ।

‘एक गाग्रो पानीको लागि दिन बित्थ्यो’ पाण्डेले पुराना दिन सम्झँदै भनिन्, ‘तत्कालीन बडाहाकिमलाई मैले नै पानी बेच्ने गर्थे ।’ उनले सुरुआतमा ५ पैसा प्रतिटिन बेचेको पानी १ रुपैयाँ पुग्दासम्म बेचिरहिन् । पछि अड्डा सरेपछि पाण्डेको पानी बेच्ने काम पनि रोकियो । उच्च भागमा रहेको गढी प्राकृतिक सौन्दर्यका हिसाबले रमणीय छ । यहाँबाट विभिन्न हिम शृंखला आँखै अगाडि देख्न सकिन्छ । तराई फाँटसमेत देख्न सकिने उदयपुर गढी समुद्री सतहदेखि १३ सय ९० मिटर उचाइमा रहेको छ । सदरमुकाम सरेपछि भने यस क्षेत्र उपेक्षित बन्दै आएको छ ।

गढी क्षेत्र करिब पौने दुई मिटर उचाइको पर्खालले घेरिएको छ । उत्तर–दक्षिण लमतन्न फैलिएको यस क्षेत्रभित्र कलात्मक रूपमा कुँदिएका मूर्ति र वास्तुकला देख्न सकिन्छ । नजिकै रहेको पाचावती भगवती मन्दिर, गणेश मूर्ति, सयौं वर्षअगाडिको वरगाछी यहाँको पर्यटकीय आकर्षणमा पर्छन् । घुम्न आउनेका लागि गढी क्षेत्र जति रमणीय र धार्मिक छ, स्थानीयका लागी भने खानेपानी समस्याकै कारण दिनचर्या कठिन बन्दै आइरहेको छ । ‘घरनजिकै धारा त छ नि, तर पानी नै नआउने धारा मात्र भएर के गर्नु ? पानी लिन ३ घण्टा हिँड्नुपर्छ’ स्थानीय रमिता धमलाले भनिन्, ‘जोगीमारा र सरस्वती खोलाको पानी खानुपर्छ । त्यहाँ पुगेर पानी ल्याउँदै आधा दिन बित्छ ।’ सुक्खा मौसममा तिनै पानीका मुहान पनि सुक्दै गएको उनले बताइन् ।

पानी नभएकै कारणले गर्दा घरमा लागेको आगो निभाउन नपाउँदा कुमार धमालको २०३० सालमा घर तथा सबै धनमाल जलेर नष्ट भएको थियो । पुरानो घटना अझै भुल्न नसकेका धमालले भने, ‘मैले २५ वर्ष लगाएर कमाएको सम्पत्ति आगोले एकै छाक पार्दा म बहुलाहाजस्तै भएँ ।’ त्यसपछि जोडेको सम्पत्तिले खान, लाउन दुःख नभए पनि पानीको दुःखले भने कहिल्यै नछाडेको उनले सुनाए ।

उदयपुरगढीमा अहिले पनि पानीको समस्या ज्युँका त्युँ छ । मन फुकाएर पानी खर्च गर्न पाइँदैन । बाहिरबाट घुम्न गएका सर्वसाधरणले स्थानीयले अड्कलेर दिएको पानीमा चित्त बुझाउनुपर्ने हुन्छ । ‘उदयपुरगढीमा सञ्चालित खानेपानीका कुनै पनि योजना सफल हुन सकेनन्’ स्थानीय समाजसेवी पुष्प गुरागाईंले भने, ‘मानिसहरूले खानेपानीको समस्या झेलेरै भए पनि पुस्तौं बिताए ।’ पानी मात्रै पर्याप्त मात्रामा व्यवस्था हुने हो भने गढीवासीको जीवन सहज ढंगले अघि बढ्ने उनले बताए ।

उदयपुरगढीमा दिगो खानेपानीको व्यवस्था गर्न सर्भेक्षणको काम भने भइरहेको छ । दीर्घकालीन स्रोत फेला पर्नेबित्तिकै सरकारी तथा गैरसरकारी दातृ संस्थासँग समन्वय गरेर योजना अघि बढाउने लक्ष्य रहेको स्थानीयले बताउँदै आएका छन् । पानी अभावकै कारण एउटा ऐतिहासिक ठाउँ ओझेलमा पर्दासमेत प्रदेश र संघीय सरकार भने मौन छन् । स्थानीय सरकारले केही प्रयास भने नगरेको होइन । तर स्थानीय सरकारको एक्लो प्रयासले गढीमा पर्याप्त पानी उपलब्ध गराउन कठिने हुने उदयपुरगढी गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत माधव सुवेदीले बताए ।

२ सय वर्षभन्दा पुरानो सांस्कृतिक, ऐतिहासिक, पुरातात्त्विक र धार्मिक पर्यटकीय यस क्षेत्र संरक्षण र संवर्द्धनको पर्खाइमा छ । तर त्यसतर्फ विशेषगरी संघीय सरकारको खासै ध्यान जान सकेको छैन । २०२७ सालसम्म झन्डै ४२ वर्ष जिल्लाकै प्रमुख स्थान रहेको भए पनि उदयपुरगढीले खानेपानीको समस्या भने अहिलेसम्म टार्न सकेको छैन । १९७२ सालमा भाषा पाठशाला, २००९ मा मिडिल स्कुल हुँदै २०६४ सालमा १० जोड २ सञ्चालित १ सय ६ वर्ष पुरानो शैक्षिक थलो पनि पानीकै कारण प्रभावित छ ।

प्रकाशित : वैशाख २, २०७८ ०८:०३
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

त्रिभुवन विश्वविद्यालयमा बारम्बार परीक्षार्थीको उत्तरपुस्तिका हराउने गरेको छ। यसको समाधान कसरी हुन्छ?