कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement
२२.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १५५

नहरमा डुबेर दुई जनाको मृत्यु

सुनसरी — इटहरी उपमहानगरपालिका–१४ स्थित साबिक एकम्बा भएर बग्ने सुनसरी मोरङ सिँचाइ आयोजनाको मुख्य नहरमा डुबेर दुई जनाको मृत्यु भएको छ । 

मृत्यु हुनेमा इटहरी–७ बस्ने लालु चौधरीका १७ वर्षीय छोरा साहिल र इटहरी–५ बस्ने भगेन्द्र भुर्तेलका १४ वर्षीय छोरा आयुष रहेको पकलीस्थित इलाका प्रहरी कार्यालयका प्रहरी निरीक्षक कैलाश अधिकारीले बताए । उनीहरू दुवैको मंगलबार बेलुकी ११ बजेतिर मृत्यु भएको हो ।

प्रहरी निरीक्षक अधिकारीले स्थानीयलाई उद्धृत गर्दै जनाएअनुसार मंगलबार साँझ ६ बजेतिर गर्मी भएको भन्दै १० जनाको समूह नहरमा नुहाउन पसेको थियो । नहर धेरै गहिरो भएकाले डुबेर आत्तिएका चौधरीलाई उद्धार गर्न गएका भुर्तेल पनि डुबेपछि निस्कन नसकेको सँगै गएका अन्य व्यक्तिले बताएका छन् ।

दुवै जनालाई डुबेको केही समयपछि उपचारका लागि बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानमा पुर्‍याइएको थियो । फोक्सोमा पानीको मात्रा अत्यधिक भएकाले राति ११ बजेतिर उनीहरूको मृत्यु भएको चिकित्सकलाई उद्धृत गर्दै प्रहरीले जनाएको छ । घटनाबारे थप अनुसन्धान भइरहेको प्रहरी निरीक्षक अधिकारीले बताए । दुवै जनाको शव पोस्टमार्टमका लागि प्रतिष्ठानको मर्चरी हाउसमा राखिएको छ ।

प्रकाशित : वैशाख १, २०७८ ११:४५
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

बैंकमा लगानीयोग्य रकम थुप्रिएर साढे ६ खर्ब नाघेको छ। बैंकहरूले ब्याजदर घटाउँदासमेत कर्जा प्रवाह बढ्न नसक्नुको कारण के हो?