लकडाउनले बनेका चित्रकार

जितेन्द्र साह

विराटनगर — १४ वर्षको उमेरदेखि चित्रकलाका सौखिन विनय बान्तवा राई ५२ वर्षमा आइपुग्दा यसैलाई पेसा बनाउन सफल भएका छन् ।

लकडाउनले बनेका चित्रकार

झन्डै १३ वर्षसम्म खाडी मुलुकमा सुरक्षा गार्डको काम गरेका उनी अन्ततः स्वदेश फर्केर चित्रकलालाई नै व्यवसाय बनाउने निधोमा पुगेका थिए । ‘फुर्सदको समयमा विदेश छँदा पनि चित्र नै कोर्थें,’ राई सम्झन्छन्, ‘स्वदेश फर्किएर पनि बाँच्ने मेलोका लागि पशुपालन गर्नेबारे सोचें तर मन चित्रमै रम्ने हुनाले अन्ततः यसैलाई नै पेसा बनाउने निधो गरेको हुँ ।’

गत वर्ष स्वदेश फर्केका राईले फागुनदेखि विराटनगरको देवकोटा चोकमा ग्यालरी खोलेका छन् । अचेल उनी ग्यालरीमा चित्र बनाइरहेका भेटिन्छन् । ‘वाल पेन्टिङ, ब्यानर, बोर्ड र नम्बर प्लेट लेख्नेहरू प्रशस्तै भए पनि विराटनगरमा व्यावसायिक रूपमा चित्र बनाउन सुरु गरेको सायदै अरू होलान्,’ उनी भन्छन्, ‘स्थानीयलाई चित्रकला, चित्र र चित्रकारको महत्त्व बुझाउन पनि मैले ग्यालरी खोलेको हुँ ।’

स्वअध्ययनबाटै चित्र बनाउन थालेका राईले निरन्तरको लामो अभ्यासबाट नै आफू पोख्त बनेको सुनाउँछन् । ग्यालरी खोल्नुअघि पनि उनी घरमै चित्र बनाएर बेच्ने गर्थे ।

सानोमा राईले कोरेका चित्र देखेर बोर्ड, ब्यानर र नम्बर प्लेट लेख्नेहरूले काम गर्नलाई बोलाउँथे तर उनलाई अरूको अगाडि चित्र बनाउन डर लाग्थ्यो रे । भन्छन्, ‘आत्मविश्वास नै आउँथेन । तर निरन्तर बनाउँदै गएपछि हात बस्यो, बानी बस्यो । अहिले मनको डर भाग्यो, धेरै जनाको बीचमा बनाउन पनि संकोच लाग्दैन ।’

लामो लकडाउनले आफूलाई पूर्णकालीन चित्रकार बनाएको उनी बताउँछन् । भन्छन्, ‘बाहिर निस्कने अवस्था नभएकाले चित्र कोर्दै घरमै दिन बित्थ्यो ।’ लकडाउनकै अवधिमा बनाएका २ सय ५० चित्रले यतिबेला उनको ग्यालरी भरिभराउ छ ।

लकडाउन अगाडि भारतको पश्चिम बंगलाको सिलिगुडीबाट ल्याएको ५ प्याकेट रङ निकै काम लागेको राई सुनाउँछन् । ‘तेल चित्रमा प्रयोग हुने रङ विराटनगरमा पाइन्न, पारि भारत नै जानुपर्छ,’ उनी भन्छन् ।

आफू मरेर गए पनि ‘विनय आर्ट’ हस्ताक्षरित चित्रमार्फत घर र कार्यालयको भित्तामा आफू सदैव जीवित रहने उनी बताउँछन् । ‘नाति/पनाति र त्यसपछिको पुस्ताले समेत मलाई सम्झेलान्,’ उनी भन्छन्, ‘हाम्रा हजुरबुबा वा जिजुबुबा चित्रकार थिए भनेर कुरा गरे भने उपलब्धि हो ।’

राईको ग्यालरीमा न्यूनतम ५ सयदेखि ५ हजार रुपैयाँसम्म मूल्यका चित्र बिक्रीमा राखिएका छन् । ‘कलाप्रेमीको मागअनुरूप बनाइरहेको छु,’ राईले यतिबेला एक लाख रुपैयाँसम्म पर्ने चित्रकला पनि बनाइरहेको बताए ।

राईले ग्यालरी सञ्चालन गरेको एक महिनाभित्रै ९ चित्र बेचिसकेका छन् । जनमानसलाई चित्रकलाबारे बुझाएपछि अर्डर पनि बढ्न थालेको राईको अनुभव रहेछ । प्रायः नयाँ घर बनाइरहेकाहरू सजावटका लागि चित्रकला खोज्दै ग्यालरी आउन थालेको उनले बताए । राईका अनुसार काठमाडौं, भक्तपुर वा पोखरामा जस्तो यहाँ चित्रकलाको प्रचार हुन सकेको छैन । विदेशमा जस्तो कलाका पारखी पनि छैनन् । तर पनि पेसा बनाउन जमर्को गरिरहेको उनले बताए ।

प्रकाशित : वैशाख १, २०७८ ०९:०८
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

अध्यादेशबाट कानुन ल्याएर भए पनि सहकारीपीडितको रकम फिर्ता गर्ने गृहमन्त्री रवि लामिछानेको भनाइप्रति तपाईंको के टिप्पणी छ ?