२०.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १९५

रिक्सा खाली छ ?

साइकल चलाउनेले कुदाउन सक्ने रिक्सा सजिलो साधन त थियो नै, निम्नवर्गीय परिवारका बेरोजगारका लागि आय आर्जनको सजिलो माध्यम थियो
जितेन्द्र साह

विराटनगर — पैदल हिँडेकासँग ढेस्सिन आउँदै सोधिन्थ्यो, ‘ए हजुर कहाँ जाने ? रिक्सा खाली छ बस्नुस् ।’ त्यसरी रिक्सावाल पछि लागेनन् भने बटुवा चोक पुग्थे र सोध्थे, ‘ए रिक्सा खाली हो ? जाने हो ?’

रिक्सा खाली छ ?

पाँच वर्षअगाडिसम्म विराटनगरका मुख्य सडक र चोकमा लहरै पाइडल रिक्सा हुन्थ्यो । छोटो दूरी यात्रा गर्न सुलभ सवारी । हिजोआज न रिक्साका ताँती देखिन्छन्, न त फाट्टफुट्ट देखिनेले यात्रु कुर्छन् । बाटामा भेटिने रिक्सा मालसमान वा कवाडी ढुवानी गरिरहेका हुन्छन् ।

‘साँच्चि कहाँ गए होलान् त्यत्रा रिक्सावालाहरू ?’ तीनपैनी चोककी गृहिणी तारा दाहालले जिज्ञासा राख्छिन् । कहिलेकाहीं चढ्न मन लागेको बेला पाइडल रिक्सा खोज्दा नभेटिने गरेको उनी बताउँछिन् । ‘अचेल सडकमा सिटी सफारी (इलेक्ट्रिक रिक्सा) वा टेम्पो मात्र हुन्छन्,’ उनले भनिन् । प्रतिस्पर्धामा टिक्न नसकेपछि अधिकांश रिक्साचालकहरूले सिटी र टेम्पो किनेका छन् । किन्न नसक्नेले दैनिक किस्ता वा भाडामा ती सवारी चलाइरहेका छन् ।

‘धेरै वर्षसम्म पाइडल रिक्सा चलाएँ, सहरभर सिटी सफारी कुदन थालेपछि आम्दानी कम भयो,’ भट्टामोडका ६५ वर्षीय जोगिया कामत भन्छन्, ‘रिक्सा घरमा थन्क्याएँ, सफारी किनेँ ।’ पाइडल रिक्साबाटै दिनको १ हजार ५ सय रुपैयाँसम्म आम्दानी गरेका उनलाई सफारीको आगमनसँगै बाँच्न गाह्रो पर्‍यो । ‘रिक्साभन्दा छिटो गुड्ने सफारी आएपछि दिनहुँ औसत एक/डेढ सय रुपैयाँ कमाउनसमेत धौ धौ पर्‍यो,’ कामत भन्छन्, ‘बेच्न खोज्दा पनि किन्ने कोही भएन, अहिले घरमा कवाडीमा रिक्सा थन्किएको छ ।’ उनीजस्तै थुप्रैले घर वा सार्वजनिक जग्गामा कवाडीसरह रिक्सा राखिरहेका छन् । उनको अनुसार धेरैजसो पूर्वरिक्सा चालकहरूले जग्गा वा सुनचाँदी बेचेर, ऋण लिएर एवं संघसंस्थाको सहयोगमा सफारी वा टेम्पो किनेर चलाइरहेका छन् । केहीले ठेला किनेको र भरियाको काम गरिरहेकाले सडकबाट पाइडल रिक्सा लगभग हराएको कामत बताउँछन् ।

अहिले यात्रु एवं सामानसमेत ओसारपसार गरेर उनले सफारीबाट दिनहुँ औसत १ हजार ४ सय रुपैयाँ कमाउँछन् र खुसी छन् । ‘तीन वर्षमै लागत उठाएपछि पुराना सिटी बेचेर नयाँ किनेको छु,’ उनी भन्छन्, ‘पाइडल रिक्साको तुलनामा तागत पनि कम लाग्छ, मिहिनेत गर्न सकेमा आम्दनी पनि सोचेजस्तै छ ।’

विराटनगरको हिमालय रोडमा यात्रु पर्खंदै टेम्पो । तस्बिर : कान्तिपुर

छिटो एवं सहज ढंगले सामान ओसार्ने प्रयोजनका लागि अन्य व्यवसायकाले पनि विद्युतीय रिक्सा किनेका छन् । ‘हार्डवेयर पसल छ, सामान ल्याउने र पुर्‍याउने काम परिरहने हुनाले किनेको हुँ,’ व्यवसायी ४७ वर्षीय विरोज आलम भन्छन्, ‘यसबाट समयको बचत हुन्छ ।’ स्थानीय सरोचिया बस्तीमा पसल भएका उनले १७ महिनाअगाडि सफारी किनेका हुन् । ‘फुर्सदमा र सफारी खाली भएको बेला यात्रु पनि बोक्छु,’ उनी भन्छन् ।

रिक्सा चालकहरूका अनुसार २०३६ सालसम्म विराटनगरमा निकै कम पाइडिल रिक्सा थिए । बर्सेनि थपिए । धेरैवटा रिक्सा बनाउन लगाएर भाडामा चलाउन दिने चलन बढ्यो । यो यस्तो रोजगारीको काम थियो जसले दिनभर कुदाएर रिक्साधनीलाई भाडा बुझाएर चालकले आरामले परिवार पाल्न सक्थ्यो । रिक्साले नगरपालिकाबाट दर्ता नम्बर लिनुपर्थ्यो । धनीहरू मालवाहक गाडी खरिद गरे जसरी रिक्साको फलामे फ्रेम खरिद गर्थे । अनि चाहिने सामान छुट्टाछुट्टै किनेर आफ्नै आँगनमा मिस्त्री बोलाई रिक्सा बनाउन लगाउँथे । बजारमा साइकल पसलहरूले बेच्ने तयारी रिक्सामा कमसल सामान प्रयोग गरिन्छ भन्दै शंका गर्थे । साइकल चलाउनेले कुदाउन सक्ने रिक्सा सजिलो साधन मात्रै थिएन, निम्नवर्गीय परिवारका लागि रोजगारीको सजिलो माध्यम थियो । नगर क्षेत्रमा दूरीअनुसारको भाडादर पनि नगरपालिकाले तोकिदिने गरेको थियो । रिक्सा थपिँदै २०७० सम्म संख्या ५ हजारवटा भन्दा बढी भइसकेको पुग्यो । इन्धन नचाहिने यो सजिलो सवारी भईकन यसको समस्यो मान्छेकै बलले चलाउनुपर्ने थियो । दुब्लापातला ज्यान भएकाहरूले नियमित चलाए कमजोरी हुन्थ्यो । २०७१ मा विद्युतीय रिक्साको आगमन भयो । तत्कालीन विराटनगर उपमहानगरपालिकाले रिक्साको विकल्पमा परीक्षणका लागि ३ सय विद्युतीय रिक्सालाई मात्र सञ्चालनको अनुमति दियो ।

चाँडो गन्तव्यमा पुग्ने चाहना पूरा गर्ने हुनाले यात्रुले पनि विद्युतीय रिक्सा मन पराउन थाले । बिस्तारै बिस्तारै पाइडल रिक्सा हराउँदै गयो । ‘पाइडल रिक्सामा कोही चढ्दैन, यात्रु भेटाउनै कठिन छ, नचलेपछि रिक्सामा कवाडी संकलन गरेर बेच्छु,’ स्थानीय सरस्वती टोलका रिक्सा चालक ४५ वर्षीय गोपाल मण्डल भन्छन् । उनी अचेल बाटा छेउछाउ फालिएको प्लास्टिकका बोतल बटुली रिक्सामा राखेर कवाडी खानामा बेच्छन् ।

यात्रुको रोजाइका कारणले पाइडल रिक्सा बेचेर वा थन्क्याएर इ–रिक्सा किन्ने क्रमले तीव्रता लियो । २०७२ मै यसको संख्या ३ सयबाट हजारमा पुगेको चालकहरू बताउँछन् । अहिले सहरको कुना कुनामा यिनै इ–रिक्सा मात्र भेटिन्छ । विराटनगर महानगरपालिकाको नगर प्रहरी शाखाका निरीक्षक राजन पौडेलले पाइडल रिक्सा दुर्लभ हुँदै गएको बताउँछन् । उनको अनुसार सहरभर फाटफुट पाइडल रिक्सा मात्र सञ्चालनमा छ । ‘अब मुस्किलले २ सय पाइडल रिक्सा बाँकी होला,’ उनी भन्छन् । रिक्सालाई विस्थापित गर्दै झन्डै ५ हजार सफारी र २ हजार टेम्पो महानगरमा गुडिरहेको पौडेल बताउँछन् ।

उनको अनुसार वैकल्पिक रोजगार एवं राम्रो आम्दानीको माध्यम बनेको सफारी एवं टेम्पोको व्यवस्थापनमा भने चुनौती छ । सफारी/टेम्पो चालकहरूले बिसौनी (स्ट्यान्ड) को समेत माग गरिरहेका छन् । ‘जताततै कुदने हुनाले स्ट्यान्ड बनाउन सम्भव छैन,’ पौडेल भन्छन्, ‘पिक एन्ड ड्रपकै नीतिअनुसार सञ्चालन गर्न भनेका छौं ।’ भीड बढाउँदै ट्राफिक जाम हुने गरी सफारी र टेम्पोको संख्या बढेपछि यातायात व्यवस्था कार्यालय र महानगरपालिकाले एक वर्षदेखि नयाँ सवारीको दर्ता बन्द गरेको छ ।

प्रकाशित : चैत्र ३१, २०७७ १२:४७
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

राजनीतिक दलमा आबद्ध शिक्षकहरूलाई पदबाट हटाउने शिक्षा मन्त्रालयको निर्णय कस्तो लाग्यो ?