प्रदेश १ सभा बैठकमा सोमबार पनि विपक्षी दलको अवरोध

वैशाख ५ गतेसम्मका लागि प्रदेशसभा बैठक स्थगित
देवनारायण साह

विराटनगर — विपक्षी दलहरूको अवरोधपछि प्रदेश १ सभा बैठक सोमबार पनि स्थगित भएको छ । चालु आर्थिक वर्षमा स्वीकृत भएका विकास निर्माणलगायतका योजनाहरूको स्रोतको सुनिश्चितता नहुन्जेल बैठक सुरु गर्न नदिने विपक्षी दलले अडान दोहोऱ्याएका छन् ।

प्रदेश १ सभा बैठकमा सोमबार पनि विपक्षी दलको अवरोध

बैठकको सुरुमै जनता समाजवादी पार्टीका संसदीय दलका नेता जयराम यादवले आफूहरुको माग पूरा नभएसम्म बैठक चल्न नदिने बताएका थिए । विपक्षी दलले लगातार बैठक अवरुद्ध गरेपछि उपसभामुख सरस्वती पोखरेलले प्रदेशसभा बैठक वैशाख ५ गते १ बजेसम्मका लागि स्थगित गरिएको जानकारी दिएकी थिइन् । यसअघि बिहीबार र शुक्रबार बसेको बैठक पनि विपक्षीले अवरोध गरेका थिए ।

प्रमुख प्रतिपक्षी कांग्रेस, विपक्षी दल जनता समाजवादी पार्टी, राप्रपा र संघीय लोकतान्त्रिक राष्ट्रिय मञ्चका दलले चालु आर्थिक वर्षको स्वीकृत योजनाहरुको स्रोत सुनिश्चितताको मुख्यमन्त्री शेरधन राईले ग्यारेन्टी गर्नुपर्ने अडान राख्दै आएका छन् ।

सोमबार प्रदेशसभा बैठकअघि मुख्यमन्त्री शेरधन राईले सर्वदलीय बैठक बोलाएका थिए । उक्त बैठकमा विपक्षी दलले आफ्ना माग दोहोर्‍याएका थिए । तर मुख्यमन्त्री राईले उक्त मागहरू तत्काल पूरा गर्न नसकिने बताएपछि बैठक बिनानिष्कर्ष टुंगिएको थियो ।

यसअघि आइतबार सभामुख प्रदीपकुमार भण्डारीले बोलाएको सर्वदलीय बैठक बिनानिष्कर्ष टुंगिएको थियो । सभामुख भण्डारीले मुख्यमन्त्री शेरधन राईसँग समय मागेर सर्वदलीय बैठक बोलाएका थिए । तर विशेष कारण देखाई मुख्यमन्त्री राईले बैठकमा उपस्थित भएनन् । बैठकमा प्रदेश सरकारका प्रवक्ता आन्तरिक मामिला तथा कानुनमन्त्री हिक्मत कार्की उपस्थित भएका थिए ।

प्रकाशित : चैत्र ३०, २०७७ १४:२८
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

भ्रष्टाचारी ठहर कांग्रेस सांसद टेकबहादुर गुरूङको निलम्बन फुकुवा गर्ने सर्वोच्च अदालतको आदेश र आदेश कार्यान्वयनका लागि अदालत प्रशासनले देखाएको सक्रियताबारे के भन्नुहुन्छ ?