३०.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १५८

मुख्यमन्त्री राईले बोलाए सर्वदलीय बैठक

देवनारायण साह

विराटनगर — प्रदेश १ का मुख्यमन्त्री शेरधन राईले सर्वदलीय बैठक बोलाएका छन् । सोमबार दिउँसो १ बजेका लागि बोलाइएको प्रदेशसभा बैठक सत्तारुढ दल माओवादी केन्द्रका साथै विपक्षी दलहरुले अवरुद्ध गर्ने भएपछि मुख्यमन्त्री राईले सर्वदलीय बैठक बोलाएका हुन् ।

मुख्यमन्त्री राईले बोलाए सर्वदलीय बैठक

सभामुख प्रदीपकुमार भण्डारीले आइतबार बोलाएको सर्वदलीय बैठकमा मुख्यमन्त्री राई अनुपस्थित भएका थिए । उनी अनुपस्थित भएकाले बैठक बिनानिष्कर्ष टुंगिएको थियो ।

विपक्षी दलले प्रदेशसभामा चालु आर्थिक वर्षको स्वीकृत योजनाहरुको स्रोत सुनिश्चितताको माग गरेका छन् । तर सरकारले चालु आर्थिक वर्षमा ल्याएको ४० अर्ब ८९ करोड ९९ लाख ४७ हजार रुपैयाँको बजेटमध्ये स्रोत अभावमा आधा मात्रै कार्यान्वयन गर्न मातहतका सबै मन्त्रायलय तथा निकायहरुलाई पत्राचार गरेर बजेट कटौती गरेको छ ।

मुख्यमन्त्री राईले बिहान ११ बजे मुख्यमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयमा सर्वदलीय बैठक बोलाएको प्रमुख प्रतिपक्षी दल कांग्रेसका प्रमुख सचेतक केदार कार्कीले बताए ।

प्रदेशसभाको बिहीबार र शुक्रबार बसेको बैठक माओवादी केन्द्रलगायतका विपक्षी दलहरुले अवरुद्ध गरेपछि सभामुख भण्डारीले आइतबार बैठक सुरु गर्न सर्वदलीय बैठक बोलाएका थिए । उक्त बैठकमा मुख्यमन्त्री राई आफू अनुपस्थित भएर आन्तरिक मामिला तथा कानुन मन्त्री हिक्मत कार्कीलाई पठाएका थिए ।

मुख्यमन्त्री राई सर्वदलीय बैठकमा उपस्थित हुने समय दिएर पनि अनुपस्थित भएकाले सभामुख भण्डारीले बैठक सुरु गर्नका लागि अब आफूले सर्वदलीय बैठक नबोलाउने बताएका थिए । सभामुख भण्डारीले बैठक नबोलाउने भनेकाले मुख्यमन्त्री राईले सर्वदलीय बैठक बोलाएको मुख्यमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयले जनाएको छ ।


प्रकाशित : चैत्र ३०, २०७७ ०९:४८
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

राजनीतिक दलमा आबद्ध शिक्षकहरूलाई पदबाट हटाउने शिक्षा मन्त्रालयको निर्णय कस्तो लाग्यो ?