कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement
२३.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १३४

‘चोर बाटो’ बाट सीमा वारपार

मोरङ — विराटनगरस्थित रानी नाकामा सुरक्षाकर्मीले कडाइ गरेपछि ‘चोर बाटो’बाट सीमा वारपार गर्नेको संख्या बढेको छ । विराटनगर महानगरपालिका–१६ स्थित विराटनगर जुट मिलको दक्षिण गेट, दरैयातर्फ जाने सडक र दरैयास्थित चोर बाटामा भारत आउनेजानेको घुइँचो लाग्ने गरेको हो ।

‘चोर बाटो’ बाट सीमा वारपार

दैनिक उल्लेख्य व्यक्ति भारतीय बजार जोगबनीमा किनमेल गर्न आउजाउ गर्दा कोरोना संक्रमणको जोखिम बढेको स्थानीयले गुनासो गरेका छन् ।

विराटनगर–१५ स्थित इस्लामपुर र मटेरुवालगायत मोरङका प्रत्येक छोटी भन्सार नाका पनि आवतजावतका लागि सर्वसाधारणले प्रयोग गर्दै आएका छन् । भारतमा तीव्र गतिमा संक्रमण फैलिरहेको अवस्थामा सीमाको अनियन्त्रित आवागमनलाई रोक्न स्थानीयले माग गरेका छन् तर प्रदेश सरकारले सीमामा आवागमन नरोक्ने र लकडाउन पनि नगर्ने जनाएको छ ।

प्रदेश १ सरकारका प्रवक्ता आन्तरिक मामिला तथा कानुनमन्त्री हिक्मत कार्कीले तत्काल सीमामा आवतजावत बन्द नहुने जनाए । उनले सोमबारदेखि घरबाहिर निस्किनेलाई मास्क लगाउन अनिवार्य गरेको बताए । ‘कतिपय संस्थाको पूर्वनिर्धारित कार्यक्रम भएकाले आवश्यक सावधानी अपनाएर सञ्चालन गर्न आग्रह गरेका छौं,’ उनले भने ।

सरकारले सावधानी अपनाउन आग्रह गरे पनि मास्कसमेत नलगाई सीमा क्षेत्रमा चोर बाटोबाट भारत जानेआउने गरेको पाइन्छ । हेल्थ डेस्क भएको रानी नाकाबाट दैनिक २५/३० जना मात्रै आउने गरेको सुरक्षाकर्मीको तथ्यांक छ तर ज्वरो नाप्ने र स्वास्थ्य हिस्ट्री लिएर संक्रमण भए नभएको पत्ता लगाउन कठिन रहेको स्वास्थ्यकर्मीको भनाइ थियो ।

प्रशासनले नेपाल प्रवेश गर्नेमध्ये शंकास्पदलाई एन्टिजेन परीक्षण गर्न निर्देशन दिए पनि हालसम्म एन्टिजेन उपलब्ध नभएको स्वास्थ्यकर्मीको गुनासो छ । प्रदेशमा पुस पहिलो सातादेखि शून्यमा झरेको संक्रमितको संख्या भारतमा संक्रमण फैलिएपछि फेरि बढ्न थालेको छ । आइतबारसम्ममा यहाँ सक्रिय संक्रमितको संख्या १ सय २१ पुगेको छ ।

प्रकाशित : चैत्र ३०, २०७७ १३:२५
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

बैंकमा लगानीयोग्य रकम थुप्रिएर साढे ६ खर्ब नाघेको छ। बैंकहरूले ब्याजदर घटाउँदासमेत कर्जा प्रवाह बढ्न नसक्नुको कारण के हो?