कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement
२३.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १३४

प्रदेश १ सभाको सोमबारको बैठक अवरुद्ध गर्ने विपक्षी दलको तयारी

देवनारायण साह

मोरङ — प्रदेश १ सभाको बैठक अवरुद्ध गर्दै आएका सत्तारुढ दल माओवादी केन्द्रका साथै विपक्षी दलहरुले सोमबार बस्ने बैठक पनि अवरुद्ध गर्ने भएको छ । सोमबार १ बजेका लागि बैठक बोलाइएको छ ।

प्रदेश १ सभाको सोमबारको बैठक अवरुद्ध गर्ने विपक्षी दलको तयारी

यसअघि बिहीबार र शुक्रबार बसेको बैठक पनि विपक्षीले अवरोध गरेका थिए । चालु आर्थिक वर्षमा स्वीकृति विकास निर्माणलगायतका योजनाहरुको स्रोतको सुनिश्चितता नहुन्जेल बैठक सुचारु हुन नदिने उनीहरुको अडान छ ।

बैठक सुचारु गर्नका लागि सभामुख प्रदीपकुमार भण्डारीले आइतबार बोलाएको सर्वदलीय बैठक बिनानिष्कर्ष टुंगिएको छ । सभामुख भण्डारीले मुख्यमन्त्री शेरधन राईसँग समय मागेर सर्वदलीय बैठक बोलाएका थिए । तर विशेष कारण देखाई मुख्यमन्त्री राईले बैठकमा उपस्थित भएनन् । बैठकमा प्रदेश सरकारका प्रवक्ता आन्तरिक मामिला तथा कानुनमन्त्री हिक्मत कार्की उपस्थित भएका थिए ।

सत्तारुढ दल माओवादी केन्द्र, प्रमुख प्रतिपक्षी कांग्रेस, विपक्षी दल जनता समाजवादी पार्टी, राप्रपा र संघीय लोकतान्त्रिक राष्ट्रिय मञ्चका दलका नेता र प्रमुख सचेतक उपस्थित थिए । उनीहरुले चालु आर्थिक वर्षको स्वीकृत योजनाहरुको स्रोत सुनिश्चितताको मुख्यमन्त्रीले राईले ग्यारेन्टी गर्नुपर्ने अडान लिएको प्रमुख प्रतिपक्षी दल कांग्रेसका नेता राजीव कोइरालाले बताए ।

‘स्रोतको सुनिश्चितता मुख्यमन्त्रीले गर्नु पर्ने उहाँसँग मात्रै वार्ता गर्ने विपक्षी दलको सबैले अडान लिएपछि बैठक बिनानिष्कर्ष टुंगियो,’ उनले भने, ‘मन्त्री कार्कीसँग योजनाहरुको स्रोत सुनिश्चित गर्ने अधिकारसमेत नभएकाले उहाँसँग वार्ता गरेर समस्या समाधान हुने देखिएन ।’ मन्त्री कार्कीले बैठकमा बैठक सुचारु गरेपछि मुख्यमन्त्री राईले सदनमै सबै प्रश्नको जवाफ दिने बैठकमा बताएका थिए । उनले माओवादी केन्द्रलगायतका विपक्षी दललाई सदन सुचारु गर्न आग्रह गरेका थिए ।

मन्त्री कार्कीले सोमबारको बैठक बस्न अहिले समय रहेकाले सोमबार बिहान पनि मुख्यमन्त्री राईले सर्वदलीय बैठक बोलाएर समस्या समाधान गर्न सक्ने र बैठक सुचारु हुने विश्वास व्यक्त गरे ।

सत्तारुढ दल माओवादी केन्द्रका संसदीय दलका नेता इन्द्रबहादुर आङ्बोले सबै दललाई सभामुखले मुख्यमन्त्री राईको उपस्थितिमा बैठक हुने भनेर जानकारी दिएको तर मन्त्री कार्की उपस्थित भएकाले बिनानिष्कर्ष बैठक सकिएको बताए । ‘संसद् छल्दै आउनु भएका मुख्यमन्त्रीज्यूले सर्वदलीय बैठकमा उपस्थित नभएर सभामुखज्यूलाई समेत अपमानित गर्नुभयो,’ उनले भने, ‘सभामुखज्यूले बैठक सुचारु गर्नका लागि अब आफूले अर्को सर्वदलीय बैठक बोलाउँदिन र अब सरकारले नै बैठक बोलाएर समस्या समाधान गर्नुपर्ने भन्नुभयो ।’

आङ्बोले सर्वदलीय बैठकमा मुख्यमन्त्री राई उपस्थित नभएर प्रदेशको राजनीति झन् पेचिलो बनेको बताए । प्रदेशसभामा विपक्षी दलहरुले उठाएको आवाजको संबोधन गर्न प्रदेश सरकारसँग विकल्प नभएकाले हिउँदे अधिवेशन अन्त्य गर्ने तयारी गरिएको मुख्यमन्त्री तथा मन्त्रिपरिषद् कार्यालय स्रोतले जनाएको छ । विपक्षी दलले प्रदेशसभामा चालु आर्थिक वर्षको स्वीकृत योजनाहरुको स्रोत सुनिश्चितताको माग गरेको छ । तर सरकारले चालु आर्थिक वर्षमा ल्याएको ४० अर्ब ८९ करोड ९९ लाख ४७ हजारको बजेटमध्ये स्रोत अभावमा आधा मात्रै कार्यान्वयन गर्न मातहतका सबै मन्त्रायलय तथा निकायहरुलाई पत्राचार गरेर बजेट कटौती गरेको छ ।

चालु आर्थिक वर्षको बजेटै असन्तुलन रहेको छ । बजेटमा १७ अर्वको स्रोत सुनिश्चितता छैन । त्यसैले सरकारले विपक्षी दलको माग संबोधन गर्न कठिन रहेकाले अधिवेशन अन्त्यको तयारी गरेको मुख्यमन्त्री तथा मन्त्रिपरिषद् कार्यालय स्रोतको भनाइ छ ।

प्रदेशसभा बैठक अवरुद्ध भएकै अवस्थामा सरकारले हिउँदे अधिवेशन अन्त्य गरेको खण्डमा सत्तारुढ दल माओवादी केन्द्रलगायतका विपक्षी दलले विशेष अधिवेशनको माग गर्ने तयारीसमेत गरिसकेको छ ।

आङ्बोले सरकारले हिउँदे अधिवेशन अन्त्य गरेको अवस्थामा सबै विपक्षी दलको सांसदहरुले हस्ताक्षर गरेर विशेष अधिवेशन माग गर्ने तयारी गरेको बताए । उनले आफूहरुको माग संबोधनमा समस्या भए त्यसका लागि सहयोग गर्न पनि तयार रहेको तर मुख्यमन्त्री राईले संसद् र सभामुख दुबैलाई अपमानित गरेर एक्लै अघि बढेपछि समस्या झन् पेचिलो बन्दै गएको सुनाए ।

प्रकाशित : चैत्र २९, २०७७ १९:४०
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

बैंकमा लगानीयोग्य रकम थुप्रिएर साढे ६ खर्ब नाघेको छ। बैंकहरूले ब्याजदर घटाउँदासमेत कर्जा प्रवाह बढ्न नसक्नुको कारण के हो?