२४.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १६१

विराटनगर महानगरमा १४५ सुकुम्बासीका लागि घर बन्दै

जग्गाको मूल्य सुकुम्बासीहरूले तिर्ने र दुई कोठा भान्छा, शौचालयसहितको घर नि:शुल्क उपलब्ध गराउने योजना
देवनारायण साह

मोरङ — विराटनगर महानगरपालिकामा महानगर आवास परियोजनाअन्तर्गत १ सय ४५ घरधुरी सुकुम्बासीका लागि एकीकृत बस्ती निर्माण सुरु भएको छ । विराटनगर–१२ मल्हनमास्थित केसलिया खोलाको किनारमा बन्ने परियोजनाको बुधबार कांग्रेसका नेता शेखर कोइरालाले शिलान्यास गरेका छन् ।

विराटनगर महानगरमा १४५ सुकुम्बासीका लागि घर बन्दै

प्रदेश १ कांग्रेसका प्रमुख सचेतक केदार कार्की, महानगर, ह्याविट्याट फर नेपाल र सहारा नेपालको संयुक्त लगानीमा बस्ती निर्माण सुरु भएको हो । स्थानीय भैरव शर्माको ३ बिघा १६ कट्ठा ५ धुर जग्गा सुकुम्बासी परिवारका नाममा खरिद गरेर बस्ती निर्माण सुरु गरिएको प्रमुख सचेतक कार्कीले बताए । जग्गाको मूल्य सुकुम्बासीहरूले तिर्ने र दुई कोठा भान्छा, शौचालयसहितको घर नि:शुल्क उपलब्ध गराउने योजना रहेको उनले बताए ।

बस्तीका लागि जग्गा खरिद गर्न जीवन विकास समाज कटहरीले १४ दशमलव ७ प्रतिशत ब्याजमा ऋण उपलब्ध गराएको छ । समाजका उपकार्यकारी प्रमुख दामोदर रेग्मीले अढाई वर्षदेखि ५ वर्षभित्रमा सुकुम्बासी परिवारले ऋण चुक्ता गर्नुपर्ने बताए । ‘प्रतिपरिवार २ लाख ६० हजार रुपैयाँको दरले जग्गा र रजिस्ट्रेसन पास खर्चसमेत लगानी गरिएको छ,’ उनले भने, ‘सुकुम्बासी परिवारले ऋण चुक्ताका लागि मासिक ७ हजार रुपैयाँ तिर्नुपर्नेछ ।’ प्रतिपरिवार साढे ७ धुरको दरले जग्गा रजिस्ट्रेसन पास गरिएको छ । बाँकी जग्गामा सडक, उद्यान, विद्यालय र स्वास्थ्य केन्द्र निर्माण हुने सांसद कार्कीले बताए ।

सुकुम्बासी परिवारको घर निर्माणका लागि ह्याविट्याटले प्रतिपरिवार १ लाखको दरले र बाँकी रकम प्रमुख सचेतक कार्की र महानगरले उपलब्ध गराउने छन् । प्राविधिक सहयोग सहारा नेपालले गर्ने सम्झौता भएको छ । सहारा नेपालका क्षेत्रीय प्रमुख ओमप्रकाश साहले सुकुम्बासी परिवारका लागि करिब ४ लाखको दरले जस्ताको छाना, बाँसको टाटीमा दुवैपट्टिबाट तार जाली राखेर प्लास्टर गरिने बताए । उनले प्रत्येक परिवारका लागि दुई वटा कोठा, भान्छा र शौचालय निर्माण गरिने बताए ।

विराटनगर महानगर उपप्रमुख इन्दिरा कार्कीले आवास परियोजनाका लागि चालु आर्थिक वर्षमा १ करोड बजेट विनियोजन गरिएको र अपुग रकम आउँदो वर्षको बजेटमा व्यवस्था गरिने बताइन् ।‘घर निर्माणका लागि मात्रै ५ करोड ८० लाख खर्च हुन्छ,’ उनले भनिन्, ‘बस्तीसम्म र बस्तीभित्र सडक, खानेपानी, उद्यान, विद्यालय, स्वास्थ्य केन्द्र निर्माणका लागि पनि बजेट आवश्यक हुन्छ ।’

महानगर प्रमुख भीम पराजुलीले पहिलो चरणमा आउँदो डिसेम्बरसम्ममा घर निर्माण गरेर हस्तान्तरण गर्ने योजना रहेको बताए । प्रदेश १ का आन्तरिक मामिला तथा कानुनमन्त्री हिक्मत कार्कीले महानगर आवास योजनाका लागि प्रदेश सरकारले आउँदो आर्थिक वर्षमा बजेट व्यवस्था गर्ने प्रतिबद्धता जनाए ।

कांग्रेस नेता शेखर कोइराला मोरङको विराटनगर–१२ मा महानगर आवास योजनाको बुधबार शिलान्यास गर्दै । तस्बिर : देवनारायण/कान्तिपुर

प्रकाशित : चैत्र २६, २०७७ २०:१६
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

कक्षा १ मा भर्ना भएकामध्ये ५० प्रतिशत विद्यार्थी मात्र एसईई परीक्षामा सहभागी हुन्छन् । विद्यालय शिक्षा पुरा नहुँदै विद्यार्थी पलायन हुनेक्रम रोक्न के गर्नुपर्छ ?