विपक्षी दलद्वारा प्रदेशसभा बैठक अवरुद्ध



मोरङ — विपक्षी दलले बिहीबारको प्रदेशसभा बैठक अवरुद्ध गरेका छन् ।

प्रमुख प्रतिपक्षी दल कांग्रेस, विपक्षी दल माओवादी केन्द्र र जनता समाजवादी पार्टीले बैठक अवरुद्ध गरेका हुन् । शून्य समयमा प्रदेशसभा सदस्यहरुले बोल्नेक्रम समाप्त भएपछि सभामुख प्रदीपकुमार भण्डारीले आर्थिक मामिला तथा योजनामन्त्री टंक आङ्बोहाङलाई प्रदेशसभा सदस्य पदबाट हटाएको पत्र पढेर संसदलाई जानकारी गराएका थिए । उक्त पत्र पढेसँगै विपक्षी दलका प्रदेशसभा सदस्यहरुले उठेर बैठक अवरुद्ध गरेका थिए । बैठक अवरुद्ध गरेपछि सभामुख भण्डारीले एक जनालाई आफ्ना कुरा राख्नका लागि समय दिएका थिए ।
विपक्षी दलका तर्फबाट कांग्रेसका सचेतक सूयर्माराज राईले चालु आर्थिक वर्षमा स्वीकृत विकास निर्माणका योजनाहरुको स्रोत सूनिश्चितताका साथै सरकारले सदनमा उठेका प्रश्नहरुको जवाफ नदिएसम्म बैठक चल्न नदिने बताएका थिए । राईले सदनमा आफ्ना कुरा राखेपछि पुन: विपक्षी दलका प्रदेशसभा सदस्यहरुले उठेर बैठक अवरुद्ध गरेपछि सभामुख भण्डारीले पटक-पटक बस्न आग्रह गर्दा पनि नमानेपछि शुक्रबार दिउँसो १ बजेसम्मका लागि बैठक स्थगित गरेका छन् ।
प्रदेशसभा सदस्य उमिता विश्वकर्माले निर्वाचन क्षेत्र पूर्वाधार र विशेष निर्वाचन क्षेत्र विकास कार्यक्रमका लागि बजेट व्यवस्था गर्न माग गरिन् । सरकारले कार्यक्रमको बजेट कटौती गरेकाले प्रदेशसभा सदस्यहरु जनतामाझ आलोचित हुनु परेकाले तत्काल बजेटको सूनिश्चितता गर्न उनले माग गरिन् ।
उनले महिला सशक्तीकरण र दलितसम्बन्धी विधेयक ल्याउनसमेत सरकारको ध्यानाकर्षण गराइन् । प्रदेशसभा सदस्य नारायणबहादुर मगरले बजेट अभावमा निर्माण कम्पनीले प्रदेशभरि बहुवर्षीय सडकलगायतका योजनाहरुको काम अघि नबढाउँदा योजनाहरु अलपत्र परेको बताए । उनले तत्काल बजेटको सुनिश्चितता गरी निर्माण काम अघि बढाउन सरकारको ध्यानाकर्षण गराए । प्रदेशसभा सदस्य रामचन्द्र लिम्बूले सरकारले ८५ प्रतिशत प्रगति गरेको विवरण सदनमा जानकारी दिए पनि त्यसअनुसार काम नभएकाले बजेट खर्चबारे सदनलाई जानकारी गराउन ध्यानाकर्षण गराए ।
प्रकाशित : चैत्र २६, २०७७ १८:०५