नेपाल पत्रकार महासंघ झापाको अध्यक्षमा एकराज गिरी निर्वाचित- प्रदेश १ - कान्तिपुर समाचार
कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement

नेपाल पत्रकार महासंघ झापाको अध्यक्षमा एकराज गिरी निर्वाचित

कान्तिपुर संवाददाता

झापा — नेपाल पत्रकार महासंघको चुनावमा प्रधानमन्त्री केपी ओलीको गृहजिल्ला झापामा एमालेनिकट प्रेस चौतारीले हार बेहोरेको छ ।

महासंघ झापाको अध्यक्षमा एकराज गिरी विजयी भएका छन् भने अधिकांश पदमा उनकै प्यानल विजयी भएको छ । गिरीले प्रेस चौतारीका विशाल नेम्वाङ र प्रेस चौतारीबाटै बागी उम्मेदवारी दिएका तीर्थ सिग्देललाई हराएका हुन् ।

त्यस्तै उपाध्यक्षमा संयुक्त प्यानलका केशव भट्टराई निर्वाचित भए । उनले गोपाल झापाली र हिमाल खरेललाई पराजित गरेका हुन् । सचिवमा डिकेश लामा निर्वाचित भए । उनीसँग सुब्रत न्यौपाने र प्रेम आचार्य पराजित भए । सहसचिव खुल्लामा राजु पाठक निर्वाचित भए । उनले विनोद सापकोटालाई पराजित गरे । समावेशी सहसचिवमा अर्जुन राजवंशी निर्वाचित भएका छन् । त्यस्तै कोषाध्यक्षमा रन्जित प्रसाईले रमेश तिवारीलाई हराए ।

सदस्यहरुमा मनिषा चम्लागाई, विनोद पाण्डे, चिरन्जीवी घिमिरे, सुष्मा राजवंशी, होमप्रसाद अधिकारी, द्रोण अधिकारी र रन्जित परियार, राजन साम्पाङ, अच्युतराज सुवेदी, अनिल वाग्ले र सुनिरा मैनाली निर्वाचित भएका छन् ।

त्यस्तै केन्द्रीय परिषद् सदस्यका लागि ४ जनाबीच प्रतिस्पर्धा भएको थियो । चारमध्ये तीन जना निर्वाचित हुनुपर्नेमा कृष्ण हुमागाई, ज्ञानेन्द्र निरौला र गोपाल काफ्ले निर्वाचित भए भने प्रधानमन्त्री ओलीका पूर्व प्रेस संयोजक चेतन अधिकारी पराजित भएका छन् ।

झापा शाखामा २ सय ६३ मतदाता रहेकामा बुधबारको निर्वाचनमा २ सय ५६ मत खसेको थियो ।

प्रकाशित : चैत्र २६, २०७७ १०:१५
प्रतिक्रिया
पठाउनुहोस्

कोरोना भाइरस : न्युजिल्यान्डमा भारतबाट आउने यात्रुलाई प्रवेश रोक

एजेन्सी

वेलिङ्टन — न्युजिल्यान्डले भारतबाट आउने यात्रुको प्रवेशलाई अस्थायी रुपमा रोक लगाउने भएको छ । पछिल्लो समय भारतमा कोरोना संक्रमण तीव्र बन्दै गएपछि न्युजिल्यान्डले भारतबाट आउने यात्रुको प्रवेशमा रोक लगाउने भएको हो । 

बिहीबार न्युजिल्यान्डमा थप २३ जनामा कोरोना पुष्टि भएपछि न्युजिल्यनान्डले यो कदम चालेको हो । संक्रमण पुष्टि भएका २३ जनामध्ये १७ जना भारतबाट आएका व्यक्ति थिए । न्युजिल्यान्डकी प्रधानमन्त्री जसिन्डा आर्डनका अनुरा कोरोना भाइरसको रोकथाम र नियन्त्रणका लागि झन्डै २ हप्ता भारतबाट आउने यात्रुको प्रवेशमा रोक लगाइनेछ ।

समाचार संस्था रोयटर्सका अनुसार अप्रिल ११ तारिख दिउँसो ४ बजेदेखि अप्रिल २८ सम्म भारतबाट आउने यात्रुको प्रवेशमा रोक लगाइनेछ । यो अवधिमा भारतमा रहेका न्युजिल्यान्डका नागरिक पनि स्वदेश फर्कन पाउने छैनन् । न्युजिल्यान्डले आफ्नो सीमामा कोरोना भाइरस पूर्ण रुपमा नियन्त्रण गरेको दाबी गर्दै आएको छ । त्यस्तै ४० दिनदेखि न्युजिल्यान्डमा समुदायमा संक्रमण नदेखिएको पनि रोयटर्सले जनाएको छ । तर पछिल्लो समय मुलुकबाहिरबाटै संक्रमित भएर फर्किनेको संख्या बढेका बताइएको छ । भारतबाट आउनेहरुमध्ये अधिकांशमा संक्रमण पुष्टि भएको पनि समाचारमा जनाइएको छ ।

न्युजिल्यान्डले विश्वका अन्य मुलुकको तुलनामा कोरोना रोकथाम र नियन्त्रणमा प्रभावकारी कदम चालिरहेको छ । उसले परीक्षण, कन्ट्याक्ट ट्रेसिङ र उपचारमा विशेष ध्यान दिएको छ । न्युजिल्यान्डमा अहिलेसम्म २ हजार ५ सय ५५ जनामा कोरोना संक्रमण पुष्टि भएको छ भने २६ जनाको मृत्यु भएको छ ।

भारतमा पछिल्लो २४ घण्टामा १ लाख २६ हजारभन्दा बढीमा कोरोना संक्रमण पुष्टि भएको छ । त्यस्तै पछिल्लो २४ घण्टामा कोरोनाले ६ सय ८४ जनाको मृत्यु भएको छ । योसँगै भारतमा हालसम्म कोरोना संक्रमित हुनेको संख्या १ करोड २९ लाख नाघेको छ भने १ लाख ६६ हजारभन्दा बढीको मृत्यु भएको छ ।

प्रकाशित : चैत्र २६, २०७७ ०९:५४
पूरा पढ्नुहोस्
प्रतिक्रिया
पठाउनुहोस्
×