कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement

खोलाको बीच भागसम्म मात्र पुल

विराटनगर — झापाको गौरीगन्ज र मोरङको रतुवामाई–३ महादेवाको बीचमा तीन सय मिटर चौडाइको रतुवा खोला छ ।

दुई जिल्लालाई जोड्ने हुलाकी मार्गमा पर्ने यो खोलामा पाँच वर्षअघि साढे १० करोड ४१ लाख रुपैयाँ लागतमा पक्की पुल बनाइएको छ तर सर्वसाधारणले पुल उपयोग गर्न भने पाएका छैनन् ।

खोलाको बीच भागसम्म मात्र पुल निर्माण भएको छ । त्यसदेखि करिब सय मिटरपूर्व गौरीगन्ज जोड्नका लागि थप पुल बन्न सकेको छैन । त्यसैले बर्खायाममा पुलमुनि बनाइएको अस्थायी बाँसको पुलमा शुल्क तिरेर सर्वसाधारण आवतजावत गर्छन् ।

हिउँदमा पनि पुल मुनिबाटै वारपार गर्नुपर्ने बाध्यता छ । मोरङको महादेवा हुँदै खोलाको झन्डै बीच भागमा पर्ने २ सय ५ मिटरसम्म मात्र सुनसरी–मोरङ पुल आयोजनाले पुल बनाएको हो ।

रतुवामाई–३ का वडाध्यक्ष वुलानदेव सिंहले गत बर्खायाममा ७० हजार रुपैयाँ खर्च गरेर निर्माण गरेको बाँसको पुलमा शुल्क तिरेर वारपार गरेको बताए । उनका अनुसार सर्वसाधारणले बाँसको पुलबाट मोटरसाइकल तार्दा ३०, साइकल २० र व्यक्ति तर्दा १० रुपैयाँ शुल्क तिरेका थिए ।

आयोजनाले कालिका ओभरसिज प्रालिमार्फत २०५ मिटर लम्बाइ र साढे सात मिटर चौडाइ भएको पुल २०६५ मा सुरु गरेर २०७२ जेठमा बनाएको थियो । पुलको पूर्वपट्टि सय मिटर क्षेत्रमा तटबन्ध गरेर सडकसम्म नजोड्दा पुल प्रयोग हुन नसकेको हो ।

प्रकाशित : चैत्र २५, २०७७ ०८:५९
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

भ्रष्टाचारी ठहर कांग्रेस सांसद टेकबहादुर गुरूङको निलम्बन फुकुवा गर्ने सर्वोच्च अदालतको आदेश र आदेश कार्यान्वयनका लागि अदालत प्रशासनले देखाएको सक्रियताबारे के भन्नुहुन्छ ?