कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement
२८.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १९६

धनकुटाको सदरमुकाम नजिकै भीषण डढेलो

रमेशचन्द्र अधिकारी

धनकुटा — धनकुटा सदरमुकामसँगै रहेको चुलिवन क्षेत्रमा शनिबार दिनभर डढेलो लागेको छ। जंगलको आगो बस्तीमा पसेपछि दुई घरमा क्षति पुगेको छ ।

धनकुटाको सदरमुकाम नजिकै भीषण डढेलो

स्थानीय धनबहादुर पौडेल र इन्द्रबहादुर रसाइलीको दुई घर/गोठ जलेको प्रहरीले जनाएको छ । मानवीय क्षति नभएपनि पौडेलको घरमा आगो सल्किँदा लाखौंको धनमाल क्षति र दुई वटा खसी मरेका छन् । जोखिमयुक्त घरबस्ती जोगाउन धनकुटाका दुईसहित धरान, विराटनगर, इटहरी, दमक, वसन्तपुरसहित ७ वटा दमकल प्रयोग गरिएको प्रहरी नायब उपरीक्षक सन्तुलाल प्रसाद जैशवालले जानकारी दिए । टेकुनाला क्षेत्रबाट सल्किएको आगो ७ नम्बर वडाको मगर बस्ती, कालिकास्थान र लाफा चोक आसपासका बस्ती जोखिममा रहेको प्रहरीले जनाएको छ । घटनास्थलमा नेपाल सेना, सशस्त्र प्रहरी, तथा नेपाल प्रहरीका सयौं जनशक्ति परिचालन गरिएको छ ।

सल्लाको रुख रहेको वनमा डढेलो लाग्दा त्यसले भीषण रुप लिएको स्थानीयले जनाए । बस्ती भन्दा झन्डै पाँच सय मिटर नजिक लागेको डढेलो क्षणभर मै बस्तीमा प्रवेश गरेको खटिएका सुरक्षाकर्मीले बताए । क्षतिको विवरण प्राप्त हुन बाँकी रहेको प्रशासनले जनाएको छ।

धनकुटा-६ को पात्ले पाङ्सिन सामुदायिक वनमा पनि शनिबार साँझ बस्ती नजिकै जंगलबाट डढेलो सल्किएको स्थानीयले बताए । यस्तै, धनकुटा ८ स्थित सिकावा र हिर्चने सामुदायिक वनमा भीषण डढेलो लाग्दा दुवै वनमा ९० प्रतिशत बढी क्षति पुगेको छ । धनकुटामा पछिल्लो दुई साताको अवधिमा ३५ बढी सामुदायिक वनमा डढेलोले क्षति भएको सामुदायिक वन उपभोक्ता महासंघका अध्यक्ष नीलबहादुर थापाले जानकारी दिए ।

भिरालो भागमा रहेको जंगलको डढेलोमा हावाको वेगसहित आगोको लप्का बस्तीमा सल्किएको धनकुटा-७ का वडाध्यक्ष जंगबहादुर राईले बताए । हावाको वेग नघटेपछि साँझपखसम्म आगो नियन्त्रण बाहिर गएको थियो ।

चुलिवन छेउमा रहेको निजामती आवासीय विद्यालय समेत डढेलोको जोखिममा रहेको छ । विद्यालय क्षेत्रमा धनकुटा नगरपालिकाको दमकलसहित सुरक्षाकर्मी तैनाथी अवस्थामा राखिएको प्रजिअ बासुदेव दाहालले जानकारी दिए ।

प्रकाशित : चैत्र २१, २०७७ २०:२७
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

सुदूरपश्चिममा नेकपा एकीकृत समाजवादी (एस) संघीय सत्ता गठबन्धनभन्दा फरक स्थानमा उभिनुको संकेत के हो ?