कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement
२१.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १५३

आगलागी पीडित बारीमा रात बिताउन बाध्य

चन्द्र कार्की

तेह्रथुम — साताअघि आगलागीमा घरबास गुमाएका फेदाप गाउँपालिका १ सिम्ले बयरबुङका ७ परिवारको बिचल्ली भएको छ । घरगोठ जलेपछि यी ७ घरका ३५ जना बढी सदस्य पाखोबारीमा रात बिताउन बाध्य छन् । पर्याप्त राहत नपाउँदा बिहान बेलुकको छाक टार्नसमेत समस्या भएको पीडितले गुनानो गरेका छन् । 

आगलागी पीडित बारीमा रात बिताउन बाध्य

पीडितहरु अहिले गाउँपालिका र रेडक्रसले दिएको त्रिपाल टाँगेर बारीमा रात कटाइरहेका छन् । सबै सम्पत्ति खरानी भएपछि बारीको पाटामा बास भएको पीडित ५८ वर्षीय पूर्णबहादुर थापाले बताए । उनले भनेजस्तो सहयोग र राहत नजुट्दा बस्ने र खाने टुंगो नभएको दुखेसो पोखे ।

खानका लागि केही राहत जुटे पनि बासका लागि घर बनाउन कतैबाट सहयोग नजुटेको अर्का पीडित छविलाल थापाले बताए । ‘केही दिन पुग्ने खानेकुरा र ओड्ने, ओछ्याउने जुटेको छ’, पीडित शुक्रवहादुर माझीले भने ‘बास बस्ने घर बनाउने तर्फ कतैबाट पनि सहयोग जुटेको छैन ।’सहयोगीहरुले पनि खाद्यान्न र लत्ता कपडामात्र लिएर आउने गरेको उनले सुनाए ।

पीडित बीरबहादुर कार्कीले घर बनाउने कार्यमा सहयोग गर्न पीडितले सबैसँग आह्वान गरेका छन् । स्थानीयस्तरमा घर बनाउन चाहिने काठसमेत नभएको उनीहरुको भनाइ छ ।

आगलागीमा परी पूर्णबहादुर थापा, पदमबहादुर थापा, नरमाया भण्डारी, छविलाल थापा, तारावीर थापा, शुक्रबहादुर माझी र वीरबहादुर कार्कीसहित २१ जनाको घर जल्दा २ करोड रुपैयाँ बराबरको क्षति भएको गाउँपालिका उपाध्यक्ष गितादेवी थापाले जानकारी दिइन् । उनले पीडितको घर बनाउने गाउँपालिकाले सहयोग गर्ने आश्‍वासन दिइन् ।

गाउँको पुछारमा रहेको जंगलबाट सल्किएको आगो बस्तीमा पस्दा गाउँनै जलेको हो । जलेका २१ घर मध्ये ७ घरमा मानिस रहेको र बाँकी घरका गाउँले बसाइँ सरेर गएकाले क्षति कम भएको पीडितको भनाइ छ । आगलागीमा परी स्थानीय ७४ वर्षीया वृद्धा नरमाया भण्डारी हराइरहेकी छिन् । उनी आगो लागेको घरबाट भाग्न नसक्दा सोही आगोमा परी जलेको हुन सक्ने प्रहरीको अनुमान छ ।


प्रकाशित : चैत्र २१, २०७७ १५:५९
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

बैंकमा लगानीयोग्य रकम थुप्रिएर साढे ६ खर्ब नाघेको छ। बैंकहरूले ब्याजदर घटाउँदासमेत कर्जा प्रवाह बढ्न नसक्नुको कारण के हो?