१७.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १५८

सोमबारलाई डाकिएको प्रदेश १ को प्रदेशसभा बैठक स्थगित

इकान्तिपुर डेस्क

काठमाडौँ — सोमबारका लागि बोलाइएको प्रदेश १ को प्रदेशसभा बैठक स्थगित भएको छ । प्रदेशसभा सचिवालयले आइतबार सूचना जारी गर्दै अनिश्चित कालका लागि बैठक स्थगित गरिएको जनाएको हो । यसअघि सभामुख प्रदीपकुमार भण्डारीले हिउँदे अधिवेशनको चौथो बैठक सोमबार दिउँसो साढे १२ बजे बोलाएका थिए ।

सोमबारलाई डाकिएको प्रदेश १ को प्रदेशसभा बैठक स्थगित

प्रदेशसभाको फागुन ९ गतेको बैठकमा सरकार पक्षको अनुपस्थितिमा मुख्यमन्त्री शेरधन राईविरुद्ध अविश्वास प्रस्ताव पेस गरिएको थियो । सभामुख भण्डारीले मुख्यमन्त्री राईकै सहमतिमा चैत २ गते दिउँसो १ बजेका लागि बैठक बोलाएका थिए । तर, विशेष कारण देखाउँदै उनले अर्को सूचना नभएसम्मका लागि बैठक स्थगित गरेका हुन् ।

एमालेका मुख्य सचेतक बुद्धिकुमार राजभण्डारीले मुख्यमन्त्री राईविरुद्धको अविश्वास प्रस्ताव फिर्ता लिनुपर्ने या सभामुख भण्डारीले खारेज गर्नुपर्ने बताउँदै आएका छन् ।


प्रदेशसभामा पेस भएको अविश्वास प्रस्ताव प्रस्तावकले फिर्ता गर्न चाहे सहमतिमा मिल्ने तर सभामुखले खारेज गर्न नमिल्ने कानुनी व्यवस्था छ । प्रस्तावकले फिर्ता नलिए प्रक्रियागत रूपमै अविश्वास प्रस्ताव टुंग्याउनु पर्ने प्रदेशसभा सचिवालयले जनाएको छ । प्रक्रियामा लगेर अविश्वास प्रस्ताव असफल बनाउँदा एक वर्षसम्म मुख्यमन्त्री राईविरुद्ध अर्को अविश्वास प्रस्ताव ल्याउन नमिल्ने संवैधानिक व्यवस्था छ ।

तत्कालीन नेकपा दाहाल–नेपाल समूहका ३७ जना प्रदेशसभा सदस्यले अविश्वासको प्रस्तावमा हस्ताक्षर गरेकामा ५ जनाले लिखित रूपमै हस्ताक्षर फिर्ताको घोषणा गरिसकेका छन् । ९१ सदस्यीय प्रदेशसभामा तत्कालीन नेकपाका ६७ मध्ये एमालेका ५१ जना छन् । माओवादी केन्द्रका १६ जनामध्ये एक जना उपसभामुख छन् र संसदीय दलका नेता टंक आङ्बुहाङ एमालेका केन्द्रीय सदस्य भएका छन् । एमालेमा नेपाल समूहका १९ र ओली समूहका ३० जना छन् । एक जना किर्ते कागज मुद्दामा फरार र एक जना सभामुख छन् ।

प्रकाशित : चैत्र १, २०७७ १३:२६
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

बैंकमा लगानीयोग्य रकम थुप्रिएर साढे ६ खर्ब नाघेको छ। बैंकहरूले ब्याजदर घटाउँदासमेत कर्जा प्रवाह बढ्न नसक्नुको कारण के हो?