प्रदेश १ मा सांसद तानातान

दाहाल–नेपाल पक्षका उपनेता आङ्बुहाङले समूह छाडे
देवनारायण साह

मोरङ — प्रदेश १ सभा सचिवालयमा मुख्यमन्त्री शेरधन राईविरुद्ध अविश्वास प्रस्ताव दर्ता गराउन नेतृत्व गरेका नेकपा संसदीय दलका उपनेता टंक आङ्बुहाङले दाहाल–नेपाल समूह छाडेका छन् । उनी पार्टी एकता जोगाउने भन्दै नेकपाकै नेतृत्वमा सरकार गठन अभियानमा छन् । उनले भने, ‘पाँच वर्षका लागि नेकपाले जनमत पाएकाले पार्टी फुटाएर कांग्रेसलाई सरकारको नेतृत्व दिन मिल्छ ?’ यस्तो गर्दा पार्टी र कम्युनिस्ट आन्दोलन नै समाप्त हुने उनले दाबी गरे ।

प्रदेश १ मा सांसद तानातान

प्रदेश १ का तत्कालीन माओवादीको संसदीय दलका नेता आङ्बुहाङ पार्टी एकतापछि नेकपाको उपनेता भएका थिए । पार्टीमा तत्कालीन माओवादीकै प्रदेशसभा सदस्यहरूले मन्त्री बन्न असहयोग गरेकाले असन्तुष्ट उनले पार्टी विभाजनपछि दलको नेता बन्ने अपेक्षा गरेका थिए तर अविश्वास प्रस्ताव दर्ता भएपछि दाहाल–नेपाल समूहले भीमप्रसाद आचार्यलाई दलको नेतामा निर्वाचित गरेकाले उनी झन् असन्तुष्ट बनेका हुन् ।

२/४ जना प्रदेशसभा सदस्यलाई लिएर मुख्यमन्त्री राईको समूहमा आउने उनको तयारी छ । ‘एउटा कित्तामा बस्नैपर्ने हुन्छ र त्यसका लागि तत्कालै निर्णय गरिसक्ने अवस्था आइसकेको छैन,’ आङ्बुहाङले भने, ‘मुख्यमन्त्री राईको समूहमा आएपछि दाहाल–नेपाल समूहबाट २/४ जना प्रदेशसभा सदस्यलाई लिएरै आउँछु ।’

आफूविरुद्ध अविश्वास प्रस्ताव दर्ता भएपछि मुख्यमन्त्री राईले एकातिर प्रदेशसभा बैठक लम्ब्याउने र अर्कातिर दाहाल–नेपाल समूहमा लागेका प्रदेशसभा सदस्यलाई रिझाएर आफ्नो समूहमा ल्याउन थालेका छन् । उनी तत्कालीन एमालेभन्दा पनि तत्कालीन माओवादीका प्रदेशसभा सदस्यलाई आफ्ना पक्षमा ल्याउने रणनीतिमा छन्, यसले दाहाल–नेपाल समूहलाई आफ्नो क्याम्पमा भएका प्रदेशसभा सदस्यहरू जोगाउन हम्मेहम्मे परेको छ । गृहमन्त्री रामबहादुर थापा र चन्द समूहका महासचिव नेत्रविक्रम चन्दलाई प्रयोग गरेर आफ्ना पक्षमा न्यूनतम ४२ जना प्रदेशसभा सदस्य ल्याउने र जनता समाजवादी दल, संघीय लोकतान्त्रिक राष्ट्रिय मञ्च र राप्रपाको समर्थनमा अविश्वास प्रस्ताव असफल बनाउने मुख्यमन्त्री राईको रणनीति छ । तत्कालीन माओवादीका दुई/तीन प्रदेश सांसद चन्दको प्रभावमा छन् ।

दाहाल–नेपाल समूहले ३७ जनाको हस्ताक्षरसहित अविश्वास प्रस्ताव दर्ता गराएको थियो, जसमध्ये ५ जनाले औपचारिक रूपमा हस्ताक्षर फिर्ता लिइसकेका छन् । प्रदेशसभा सदस्य जसमाया गजमेर, श्रीप्रसाद मैनाली, गोपालचन्द्र बुढाथोकी, कला घले र वसन्तीदेवी यादवले हस्ताक्षर फिर्ता लिएका हुन् । मुख्यमन्त्री राईले अहिले प्रदेशसभा सदस्य सीता थेबे र रामकुमार राईलाई फकाउन प्रयास गरिरहेको प्रदेशसभाका एक सदस्यले बताए । तर दुवै जनाले यो हल्लाले निष्ठामाथि घात गर्ने काम भइरहेको र आफूहरू दाहाल–नेपाल समूहबाट विचलित नहुने बताएका छन् ।

दाहाल–नेपाल समूहका प्रदेशसभा सदस्य तथा पूर्व आर्थिक मामिला तथा योजनामन्त्री इन्द्रबहादुर आङ्बोले सरकार पक्षको दबाब र प्रभावमा परेर केहीले कित्ता फेर्दैमा फरक नपर्ने बताए । ‘सबैको विचार मान्ने आआफ्नो स्वतन्त्रता छ,’ उनले भने, ‘हाम्रो समूहबाट २/४ जना मुख्यमन्त्री समूहमा गएकाले केही फरक पर्दैन किनकि मुख्यमन्त्रीको समूहबाट पनि २/४ जना आउने तयारीमा छन् ।’ आफूहरू कुनै दबाबमा नभएको र पार्टीभित्र सामान्य बहुमतमै रहेको आङ्बोले बताए । उपनेता आङ्बुहाङले दाहाल–नेपाल समूह छाडेको उनले स्विकारे । नेकपा ओली समूहका प्रमुख सचेतक बुद्धिकुमार राजभण्डारीले मुख्यमन्त्री राई नेतृत्वको सरकार बचाउन र अविश्वास प्रस्ताव असफल बनाउन ४७ जना प्रदेशसभा सदस्य आवश्यक भए पनि उक्त संख्या नेकपामै पुर्‍याउन कठिन रहेको बताए । यसका लागि कांग्रेससँग मिल्नुको विकल्प नभएको उनको भनाइ छ ।

प्रकाशित : फाल्गुन २३, २०७७ १२:१७
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

अध्यादेशबाट कानुन ल्याएर भएपनि सहकारीपीडितको रकम फिर्ता गर्ने गृहमन्त्री रवि लामिछानेको भनाईप्रति तपाईं के टिप्पणी छ ?