विराटनगर — मोरङको सुनबर्सी–६ टुपियाखाडीका नीलबहादुर चौहानलाई नामथरले चिन्ने थोरै मात्र छन् । उनी त्यसै ‘सालबाजे’ उपनामले परिचित भएका होइनन् । अढाई दशकदेखि आफ्नो निजी जग्गामा सालका रूख हुर्काउने काममा लागेका चौहानलाई जिल्ला वन कार्यालय मोरङले ‘सालबाजे’ को उपनाम दिएको हो ।
राष्ट्रिय वनमा समेत सखुवा (साल) का रूख मासिँदै गएको अवस्थामा चौहान अढाई दशकदेखि निजी जमिनमा सखुवा हुर्काउन खटिएका कारण यस्तो उपनाम दिइएको डिभिजन वन कार्यालय मोरङका सहायक वन अधिकृत नरेन्द्र गुरागाईं बताउँछन् ।
भोजपुरको कुलुङबाट २०३२ सालमा बसाइँ सरी आएका चौहानले २०५३ सालदेखि सुनबर्सी–६ टुपियाखाडीको निजी जमिनमा सखुवाका बिरुवा रोप्न थालेका हुन् । सुरुमा उनले १० कट्ठा धानखेत मासेर सखुवाका एक सय बिरुवा रोपे । त्यतिबेला छिमेकी र आफन्तले चौहानलाई ‘पागल’को संज्ञा दिएका थिए । उनको साल खेती अहिले पाँच बिघामा फैलिएको छ । ‘पहिला पागल भन्नेहरू अहिले मेरो जंगल हेर्न आउँछन् । तीमध्येका केहीले धान खेती छाडेर सखुवा रोप्न थालेका छन्,’ उनले भने, ‘जंगल र सखुवाको महत्त्व छिमेकीले बल्ल बुझ्दै छन् ।’
उनको कामलाई हेरेर चौहानलाई वन विभागबाट ५० हजार राशिको राष्ट्रिय पुरस्कारसमेत दिइएको छ । सालका बोट हुर्काउन पनि उनले धेरै संघर्ष गर्नुपर्यो । सुरुमा एक सय बिरुवा रोप्दा एउटा मात्र राम्ररी हुर्किएको थियो । त्यसपछि उनले बर्सेनि बिरुवा रोप्दै गए । उनले रोपेकामध्ये १ सय ७० वटा सखुवाका बिरुवा हुर्किएका छन् । थप १ सय ३८ वटा बोट पनि हुर्किंदै छन् । ५ बिघा निजी वनमा पछिल्लो समय सखुवाबाहेक मसला, टिक, कदम, रुद्राक्ष, रक्तचन्दन, आँच, लिची र मलेसियन सखुवाका बिरुवा पनि छन् । सालबाजेको जंगलमा करोडौं मूल्य बराबरका साल र अन्य जातका रूख छन् । ‘एकै जातका सखुवा मात्र रोप्दा हुर्कन गाह्रो हुँदोरहेछ,’ चौहानले भने, ‘बहुजातका बिरुवा रोप्दा चाँडो सप्रिने विज्ञको सुझावका आधारमा अरू जातका पनि रोपेँ ।’ उनको जंगल निजी वनका नाममा दर्ता छ ।
भोजपुरको कुलुङमा हुँदा नै चौहानलाई बिरुवा रोप्ने रहर थियो । मधेस झरेपछि उनी भारतको जलपाइगुढी पुगे । त्यहाँको गरकट्टा र सालबन्दीमा सखुवाको निजी वन देखेपछि उनको रहरले थप हौसला बढायो । ‘सुरुमा त्यहीँको नर्सरीबाट बिरुवा ल्याएर रोप्न सुरु गरेको हुँ,’ उनले भने ।
प्रकाशित : फाल्गुन २०, २०७७ ०८:००