बदलिएको विराटनगरका साक्षी- प्रदेश १ - कान्तिपुर समाचार
कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement

बदलिएको विराटनगरका साक्षी

जितेन्द्र साह

विराटनगर — विराटनगर मेनरोडको फुटपाथ, नरिवलको बोट र झिंगुर राम । मुख्य बजार क्षेत्रका यी तीनबीच गहिरो र मार्मिक सम्बन्ध छ । राम झन्डै साढे ६ दशकदेखि महानगरको आरोह–अवरोहका साक्षीसमेत हुन् ।

विराटनगर मेनरोडको फुटपाथमा ग्राहक कुर्दै ७३ वर्षीय झिंगुर राम । तस्बिर : जितेन्द्र साह/कान्तिपुर

किशोरावस्थामा महानगरमा पाइला राखेका रामले यहीँबाटै धेरै परिवर्तन देखे, भोगे । ट्राफिक प्रहरी कार्यालय छेउको आन्तरिक राजस्व कार्यालय अघिल्तिरको अग्लो नरिवलको फेदमा बसेर उनी अहिले पनि जुत्ताचप्पल मर्मत गर्छन् । यसअघि उक्त कार्यालयको ढोकाभन्दा दक्षिणपट्टिको पर्खालसँग टाँसिएर लहरै राम र उनका आठ जना साथी बस्थे । तीन महिनाअघि महानगरपालिका कार्यालयले फुटपाथको अवरोध हटाउने अभियानले उनीहरूको उठीबास भयो । महिना दिनसम्म भौंतारिँदै हिँडे । बसेर काम गर्न उपयुक्त थलो पाएनन् ।

मुख्य बजार क्षेत्रमा बसेर मात्र गुजारा हुने भएपछि राम र साथीहरूले राजनीतिकर्मी एवं नागरिक समाजसमक्ष हारगुहार गरे । त्यसपछि महानगरपालिकाले आवागमनमा अवरोध हुन नदिने सर्तमा उनीहरूलाई सडकको पश्चिमोत्तर कुनामा बूढो नरिवलको रूख भएका ठाउँमा बस्न अनुमति दियो । फुटपाथ ओगटिँदा नराम्रो देखिएकाले बजार क्षेत्रकै उपयुक्त थलोमा बस्ने प्रबन्ध मिलाउनेबारे पनि गृहकार्य भइरहेको महानगरले जनाएको छ ।

जुत्ताचप्पल मर्मत गर्ने श्रमिकमा सबैभन्दा जेठा राम यही बूढो नरिवलको छहारीमा बसेर ग्राहक कुर्छन् । ‘नरिवल खसिहाले पनि टाउको नफुटोस् भनेर छाताको जोगाड गरेको हुँ,’ ७३ वर्षीय रामले भने । यो रूख र उनीबीचको सम्बन्ध भने निकै पुरानो छ । अढाई दशकअगाडि कार्यालयभित्र र बाहिर भएको वृक्षरोपणमा उनी पनि सहभागी थिए । ‘रोपेको दुई वर्षसम्म यो नरिवलको बोटमा मैले पनि पानी हालेको छु,’ उनी खुसी हुँदै भन्छन्, ‘अहिले यसकै छहारीमा बस्न पाएको छु ।’ त्यतिखेर नरिवलका चार र आँपका तीन बिरुवा रोपिएको रामले सम्झिए । आँप र नरिवलका एक/एक बोट भने पछि काटिए । ‘सिजनमा आँप र नरिवल खसेका बेला टिपेर खान्छौं पनि,’ उनले भने, ‘ईश्वरको कृपाले अहिलेसम्म टाउकामा नरिवल खसेको छैन ।’

जुत्ताचप्पल बनाउनु राम र उनका साथीको पुर्ख्यौली पेसा हो । २०१३/१४ सालदेखि विराटनगरलाई कर्मथलो बनाएका उनी भारत विहारको दरभंगा मजेदुलारपुरका हुन् । रामभन्दा अगाडि उनका दाजु जुठी राम रोजगारीका लागि विराटनगर आएका थिए । उनको निधन भएको २२ वर्ष भयो । उनले पनि जुत्ताचप्पल मर्मतकै काम गरे । सरोचियामा डेरा बस्ने राम विराटनगरको विकासको पनि साक्षी हुन् ।

‘पहिलोपटक यो बजार क्षेत्रमा पाइला राख्दा अगाडि तीन वटा टिनका घर र बाँकी झुपडी मात्र थिए, वरिपरि भाङको झाडी देखिन्थ्यो,’ उनले सम्झिए, ‘चापाकल र धारा थिएनन्, वरिपरि तीनवटा इनार थिए, त्यसैको पानी खान्थ्यौं ।’ त्यतिखेर जुत्ता पालिस गर्दा उनी १० पैसा पाउँथे । दैनिक अधिकतम ५ रुपैयाँसम्म आम्दानी हुन्थ्यो । अहिले जुत्ता पालिस गरेको ४० रुपैयाँ लिन्छन् र दैनिक ७ सय रुपैयाँसम्म आम्दानी गर्छन् ।

वर्षमा एकपटक घर जाने रामका लागि यो महानगर सबथोक हो तर महानगरपालिकाले बजार क्षेत्रको फुटपाथमा नबस्न उर्दी जारी गर्दा उनको मन पोल्छ । दुई दशक अवधिमा आफूहरूलाई बजार क्षेत्रको यो थलोबाट दुईपटक हट्न भनिएको उनले बताए । गिरिजाप्रसाद कोइराला प्रधानमन्त्री रहेकै बखत पनि महानगरपालिकाले हटाउन खोजेको उनले सम्झिए । ‘विराटनगर आएको मौकामा गिरिजाबाबुलाई हामीले निवासमै भेटेर पेसाबाट विस्थापित हुन लागेको पीडा सुनायौं,’ उनले भने, ‘उहाँले घरमै चिया खुवाउनुभयो । महानगरका हाकिमलाई भनेर उठिबास हुन नदिने बताउनुभयो ।’

फुटपाथमा बसेर काम गर्नु बाध्यता भएको राम बताउँछन् । ‘बजार क्षेत्रबाहिर हाम्रो व्यवसाय चल्दैन,’ उनी भन्छन्, ‘उहिलेदेखि यही थलोमा बसेको हुनाले सबै पुस्तासँग घनिष्ठता भएको छ, उहाँहरूले हामीलाई भेट्ने स्थायी ठेगाना यही हो । यहाँबाट हटायो भने भगवान्कै भरमा जीवन चल्छ ।’ रामको विहारस्थित घरमा वृद्ध श्रीमती लीलादेवीबाहेक कोही छैन । एक्ली छोरीको बिहे भइसकेको छ । रोजीरोटी जोडिएको हुनाले रामको तनमन विराटनगरमै रमाउँछ । ‘हातगोडा चलुन्जेल कर्मभूमि छाड्दैनौं,’ उनी भन्छन्, ‘अन्तिम बेला मात्र घर फर्कने हो, त्यतिन्जेल कर्म नै जीवन हो ।’

प्रकाशित : फाल्गुन १६, २०७७ १३:२३
प्रतिक्रिया
पठाउनुहोस्

२७ लाख खर्चेर ‘ट्री टावर’

कान्तिपुर संवाददाता

सिन्धुली — सबैतिर भ्यु टावर निर्माण गर्ने लहर चलिरहेका बेला यहाँ फरक खालको ‘ट्री टावर’ बनाइएको छ । कमलामाई नगरपालिका–१० को चँदाहा दोभानमा रुखलाई घेरेर भ्यु टावरजस्तै देखिने गरी ‘ट्री टावर’ बनाइएको हो ।

नगरपालिकाले कमला नदी पार गरेर पुगिने चँदाहा दोभानमा सिमलको रुखलाई घेरेर चारतले टावर बनाएको छ । करिब २७ लाख लगानीमा चँदाहा दोभानमा वनभोजस्थल निर्माणअन्तर्गत सिमलको रुखलाई घेरेर टावर निर्माण गरिएको स्थानीय रामजी पाठकले जानकारी दिए । चँदाहा दोभानमा चरिचरन मुक्त क्षेत्र बनाएर जंगलको संरक्षणसमेत गरिएको उनले बताए । दोभानमा भएकामध्ये सबैभन्दा ठूलो सिमलको रुखमा टावर बनाएको हो ।

टावरबाट कमला नदी, खोंचका फाँट र तराईको दृश्यावलोकन गर्न सकिने स्थानीय कृष्णहरि घिमिरे बताउँछन् । ‘यो नयाँ किसिमको प्रयोग हो, यसबाट वनभोज खान आउने र अन्यलाई दृश्यावलोकन गर्न सहज हुन्छ,’ उनले भने । चँदाहा दोभानमा वनभोज खानेको लर्को लागेपछि पर्यटन शीर्षकको लगानीबाट ट्री टावर बनाइएको कमलामाई नगरपालिकाका इन्जिनियर आस्तिक बरालले जानकारी दिए । रुख टावर, सिटिङ चियर, खानेपानी ट्यांकीलगायतकाम ठेक्कामार्फत २७ लाखमा सम्पन्न भएको वडाध्यक्ष कैलाश ढुंगेल बताउँछन् ।

प्रकाशित : फाल्गुन १६, २०७७ १३:२१
पूरा पढ्नुहोस्
प्रतिक्रिया
पठाउनुहोस्
×