२४.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: ५८७

मचानमा सशस्त्र प्रहरी

कोरोना महामारी सुरू भएपछि सीमाको निगरानी गर्न सशस्त्र टोलीलाई हात्ती धपाउने मचानमा खटाइएको थियो
पर्वत पोर्तेल

बाहुनडाँगी, झापा — हात्ती धपाउने सहजताका लागि दशकअघि सरकारले पक्की मचान बनाएको थियो । कोरोना महामारीअघि बाहुनडाँगीवासी ढुक्कसाथ मचान (टुङ) मा बस्थे । अहिले यहाँ सशस्त्र प्रहरीको सानो टुकडी बस्छ ।

मचानमा सशस्त्र प्रहरी

‘मचानमै बसेर दिनरात ड्युटी गर्छौं,’ बजारपूर्वको मचानमा ड्युटी गरिरहेका सशस्त्र प्रहरी जवान सन्तराज लिम्बूले भने, ‘खाना बीओपीमा खान्छौं, ड्युटीका लागि पुनः मचानमै आउँछौं ।’ कोरोना महामारी सुरु भएपछि सीमाको निगरानी गर्न सशस्त्रको टोलीलाई मचानमा खटाइएको थियो । खुला सिमानामा हुन सक्ने अवाञ्छित गतिविधि निगरानीका लागि सिमानामै रहेको मचानमा थप सुरक्षाकर्मी परिचालन गरिएको सशस्त्र प्रहरी बल नम्बर २ हेडक्वार्टरका एसपी रमेशकुमार पाण्डेले बताए । ‘कोभिडको समयमा अस्थाथी रूपमा राखिएको हो । केही टोली अहिले पनि टुङमै छन्,’ उनले भने ।

बाहुनडाँगीको तिरिङ नाका, भारतको नक्सलबारी जोड्ने बजारपूर्वको मूल नाका र माता चोकपूर्वको नाकामा सशस्त्र प्रहरी मचानमै बस्छन् । तिरिङ नाकामा ५/६ जना छन् भने बजारपूर्वको नाकामा ५ र माता चोकपूर्व १० जना जनशक्ति परिचालित छन् । सबै प्रहरीलाई कोभिडको समयमा नाकाको निगरानीका लागि राखिएको एसपी पाण्डेले बताए । ‘बजारपूर्वको नाकामा तीनवटा सीसीक्यामेरासमेत जडान गरिएको थियो, त्यही भएर उनीहरूलाई राखिएको हो,’ उनले भने । टहरा बनाएर राख्दा हात्तीले आक्रमण गर्न सक्ने सम्भावना भएकाले मचानमा राखिएको उनले बताए ।

सीमा सुरक्षामा खट्दै आएको अर्धसैनिक बल सशस्त्र प्रहरीले झापाका सीमावर्ती नाकामा धमाधम बीओपी स्थापना गर्दै छ । गत आइतबारमात्रै पाँच सीमावर्ती नाकामा एकैपटक बीओपी उद्घाटन गरिएको थियो । मेचीनगर–५ को नकलबन्दा, मेचीनगर–१ को तिरिङ, भद्रपुर–३ को महेशपुर, दक्षिणी झापाको पन्थापाडा र गौरादहको आमगाछी क्षेत्रमा बीओपी निर्माण गरिएको हो । १ नम्बर बराह वाहिनी मुख्यालय सुनसरीका डीआईजी वंशीराज दाहालले यो वर्ष झापामा ९ वटा बीओपी स्थापना गरिसकिएको बताए ।

झापामा १ सय ४४ किलोमिटर खुला सीमा क्षेत्र छ । दक्षिण भेगतिर भारतको बिहार र पूर्वी भेगमा पश्चिम बंगाल राज्यसँग सीमा जोडिएको छ । खुला सीमाका कारण नेपाली सुरक्षाकर्मीलाई अपराध नियन्त्रण तथा तस्करी नियन्त्रणमा चुनौती हुँदै आएको थियो । डीआईजी दाहालले सीमा सुरक्षाका लागि थप निगरानी बढाउन बीओपी स्थापना गरिएको बताए । यसअघि बाहुनडाँगी, पृथ्वीनगर, केचना, घेराबारी, भागडुब्बा, कुञ्जीबारी, गौरीगन्ज र टाघनडुब्बामा बीओपी स्थापना भइसकेको छ । तीन वर्षभित्र झापाका ३७ नाकामा बीओपी स्थापना गर्ने सरकारको लक्ष्य रहेको डीआईजी दाहालले जानकारी दिए ।

प्रकाशित : फाल्गुन १६, २०७७ ०८:५८
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

राजनीतिक दलमा आबद्ध शिक्षकहरूलाई पदबाट हटाउने शिक्षा मन्त्रालयको निर्णय कस्तो लाग्यो ?