उर्लावारी युवक मृत्यु प्रकरण : प्रहरी निरीक्षकलाई कारबाही माग- प्रदेश १ - कान्तिपुर समाचार

उर्लावारी युवक मृत्यु प्रकरण : प्रहरी निरीक्षकलाई कारबाही माग

कान्तिपुर संवाददाता

मोरङ — उर्लाबारी–५ का ३१ वर्षीय प्रवीण बाँस्तोलाको मृत्यु घटनाको अनुसन्धानमा बेवास्ता गरेको आरोप लगाउँदै मृतकका आफन्त र स्थानीयले प्रहरी निरीक्षक (इन्स्पेक्टर) उद्धव पोखरेललाई कारबाहीको माग गरेका छन् । बाँस्तोलाको हत्या भएको दाबी गर्दै आन्दोलित आफन्तले इन्स्पेक्टर पोखरेलले घटना ढाकछोप गर्न खोजेको आरोप लगाएका हुन् । 

इलाका प्रहरी कार्यालय उर्लाबारीका प्रहरी निरीक्षक उद्धव पोखरेल ।

मृतककी बहिनी सदीक्षा बाँस्तोलाले ‘न्याय मार्न खोज्ने व्यक्ति अझै उर्लाबारीमा कार्यरत रहेकाले असुरक्षाको अनुभूति भएको’ बताइन् । ‘घटनामा संलग्नलाई कारबाहीको दायरामा ल्याउनुपर्ने र अनुसन्धानमा बेवास्ता गरी ढाकछोप गर्न खोज्नेलाई कारबाहीका लागि जिल्ला तहसम्म आन्दोलन गर्‍यौं,’ उनले भनिन्, ‘तर अहिलेसम्म मुद्दा अदालतमा गएर यसअघि नै पक्राउ गरेर जिम्मा जमानीमा छोडेका आरोपितमध्ये दुई जनालाई मात्रै प्रहरीले पक्राउ गरेको छ ।’ आरोपी अन्य ४ जनालाई पनि पक्राउ गरी अदालतमा उपस्थित गराउनुपर्ने र अनुसन्धानमा लापरबाही गर्नेलाई पनि कारबाहीको दायरामा ल्याउनुपर्ने सदीक्षाको भनाइ छ ।

इन्स्पेक्टर पोखरेलले घटनाको मिसिल बुझाउँदा सरकारी वकिलको कार्यालयले प्रमाण नपुगेको भन्दै दुईपटक फिर्ता गरेको र त्यही फाइलका आधारमा अहिले मुद्दा दर्ता भएकाले न्याय प्राप्त हुनेमा आशंका रहेको स्थानीय नारायण बस्नेतले बताए । मिसिल कमजोर पार्ने पोखरेललाई अझैसम्म कारबाही नगरेकाले सशक्त आन्दोलनमा उत्रिनुपरेको बस्नेतको भनाइ छ । ‘प्रहरी निरीक्षक पोखरेलबाट उर्लाबारीवासीले शान्तिसुरक्षाको प्रत्याभूति गर्न सक्ने अवस्था रहेन,’ उनले भने, ‘आइतबार सशक्त आन्दोलनमा उत्रने तयारीमा छौं ।’

जिल्ला प्रहरी मोरङका प्रमुख प्रहरी उपरीक्षक सन्तोष खड्काले पीडित पक्षका केही व्यक्ति इन्स्पेक्टर पोखरेलले गल्ती गरेको र केही नगरेको भन्नेमा रहेको बताए । ‘पीडित परिवारले मिसिल तयारीमा लापरबाही भएको प्रश्न उठाएका छन्, समिति गठन भएर छानबिन भइरहेको छ,’ उनले भने, ‘छानबिन प्रतिवेदनले प्रहरी निरीक्षक दोषी देखिए कारबाही प्रक्रियामा जान्छ र नदेखिए संगठनले अझै संरक्षण गरेर दिएको जिम्मेवारीमा खटाउँछ ।’

प्रहरी उपरीक्षक खड्काले फरार ४ जनालाई पक्राउ गर्न प्रहरी टोली खटिएको बताए । घटनाका आरोपित उर्लाबारी नगरपालिका–६ का राजेश रणपहेली, सुदीप परियार, दीपेश पौडेल र रमेश गिरी फरार छन् । अनुसन्धानका लागि पीडित पक्षले दबाब दिएपछि जिल्ला प्रहरीले प्रहरी नायब उपरीक्षक मानबहादुर राईको नेतृत्वमा तीन सदस्यीय टोली गठन गरी छानबिन गरिरहेको छ । गत पुस ५ गते भएको उक्त घटनामा जिल्ला अदालत मोरङमा मंगलबार मात्रै ६ जनाविरुद्ध कर्तव्य ज्यान मुद्दा दर्ता भएको छ । बुधबार मिसिलसाथ पेस गरिएका दुई जनाको बयान लिइएको थियो । बिहीबारको थुनछेक बहसमा एक जनालाई पुर्पक्षका लागि थुनामा राख्ने र अर्का एक जनालाई तीन लाख धरौटीमा छाड्ने आदेश भएको छ ।

यो पनि पढ्नुहोस्ः

उर्लाबारी युवक मृत्यु प्रकरण : बहिनी सदीक्षाको साहसले मुद्दा अदालतमा

प्रकाशित : फाल्गुन १६, २०७७ ०८:१५
प्रतिक्रिया
पठाउनुहोस्

भागरथी हत्या प्रकरण : आरोपितको तेस्रोपटक म्याद थप

कान्तिपुर संवाददाता

बैतडी — बलात्कारपछि हत्या गरिएकी बैतडीको दोगडाकेदार गाउँपालिका–७ चडेपानीकी भागरथी भट्टको हत्या प्रकरणका आरोपित किशोरको तेस्रोपटक म्याद थप गरिएको छ । शुक्रबार बैतडी जिल्ला अदालतबाट पाँच दिन म्याद थप गरी अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालय बैतडीले जनाएको हो ।

जिल्लाका प्रहरी प्रमुख डीएसपी नारायणप्रसाद अधिकारीले अनुसन्धानको फाइल केही दिनमै सरकारी वकिल कार्यालयमा बुझाउने तयारी रहेको बताए । आरोपित नाबालक भएकाले २१ दिनभन्दा बढी प्रहरी हिरासतमा राख्न नपाउने प्रावधान भएकाले त्यसभित्रै सबै अनुसन्धान सक्ने गरी काम भइरहेको छ । केन्द्रीय विधिविज्ञान प्रयोगशालामा परीक्षणका लागि पठाएको मृतकको भजाइनल स्वाब, मुखको स्वाब र योनिबाट निस्केको रगतको परीक्षण रिपोर्ट अझैसम्म नआएको प्रहरीले जनाएको छ । रिपोर्ट आएसँगै मिसिलमा प्रमाण थपिने डीएसपी अधिकारीले बताए ।

दोगडाकेदार–३ स्थित सनातन धर्म माविमा कक्षा १२ मा अध्ययनरत भागरथी माघ २१ गते विद्यालय गएकी थिइन् । दिउँसो २ बजे विद्यालयबाट घर जान हिँडेकी उनको भोलिपल्ट खोचलेक—चडेपानी ग्रामीण सडकबाट ३० मिटर तल वनमाराको झाडीमा शव फेला परेको थियो । प्रहरीले सोही विद्यालयमै कक्षा ११ मा पढ्ने उनकै १६ वर्षीय छिमेकी भाइलाई घटनाको मुख्य आरोपीका रूपमा प्रहरी हिरासतमा राखेर अनुसन्धान गरिरहेको छ । आरोपितले भागरथीको बलात्कारपछि हत्या गरेको प्रहरीलाई बयान दिएका छन् ।

यस्तै, दोगडाकेदार–७ मा यसअघि भएका अन्य हत्याका घटनाको अनुसन्धान पनि प्रहरीले सुरु गरिसकेको जनाएको छ । सोही गाउँमा १ महिला र ४ पुरुष गरी ५ जनाको हत्या भएको वर्षौं हुँदा पनि घटनाको अनुसन्धान हुन सकेको थिएन । यीमध्ये केही घटनाका उजुरी प्रहरी कार्यालयमा पुगेर पनि अनुसन्धान भएका छैनन् भने केही प्रहरीसम्म पनि पुगेका थिएनन् । भागरथीको घटना भइसकेपछि हालसम्म सामसुम पारिएका यी घटनाहरूबारे पीडित पक्ष र स्थानीयले मुख खोलेका हुन् । पहिलेका घटनामा गम्भीरतापूर्वक अनुसन्धान नगरिएको हुँदा अहिले फेरि अनुसन्धान सुरु गरिएको डीएसपी अधिकारीले बताए । यी घटनाका दोषीलाई पनि छिट्टै सार्वजनिक गर्ने उनले दाबी गरे ।

प्रहरी स्रोतका अनुसार दुईवटा घटनाका दोषीनजिक प्रहरी अनुसन्धान पुगिसकेको छ । घटनाको २० वर्ष पुग्न ७ महिनामात्र बाँकी रहेको करिब ६५ वर्षीया वृद्धा खुर्रा कार्कीको हत्या घटना प्रहरीले अहिले हेरिरहेको छ ।

प्रकाशित : फाल्गुन १६, २०७७ ०८:०२
पूरा पढ्नुहोस्
प्रतिक्रिया
पठाउनुहोस्
×