कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement

भारतबाट ९ बालबालिकाको उद्धार

पर्वत पोर्तेल

काँकडभिट्टा — सन्दकपुर–५ इलामकी १० वर्षीया अनुषा गुरुङ केही समयअघि दार्जिलिङ पुगेकी थिइन् ।

भारतबाट ९ बालबालिकाको उद्धार

आफन्त पर्ने एक महिलाले उनलाई पढाई दिने सर्तमा घरेलु कामदारको रुपमा लिएर गएकी थिइन् । तर उनले केही समयदेखि ती बालिकालाई अभद्र व्यवहार गर्न थालेपछि बालिका घर छाडेर भागिन् । दार्जिलिङको फुटपाथमा भौतारिरहेको प्रहरीले फेला पारेर स्थानीय सामाजिक संस्थालाई जिम्मा लगायो ।

भारतीय प्रहरी, सामाजिक संस्था, कोलकातास्थित महावाणिज्य दूतावासको पहलमा अनुषा जस्तै समस्या भोगेका र उनकै उमेरका ९ जना बालबालिका बुधबार घर आइपुगे ।

सूर्योदय नगरपालिका–३ इलामकी ८ वर्षीया दिक्षिना तामाङको कथा पनि उस्तै छ । उनी पनि आफन्तको घरमा गएकी थिइन् । उनलाई पनि निरन्तर कुटपिट गरिन् । अन्तत: उनले घर छाडेर भागिन् । प्रहरीको सहयोगमा एक सेल्टर गृहमा बसिन् । लामो प्रयासपछि उनी बुधवार अन्य साथीहरुसँगै घर फिरिन् । लामो समयपछि घर फर्किन पाएकोमा र अभिभावकसँग भेट्न पाएकोमा उनी औधि खुसी देखिन्थिन् ।

बालबालिकाका क्षेत्रमा कार्यरत गैरसरकारी संस्था शिविन विराटनगरका अनुसार नेपालबाट बसेनि विभिन्न बहानामा बालबालिका भारत पुग्ने गर्छन् । कतिपय बाल श्रमिकको रुपमा र कतिपय अन्य जोखिमपूर्ण कामका लागि बालबालिका भारत पुर्‍याइने गरेको प्रहरीले जनाएको छ । प्रहरीका अनुसार बुधबार उद्धार गरी ल्याइएका बालबालिकाहरु आफन्तको घरमा काम गर्न बसेका धेरै छन् ।

प्रहरीका अनुसार झापा र इलामका ३/३ जना तथा दोलखाका २ र सिन्धुपाल्चोकका एक बालकको उद्धार भएको छ । इलाका प्रहरी कार्यालय काँकडभिट्टाका डिएसपी सुनिल दाहालले भारतका विभिन्न सेल्टर होममा राखिएका ५ वर्षदेखि १६ वर्ष उमेर समूहका बालबालिकालाई अभिभावकको जिम्मा लगाइएको जनाए ।

कोलकातास्थित नेपाली महावाणिज्य दूतावास र विश्व सेवा विस्तार संस्थाको अगुवाईमा सिन्धुपाल्चोक पाँचपोखरी थाङपाल–६ की करिश्मा लामा, दोलखा बावरे–२ का श्याम थामी, दोलखा बावरे–५ का थोपगेल थामी, झापा शरणामति–९ का रोहन भट्टराई, शरणामति–९ का मनिक दुलाल, इलाम सूर्योदय नगरपालिका–३ की दिक्षिना तामाङ, सन्दकपुर गाउँपालिका–५ की अनुषा गुरुङ राई, सूर्योदय नगरपालिका–४ की पूजा प्रधान र मुन्नि ढोली र झापा मेचीनगर–५ का समिर सुब्बालाई उद्धार गरी अभिभावकलाई जिम्मा लगाइएको हो । ‘सबै बालबालिका करिब २ महिनाको अवधिमा उद्धार गरिएका हुन्’, विश्व सेवा विस्तारकी जनसम्पर्क अधिकारी अनिता गुरागाईले भनिन्,’ बालबालिकाहरु ५ देखि १६ वर्ष उमेर समूहका छन् ।’

प्रहरीका अनुसार सबै बालबालिका कम्तिमा ३ महिनाअघि र बढीमा ३ वर्ष अघिदेखि घरबाट सम्पर्कविहीन भएका थिए । कतिपयचाहिँ अभिभावककै सल्लाहमा बाल श्रमिकको रुपमा भारत पुगेका थिए ।

प्रकाशित : फाल्गुन १३, २०७७ १७:१३
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

सरकारी जग्गा र भवन राजनीतिक दल र तीनका भातृ संगठनले कब्जा गरेर बस्नुलाई के भन्नुहुन्छ ?