फरार दुई थुनुवामध्ये एक भारतबाट पक्राउ

प्रहरीद्वारा छानबिन समिति गठन
देवनारायण साह

मोरङ — जिल्ला अदालत मोरङ परिसरबाट फरार भएका दुई थुनुवामध्ये एक जनालाई प्रहरीले पक्राउ गरेको छ । कटहरी गाउँपालिका ४ का ३७ वर्षीय मनराज शेखलाई प्रहरीले मंगलबार साँझ भारतबाट पक्राउ परेको हो ।

फरार दुई थुनुवामध्ये एक भारतबाट पक्राउ

झापाको बिर्तामोड नगरपालिका ५ का २० वर्षीय प्रकाश चौधरी भने अझै फरार छन् । जिल्ला प्रहरी मोरङका प्रमुख प्रहरी उपरीक्षक सन्तोष खडकाले सेख जहदा गाउँपालिकाको डुमरियाबाट पक्राउ गरेको र चौधरीको खोजी भइरहेको बताए ।

प्रहरी उपरीक्षक खडकाले डुमरीयाबाट पक्राउ गरेको बताए पनि जिल्ला प्रहरी मोरङ र प्रदेश १ प्रहरीको विशेष टोलीले शेखलाई डुमरीयादेखि दुई किलोमिटर दक्षिण भारतबाट पक्राउ गरेको छ । शेख गाउँकी दिदी पर्नेको घरमा लुकेर बसेको अवस्थामा सादा पोशाकमा खटिएका प्रहरी टोलीले नियन्त्रणमा लिई भारतीय प्रहरीको समन्वयमा विराटनगर ल्याइएको एक प्रहरी अधिकृतले बताए ।

जिल्ला अदालत मोरङमा दुवै जनालाई ५/५ दिनको म्याद थप गराएर अदालतकै क्यान्टिनमा खाजा खाने क्रममा प्रहरीको आँखा छलेर सोमबार दिउँसो फरार भएका थिए । उनीहरु हतकडीसहित फरार भएका थिए ।

यसैबीच जिल्ला प्रहरीले तीन सदस्यीय छानबिन समिति गठन गरेको छ । प्रहरी नायब उपरीक्षक लोकदर्शन थापाको नेतृत्वमा छानबिन समिति गठन गरेको प्रहरी खड्काले बताए । छानबिन टोलीले मुद्दा फाँटका प्रहरी अधिकृतसहित १४ जनामाथि अनुसन्धान सुरु गरेको उनले सुनाए । ‘क्यान्टिनमा खाजा खाने क्रममा थुनुवालाई निगरानी नगरेकाले प्रहरीकै लापरबाहीले भाग्न सफल भएका छन्,’ उनले भने, ‘त्यसैले छानबिनपछि आएको प्रतिवेदनका आधारमा उनीहरुलाई विभागीय कारबाही हुन्छ ।’

प्रकाशित : फाल्गुन १२, २०७७ १४:५३
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

अध्यादेशबाट कानुन ल्याएर भएपनि सहकारीपीडितको रकम फिर्ता गर्ने गृहमन्त्री रवि लामिछानेको भनाईप्रति तपाईं के टिप्पणी छ ?