कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement
१६.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १५८

बीपी प्रतिष्ठानका उपकुलपति र शिक्षाध्यक्षको कक्षमा लागेको ताला खुल्यो

सुनसरी — धरानस्थित बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानको उपकुलपति र शिक्षाध्यक्षको कार्यकक्षमा लागेको ताला खोलिएपछि सोमबारदेखि नियमित काम कारबाही कार्यकक्षबाटै सुरु भएको छ ।

बीपी प्रतिष्ठानका उपकुलपति र शिक्षाध्यक्षको कक्षमा लागेको ताला खुल्यो

चिकित्सा तथा दन्तचिकित्सा शिक्षण कल्याण समाजले तीन वर्षदेखि रोकिएको बढुवा प्रक्रिया र कोरोना जोखिम भत्ता प्रति बेवास्ता गरेको भन्दै उपकुलपति प्रा.डा ज्ञानेन्द्र गिरीको कार्यकक्षमा एकसाताअघि र शिक्षाध्यक्ष प्रा.डा. गुरूप्रसाद खनालको कार्यकक्षमा दुइसाता अघि तालाबन्दी गरेको थियो ।

आइतबार दिनभर चिकित्सा समाज र प्रतिष्ठानका उपकुलपति, शिक्षाध्यक्ष, रजिष्ट्रार प्रा.डा. मोहनचन्द्र रेग्मी र अस्पताल निर्देशक प्रा.डा. गौरी शंकर साहबीचको वार्तामा सहमति भएपछि ताला खोलिएको हो ।

फ्याक्ल्टीहरुको बढुवा सम्बन्धमा एक महिनाभित्र बढुवाको विज्ञापन प्रकाशित गर्ने, कोरोना जोखिम भत्ता फागुन १४ गतेभित्र वितरण सुरु गर्ने र अन्य मागहरुका सम्बन्धमा एक हप्ताभित्र तार्किक निष्कर्षमा पुग्ने सहमति भएपछि तालाबन्दी खुलेको समाजका महासचिव डा. सूर्यप्रसाद रिमालले बताए ।

प्रतिष्ठानको हितमा आन्दोलित समाजको माग फेरिपनि बेवास्ता गरे २ सय ७० जना चिकित्सकले सामूहिक राजीनामा दिने चेतावनी समेत दिएपछि वार्तामा सहमती भएको र हाललाई आन्दोलनका सम्पूर्ण कार्यक्रमहरु फिर्ता गरिएको समाजका अध्यक्ष डा.विष्णु पोखरेलले बताए । उनले अन्य मागहरू एक सातामा पूरा गर्ने सहमति भएपछि काम गर्नका लागि ऊर्जा मिलेको बताए ।

सहमति पत्रमा प्रतिष्ठानका चारैजना पदाधिकारीहरु उपकूलपति प्राडा गिरी, शिक्षाध्यक्ष प्राडा खनाल, अस्पताल निर्देशक प्राडा साह र रजिष्ट्रार प्राडा रेग्मीले हस्ताक्षर गरेका छन् । समाजकातर्फबाट अध्यक्षसहित महासचिव डा. रिमाल, सहसचिव डा. सन्दिप साह, कोषाध्यक्ष डा. अन्जनिकुमार यादव, सदस्य डा. मनोज भट्टराई, डा. निर्मलप्रसाद साह र डा. लक्ष्मण खनालले हस्ताक्षर गरेका छन् ।

प्रकाशित : फाल्गुन १०, २०७७ १४:५५
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

बैंकमा लगानीयोग्य रकम थुप्रिएर साढे ६ खर्ब नाघेको छ। बैंकहरूले ब्याजदर घटाउँदासमेत कर्जा प्रवाह बढ्न नसक्नुको कारण के हो?