कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement
२१.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १५३

हत्याको घटनामा फर्जी फाइल खडा गरेपछि उर्लाबारीमा प्रहरी कार्यालय घेराउ

देवनारायण साह

मोरङ — हत्याको घटनामा सत्यतथ्य लुकाएर दोषीलाई उन्मुक्ति दिन खोजेको भन्दै मृतकका परिवार र आफन्तले सोमबार इलाका प्रहरी कार्यालय उर्लाबारी घेराउ गरी नाराबाजी गरेका छन् । सोही कारण उर्लाबारीको अवस्था तनावग्रस्त बनेको छ । 

हत्याको घटनामा फर्जी फाइल खडा गरेपछि उर्लाबारीमा प्रहरी कार्यालय घेराउ

परिवारजनले हत्याको घटनामा सत्यतथ्य लुकाएर तथ्यहीन फाइल खडा गर्ने प्रहरी निरीक्षक उद्धव पोखरेललाई छानबिन गरी कारबाहीको दायरामा ल्याउनु पर्ने र घटनाको छानबिन गरी दोषीलाई कारबाहीका लागि जिल्ला अदालत मोरङमा मुद्दा दर्ता गर्नुपर्ने माग राखेका छन् ।

उर्लाबारी-५ का ३१ वर्षीय प्रविण बाँस्तोलाको शव पुस ५ गते स्थानीय गोदाबरी अस्पतालमा परिवारजनले फेला पारेका थिए । मृतकका काका युवराज बाँस्तोलका अनुसार उर्लाबारी-४ स्थित रमेश गिरीको घरमा डेरा गरी बस्दै आएका मेहरमान दर्जीले प्रविणलाई पुस ४ गते फोन गरेर बोलाएका थिए । ‘दर्जी, दिपेश पौडेल, राजेश रणपहेलीसँगै प्रविणले उर्लाबारीको पूर्वपट्टीको बस स्ट्यान्ड नजिकको सौरभी होटलमा मद्यपान गरेर सबैजना सँगै दर्जीको डेरामा गएका थिए,’ युवराजले भने, ‘पुस ५ गते बिहान ११ बजे प्रविणको मृत्यु भएको फोन आयो ।’

गत वर्षको होलीमा दर्जीसँग प्रविणको भएको झगडाको रिसइबीका कारण योजनावद्ध ढंगले हत्या गरेको युवराजको दाबी छ । उनले अस्पताल स्रोतले पुस ४ गते राति ११ बजे नै प्रविणको मृत्यु भएको जानकारी दिएको सुनाए ।

‘प्रविणलाई अस्पतालसम्म कसले ल्याएको, कसरी मृत्यु भएको र कसले मारेको अहिलेसम्म हामीलाई केही जानकारी छैन,’ उनले भने, ‘सुरुमा प्रहरीले अनुसन्धान भइरहेको भन्दै घट्ना भएको केही दिन जाहेरी पनि लिन मानेनन् तर दबाब दिएपछि पुस २२ गते उनीहरुविरुद्ध किटानी जाहेरी दर्ता गराउन सफल भयौं ।’ प्रहरीले घटनाको भोलिपल्ट नै पक्राउ गरेका दर्जी, पौडेल र रणपहेलीलाई छाडिदिएकाले आफूहरु सशंकित भएको मृतकका काका युवराजले बताए । ‘प्रहरी निरीक्षक पोखरेललाई पटक पटक अनुसन्धान कहाँसम्म पुग्यो र अदालतमा मुद्दा कहिले दर्ता हुन्छ भनी सोधखोज गर्दै आएका थियौं,’ उनले भने, ‘कर्तव्य ज्यान मुद्दाका लागि प्रमाण नपुगेकाले पटकपटक सरकारी वकिलको कार्यालयबाट फाइल फिर्ता आएको भन्दै आउनु भएको थियो,’ उनले भने ।

प्रहरीको भूमिकाप्रति शंका लागेपछि फागुन ९ गते आइतबार अहिलेसम्म के-के अनुसन्धान भयो भनेर प्रहरी कार्यालय घेराउ गरी नाराबाजी गर्दै फाइल देखाउन दबाब दिएको युवराजले बताए । ‘प्रहरी निरीक्षक पोखरेलले देखाएको फायलमा त मृतकको फोटोसमेत अर्कै राखेर फर्जी फाइल खडा गरेको पायौं,’ उनले भने, ‘कहिले पनि चाँदीको सिक्री प्रविणले लगाएको थिएन तर फाइलमा सिक्री लगाएको अर्कैको तस्बिर राखिएको लगायत तथ्यबाट प्रहरीले गलत अनुसन्धान गरेको पाएपछि विरोध गर्यौं ।’

आफूहरु विरोधमा उत्रिएपछि प्रहरी निरीक्षक उद्धव पोखरेल एक घण्टाका लागि इलाका प्रहरी कार्यालयबाट गायब भएर तत्काल अर्को फाइल खडा गर्न लगाएको पीडित परिवारको दाबी छ । आइतबारदेखि नै प्रहरी निरीक्षक पोखरेललाई छानबिन गरी कारबाही गर्नुपर्ने र प्रविणको मृत्यु भए पनि न्याय मर्न नदिन आन्दोलनमा उत्रिन आफूहरु बाध्य भएको बाँस्तोलाले बताइन् ।

जिल्ला प्रहरीद्वारा डिएसपी राईको नेतृत्वमा छानबिन टोली गठन

यसैबीच, जिल्ला प्रहरी मोरङले प्रहरी नायब उपरीक्षक मानबहादुर राईको संयोजकत्वमा तीन सदस्यीय छानबिन समिति गठन गरेको छ । समितिमा प्रहरी नायब उपरीक्षक राईको नेतृत्वमा प्रहरी सहायक निरीक्षक दिवस कुँवर र प्रहरी हवल्दार रमेश थापा छन् । ‘आइतबार नै प्रहरी नायब उपरीक्षक राईको नेतृत्वको छानबिन समितिले अनुसन्धान सुरु गरेको छ,’ प्रहरी नायब उपरीक्षक लोकदर्शन थापाले भने, ‘मृतक प्रविणको घटना सम्बन्धमा अनुसन्धान कार्यमा घटनाका तथ्यहरुमा तात्विक फरक पर्ने गरी प्रमाण संकलन गरेको र कसुरदारलाई उन्मुक्ति दिने गरी गैरव्यवसायिक अनुसन्धान कार्य गरेको पाइएमा सम्बन्धित अनुसन्धानमा खटिएका प्रहरी कर्मचारीहरुलाई कानुन बमोजिम कारबाही गर्छौं ।’

मृतकका बुबा प्रेमप्रसाद बाँस्तोलाले रणपहेली, दर्जी र पौडेलविरुद्ध किटानी जाहेरी पुस २२ गते प्राप्त भएपछि तीनै जनालाई नियन्त्रणमा लिई छानबिन गरेको थापाले बताए । तत्काल शव परीक्षण प्रतिवेदन तथा फरेन्सिक परीक्षण प्रतिवेदन उपलब्ध नभएकाले प्रतिवादीहरुलाई कानुन बमोजिम २५ दिन थुनामा राखी अनुसन्धान गर्ने अवधि समेत पुरा भएको हुँदा जिल्ला सरकारी वकिल कार्यालय मोरङको निर्देशन अनुसार माघ २ गते जिम्मा जमानीमा उपस्थित हुने गरी उनीहरुलाई छाडिएको उनले सुनाए ।

प्रकाशित : फाल्गुन १०, २०७७ १४:५६
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

बैंकमा लगानीयोग्य रकम थुप्रिएर साढे ६ खर्ब नाघेको छ। बैंकहरूले ब्याजदर घटाउँदासमेत कर्जा प्रवाह बढ्न नसक्नुको कारण के हो?