शीतभण्डारले किसान र व्यवसायीलाई सजिलो

तरकारी र फलफूल लामो समय राख्दा बिग्रिने समस्या समाधान

सुनसरी — धरानस्थित कृषि उपज बजारमा शीतभण्डार (चिस्यान केन्द्र) सञ्चालनमा ल्याएपछि किसान र व्यवसायी लाभान्वित भएका छन् । प्रदेश मन्त्रालयको ७५ प्रतिशत (५० लाख रुपैयाँ) र कृषि उपज बजार समितिको २५ प्रतिशत (२५ लाख रुपैयाँ) न्यूनतम लागत साझेदारीमा शीतभण्डार सञ्चालनमा आएको हो ।

कोसी करिडोरका पूर्वी पहाडी र तराईका जिल्लामा उत्पादित फलफूल र तरकारीको सबैभन्दा ठूलो थोक बिक्री केन्द्र भएर पनि तीन शीतभण्डार नहुँदा महिनाअघिसम्म किसान र व्यवसायीले न्यूनतम मूल्यमा कारोबार गर्नुपरेको थियो । ‘कहिलेकाहीँ बन्द हडताल र बढी उत्पादन भएका बेला फलफूल र तरकारीको गुणस्तर नघट्ने गरी सञ्चय गर्ने शीतभण्डार नहुँदा किसान र व्यवसायी मारमा थिए । तर अब त्यस्तो अवस्था नहुनेमा ढुक्क छौं,’ बजार व्यवस्थापक लक्ष्मण भट्टराईले भने ।

धरानको कृषि बजार प्रदेश १ र २ का प्रायः जिल्लामा उत्पादन हुने फलफूल र तरकारीको थोक बिक्री केन्द्र हो । भारतमा उत्पादित बेमौसमी फलफूल र तरकारीसमेत यहाँको बजारमा आउने गरेको छ । मुलुककै उत्कृष्ट बजारको पुरस्कार सातौं पटकसम्म लगातार पाएको कृषि बजारमा वार्षिक करिब ६ अर्ब रुपैयाँ बराबरको कारोबार हुने गरेको छ । त्यसैले किसान र व्यवसायीले डेढ दशकदेखि शीतभण्डारको व्यवस्था गर्न माग गर्दै आएका थिए । पछिल्लो समय ७५ लाख रुपैयाँ लागत साझेदारीमा पाइलट प्रोजेक्टका रूपमा शीतभण्डार बनाएपछि किसान लाभान्वित भएको भट्टराईले बताए । ‘शीतभण्डार स्थापना भएपछि अहिले भइरहेको २० देखि ३० प्रतिशतसम्मको क्षति न्यूनीकरण हुने आशा छ,’ उनले भने ।

धरान–१३ स्थित कृषि उपज बजारमा जडित शीतभण्डारमा ६ देखि ८ महिनासम्म स्याउ राख्न सकिन्छ । तीन वटा चेम्बर रहेको शीतभण्डारका प्रत्येक चेम्बरको क्षमता २५ टन छ । एउटा चेम्बर किसानका लागि सुरक्षित छ । एक पटक तापक्रम मिलाएपछि कुन फलफूल वा तरकारीलाई कति चिसो चाहिन्छ, सोहीअनुसार स्वचालित रूपमा सञ्चालन हुने शीतभण्डारले किसान, उपभोक्ता र व्यवसायी उत्साहित भएको भट्टराईले बताए ।

एक महिनासम्मको ट्रायलमा शीतभण्डारले सन्तोषजनक नतिजा देखाएपछि पूर्वका किसान र व्यवसायीले स्याउ, सुन्तला, अंगुर, हरिया सागसब्जीलगायत फलफूल र तरकारी भण्डारण गर्न थालेको भट्टराईले जानकारी दिए । परीक्षण सफल भएपछि माघ १४ देखि शीतभण्डार पूर्ण क्षमतामा सञ्चालनमा छ ।

धरानमै शीतभण्डारको व्यवस्था भएपछि ढुवानी खर्च मात्र होइन, शुल्कमा पनि राहत मिलेको व्यवसायी शैलेन्द्र चौधरी र मानबहादुर प्रधानको भनाइ छ । फलफूल तरकारीका थोक विक्रेता ज्ञानबहादुर बस्नेतले पनि बन्द हडताल वा बिक्री नभएका बेला सिजनअनुसारका फलफूल तरकारी शीतभण्डारमा राखेर पछि बेच्न सकिने अवस्था सिर्जना भएको प्रतिक्रिया दिए ।

पुरानो प्रविधिमा आधारित ठूला लगानीका शीतभण्डार विभिन्न ठाउँमा राखिए पनि प्रायः असफल देखिएको अवस्थामा धरानमा निर्मित शीतभण्डारबाट किसान र व्यवसायीलाई सजिलो भएको प्रदेश १ का भूमि व्यवस्था तथा कृषि सहकारी मन्त्रालयका प्रवक्ता डा. राजेन्द्र उप्रेतीले बताए । ‘अन्यत्र पनि शीतभण्डार नभएका होइनन्,’ उनले भने, ‘तर त्यति सफल देखिएका छैनन् । धरानको शीतभण्डार भने सफल देखिएको छ ।’

प्रकाशित : फाल्गुन ९, २०७७ १३:३७
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

छ वर्षअघि अन्त्य भइसकेको यातायात क्षेत्रको सिन्डिकेट ब्युँताउने चलखेल सुरू भएको छ । तपाईंको के राय छ ?