कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement
२४.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १३४

प्रदर्शनकारीले चिया पसलमा तोडफोड गर्दा तीन घाइते

देवनारायण साह

मोरङ — आमहडताल अवज्ञा गरेको भन्दै आन्दोलनकारीले बिहीबार विराटनगर–२ स्थित प्रमोद सहनीको चिया नास्ता पसलमा तोडफोड गरेका छन् ।

प्रदर्शनकारीले चिया पसलमा तोडफोड गर्दा तीन घाइते

तोडफोड गर्ने क्रममा उम्लिरहेको तेलको कराही घोप्टिँदा पसलेकी २२ वर्षीया छोरी बबिता सहनी घाइते भएकी हुन् । उनका दुवै हात, छाती लगायत शरीरका विभिन्न भागमा तातो तेलको छिटा परेर घाउ भएको छ ।

यस्तै, उम्लिरहेको पानीको भाँडो घोप्टेर तातो पानीको छिटा पर्दा प्रमोदकी कान्छी छोरी कविता सहनी सामान्य घाइते भएकी हुन् । जाडोको समय भएकाले दुवै छोरीले स्विटर लगाएका कारण ठूलो दुर्घटना हुनबाट जोगिएको प्रमोदले बताए ।

नेकपा दाहाल–नेपाल समूहका नेता तथा पूर्वमन्त्री शिवकुमार मण्डल नेतृत्वको आन्दोलनकारीहरुको समूहले चिया पसल तोडफोड गरेका थिए । ढुंगामुढा गर्दै तोडफोडमा उत्रेका आन्दोलनकारीहरुले पसल सञ्चालक प्रमोदलाई हातपात समेत गरेको प्रत्यक्षदर्शीहरुले बताए ।

आन्दोलनकारीले हानेको ढुंगा लागेर र पसलको सिसा फुटेर बाँया आँखाको छेउमा काटिएको प्रमोदले बताए ।

‘आन्दोलनकारीहरुलाई बिहानै सोध्दा चिया नास्ता पसल बन्द नगराउने भन्दै उहाँहरुले नै पसल खोल्न लगाएका थिए,’ उनले भने, ‘बन्द गर्नुपर्ने सूचना दिएको भए, त्यत्तिकै पसल बन्द गर्थें तर सूचना नै नदिइ अचानक आक्रमण गरेर तोडफोड गर्दा मेरो लागि ठूलो क्षति भएको छ ।’ पसलमा लगाएको सिसा, भाँडाकुँडा फुटाउनुका साथै तयार पारेको नास्ता, दूध आन्दोलनकारीले फालिदिएको उनले गुनासो पोखे ।

आन्दोलनकारीहरुले विराटनगरमा प्रदेश स्वास्थ्य तालिम केन्द्र धनकुटाको बा १झ ९११८ नम्बरको जीप, बा १६च ४४०४ नम्बरको कारको सिसा ढुंगामुढा गरेर फुटाइदिएका छन् भने एउटा ट्रक र एकीकृत भन्सार जाँच चौकी विराटनगरका दुई वटा गाडीमा सामान्य क्षति पुर्‍याएको मोरङका प्रमुख जिल्ला अधिकारी कोषहरी निरौलाले बताए ।

विराटनगरस्थित महेन्द्रचोकमा तोडफोड गरिएको कार । तस्बिर : देवनारायण साह/कान्तिपुर

स्वास्थ्य कार्यालयको गाडीमा ढुंगामुढा गरेको आरोपमा प्रहरीले नेकपा दाहाल–नेपाल समूहका मोरङ संघर्ष समितिका सह संयोजक पारुल क्षेत्री, संगम चौधरी, शारदा मैनाली, मिरा दाहाल पोखरेललगायत ६ जनालाई पक्राउ गरेको छ । उनीहरुलाई प्रक्रिया पुर्‍याएर छोडिने प्रजिअ निरौलाले बताए । उनले चिया नास्ता पसलमा तातो तेलले पोलेको विषयमा कारबाही हुन सक्ने जानकारी दिए । आमहडतालले मोरङमा दिनभरि ठूला सवारी साधन नचल्नुका साथै शैक्षिक संस्था, उद्योग, कलकारखाना, बजार पसल बन्द भएका थिए ।

प्रकाशित : माघ २२, २०७७ १७:५७
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

बैंकमा लगानीयोग्य रकम थुप्रिएर साढे ६ खर्ब नाघेको छ। बैंकहरूले ब्याजदर घटाउँदासमेत कर्जा प्रवाह बढ्न नसक्नुको कारण के हो?