‘निलम्बित’ सांसदलाई प्रदेशसभामा रोक्ने तयारी- प्रदेश १ - कान्तिपुर समाचार

‘निलम्बित’ सांसदलाई प्रदेशसभामा रोक्ने तयारी

देवनारायण साह

विराटनगर — प्रदेश १ सभाको बुधबार सुरु हुने हिउँदे तथा सातौं अधिवेशनमा मुख्यमन्त्री शेरधन राईको समूहले नेकपा दाहाल–नेपाल समूहलाई प्रवेश गर्न नदिने तयारी गरेको छ । नेकपा संसदीय दल नेतासमेत रहेका राईले संसदीय दलको गतिविधिमा तीन महिनाका लागि निलम्बन गरेका १६ सांसदलाई प्रदेशसभामा प्रवेश गराइए बैठक चल्न नदिने उक्त समूहले जनाएको छ ।

दाहाल–नेपाल समूहले भने प्रदेशसभामा प्रवेश गर्न नदिए प्रतिवादमा उत्रने चेतावनी दिएको छ । कांग्रेसले प्रदेशसभा बैठक सरकार पक्षले चल्न नदिने भनाइ गैरजिम्मेवारीपूर्ण भएको प्रतिक्रिया दिएको छ ।

हिउँदे अधिवेशनको पूर्वसन्ध्यामा मंगलबार नेकपा दाहाल–नेपाल समूह र कांग्रेस संसदीय दलको बैठक बसेको छ । प्रधानमन्त्री केपी शर्मा ओलीनिकट मुख्यमन्त्री शेरधन राई समूहले पनि भेला गरेको छ । कांग्रेस संसदीय दलले बैठकमा प्रधानमन्त्री ओलीले गत पुस ५ गते प्रतिनिधिसभा विघटन गरी निर्वाचन घोषणा गरेपछि सिर्जना भएको राजनीतिक परिस्थिति, सातवटै प्रदेशमा कांग्रेसको अवस्था, मुख्यमन्त्री राईविरुद्ध प्रदेशसभामा दर्ता भएको अविश्वासको प्रस्तावलगायत विषयमा छलफल गरेको छ ।

प्रतिनिधिसभा विघटनको असरका रूपमा मुख्यमन्त्री राईविरुद्ध अविश्वास प्रस्ताव दर्ता भएको तर यो परिस्थिति निर्माण हुनुमा नेकपाका दुवै समूह उत्तिकै दोषी रहेको कांग्रेस संसदीय दलको ठम्याइ छ । अविश्वास प्रस्तावको टुंगो लगाउन लामो संसदीय प्रक्रिया अपनाउनुपर्ने हुनाले यस विषयमा तत्काल निर्णय नगर्ने बैठकको निष्कर्ष छ ।

कांग्रेसका प्रमुख सचेतक केदार कार्कीले कांग्रेसले परिस्थिति हेरेर जनताको पक्षमा निर्णय लिने बैठकको निष्कर्ष रहेको बताए । ‘प्रमुख प्रतिपक्ष कांग्रेसले आफै अविश्वासको प्रस्ताव ल्याउनुपर्ने थियो तर त्यो गर्न नसक्ने अवस्थामा अरूले नै अविश्वासको प्रस्ताव दर्ता गराएका छन्,’ उनले भने, ‘अविश्वासको प्रस्ताव दर्ता मात्रै भएको छ तर टेबल भएको छैन । अविश्वासको प्रस्ताव फिर्ता हुन्छ कि हुँदैन हेरिरहेका छौं, प्रस्ताव टेबल भएपछि कांग्रेसको निर्णय आउँछ,’ उनले भने । तत्काल कुनै निर्णय गरेर सरकारमा जाने हतारो पनि कांग्रेसलाई नभएको कार्कीले बताए ।

कार्कीका अनुसार दलको बैठकमा अधिकांश सांसदले अविश्वासको प्रस्ताव टेबल नहुन्जेल हतारोमा निर्णय लिन नहुने सुझाव दिएका थिए । ‘यो विषय संसद्को मात्रै होइन, राष्ट्रिय राजनीतिसँग पनि जोडिएको छ,’ कार्कीले भने, ‘त्यसैले पार्टीको केन्द्रसँग समन्वय र प्रदेशको समग्र राजनैतिक अवस्थालाई बुझेर अगाडि बढ्ने दलको बैठकको निष्कर्ष हो ।’ संसद् सञ्चालनमा कांग्रेसले सहयोग गर्ने निर्णय गरेको प्रमुख सचेतक कार्कीले बताए ।

‘कांग्रेस प्रदेशसभा सञ्चालन नियमावलीलाई अनुसरण गरी अघि बढ्छ,’ उनले भने, ‘प्रदेशसभा बैठकमा को पस्न पाउने, नपाउने भन्ने सभामुखको अधिकारको विषय हो ।’ सभामुख प्रदीपकुमार भण्डारीले सदन चलाउने विश्वास उनले व्यक्त गरे । कांग्रेस संसदीय दलका नेता राजीव कोइरालाले अविश्वास प्रस्ताव प्रदेशसभामा प्रक्रियागत रूपमा टुंगिने भएकाले पर्ख र हेरको नीति लिएको बताए ।

यस्तै, मुख्यमन्त्री राईले आफूनिकट प्रदेशसभा सदस्यहरूको भेला विराटनगरस्थित फन एन्ड फुड भिलेजमा गरेका थिए । नेकपा संसदीय दलका प्रमुख सचेतक बुद्धिकुमार राजभण्डारीले ‘निलम्बित’ १६ जना सांसदले प्रवेश पाए प्रदेशसभा बैठक चल्न नसक्ने बताए । उनले संसदीय दलको विधानका आधारमा दलका नेताले विधिसम्मत ढंगले तीन महिनाका लागि उनीहरूलाई कुनै पनि संसदीय गतिविधिमा संलग्न नहुने गरी निलम्बन गरेको बताए ।

राजभण्डारीले आफूहरूको भेला अनौपचारिक भएको र बुधबार बोलाइएको संसदीय दलको बैठक अब बस्न नसकिने प्रस्ट पारे । मुख्यमन्त्री राईले आयोजना गरेको भेलामा २८ जना प्रदेशसभा सदस्य उपस्थित थिए । उनको समूहमा खुलेका दुई जना अनुपस्थित थिए ।

नेकपा दाहाल–नेपाल समूहको संसदीय दलको बैठक विराटनगरस्थित एसियाटिक होटलमा भएको थियो । ३२ जना प्रदेशसभा सदस्य उपस्थित रहेको बैठकमा अहिलेसम्म भए गरेका कार्यको समीक्षा, अविश्वास प्रस्ताव सफल बनाउने र प्रदेशसभाको बैठकमा सहभागिता र उत्पन्न हुने परिस्थितिबारे छलफल भएको थियो । दाहाल–नेपाल समूहमा खुलेका संसदीय दल उपनेता टंक आङ्बुहाङ र प्रदेशसभा सदस्य तुलसीप्रसाद न्यौपानेको बैठकमा उपस्थिति थिएन ।

कांग्रेसलगायतका दलहरूसँग भएका छलफलको समीक्षा गर्दै अन्य दलबाट सहयोग लिने र तटस्थ बसेका प्रदेशसभा सदस्यहरूसँग छलफल गरी आफ्नो पक्षमा ल्याउने निर्णय बैठकले गरेको दाहाल–नेपाल समूहका नेता तथा प्रदेशसभा सदस्य राजेन्द्र राईले जानकारी दिए । आफूहरूलाई प्रदेशसभा प्रवेशमा रोक लगाइए प्रतिवाद गर्ने उनले बताए ।

सभामुख प्रदीपकुमार भण्डारीले दुवै समूहमध्ये कसैले पनि गरेको कारबाहीलाई मान्यता नदिने बताएको पनि उनको भनाइ छ । दाहाल–नेपाल समूहका नेता राईले मुख्यमन्त्रीविरुद्धको अविश्वास प्रस्तावमा हस्ताक्षर गरेका ५ जनाले हस्ताक्षर फिर्ता लिए पनि आफूहरूसँग अझै ३८/४० जना प्रदेशसभा सदस्य रहेको, कांग्रेस र साना दलले पनि साथ दिने सम्भावना रहेको दाबी गरे ।

दाहाल–नेपाल समूहले मुख्यमन्त्री राईविरुद्ध पुस १२ गते ३७ जना प्रदेशसभा सदस्यको हस्ताक्षरसहित प्रदेशसभामा अविश्वासको प्रस्ताव दर्ता गराएको थियो । हस्ताक्षर गरेका १६ जना प्रदेशसभा सदस्यलाई कुनै पनि संसदीय गतिविधिमा भाग लिन नपाउने गरी राईले निलम्बन गरेका थिए । दाहाल–नेपाल समूहले भने मुख्यमन्त्री राईलाई दलको नेताबाट हटाएर भीमप्रसाद आचार्यलाई निर्वाचित गरेको छ । आचार्यले मुख्यमन्त्री राईसहित आठ जना प्रदेशसभा सदस्यलाई कुनै पनि संसदीय गतिविधिमा भाग लिन नपाउने गरी तीन महिना निलम्बन पनि गरेका छन् ।

आचार्यले कार्यव्यवस्था परामर्श समितिमा नेकपाका तर्फबाट प्रतिनिधित्व गर्दै आएका प्रमुख सचेतक बुद्धिकुमार राजभण्डारी र इन्द्रमणि पराजुलीलाई फिर्ता बोलाएर लीलाबल्लभ अधिकारी र उपेन्द्र घिमिरेलाई पठाएको पत्र प्रदेशसभा सचिवालयमा दर्ता गराएका छन् ।

बुधबार दिउँसो २ बजे सुरु हुने प्रदेशसभाको हिउँदे तथा सातौं अधिवेशन व्यवस्थित रूपमा सञ्चालन गर्न सभामुख भण्डारीले बुधबार ११ बजे कार्यव्यवस्था परामर्श समितिको बैठक बोलाएका छन् । उक्त बैठकमा प्रमुख सचेतक राजभण्डारी र पराजुलीलाई नै बोलाइएको छ । प्रदेशसभा सचिवालयका सचिव गोपालप्रसाद पराजुलीले संसदीय प्रक्रियाबाट आएका प्रतिनिधिलाई कार्यव्यवस्था परामर्श समितिको बैठकमा भाग लिन बोलाएको बताए ।

प्रकाशित : माघ ७, २०७७ ०८:१९
प्रतिक्रिया
पठाउनुहोस्

सम्बन्धविच्छेदको हाउगुजी

दीप्स शाह

सम्बन्धविच्छेदबारे यदाकदा पढेसुनेकी भए पनि यस्तो घटनासित म नजिकबाट परिचित थिइनँ । आफ्नो घर–परिवार वा आफन्तमा कोही यसरी नछुट्टिएकाले होला, यसबारे ममा खासै चासो थिएन ।

मलाई यत्ति लाग्थ्यो— सम्बन्धविच्छेद हुनु भनेको दुई व्यक्तिबीचको सम्बन्ध मात्रै नसकिएर दुई परिवारबीच नै एउटा अजंगको पर्खाल ठडिनु हो, आफ्नोपन सकिनु हो र उस्तै परे शत्रुताको बीजारोपण हुनु हो । तर, वैदेशिक रोजगारीको सिलसिलामा इजरायल पुगेपछि थाहा भयो— सम्बन्धविच्छेद त्यस्तो असामान्य घटना होइन रहेछ । मैले सोचेजस्तो हाउगुजी त झनै होइन रहेछ ।

इजरायलमा सम्बन्धविच्छेद भनेको मान्छेको जीवनमा हुने सामान्य घटनाजस्तो रहेछ । त्यहाँ वैवाहिक सम्बन्ध टिक्दै नटिक्ने र हरकोहीको सम्बन्धविच्छेद हुन्छ भन्ने चाहिँ होइन; सत्तरिऔं, एकहत्तरौं वैवाहिक वर्षगाँठ मनाउने जोडी पनि भेटिन्थे । व्यक्तिगत स्वतन्त्रतालाई सबैभन्दा माथि राखेर हेरिने हुंँदा पछिल्लो समय त्यहाँ सम्बन्धविच्छेद सामान्य हुन थालेको भने सत्य हो ।

त्यहाँ बस्दा मेरो चिनजान भएको थियो दक्षिण इजरायलवासी सुन्दरी गाब्रियला मार्कसँग । स्वतन्त्र इजरायलको सुरुआतताका हंगेरीबाट आएर स्थापित कट्टर यहुदी परिवारकी अत्याधुनिक छोरी गाब्रियला दुई सन्तानकी ‘डिभोर्सी’ आमा थिई, जोसँग दुई–चार हंगेरियन शब्द सिक्न पाइने लोभले पनि म नजिकिएकी थिएँ । हप्तामा तीन–चार पटक पोस्ट अफिस, ग्रोसरी मार्केट वा नजिकैको क्याफेमा हामी भेटघाट गर्थ्यौं । ऊ कहिलेकाहीँ एउटा पातलो ठिटोसँग हुन्थी, जसलाई ऊ ‘ब्वायफ्रेन्ड’ भन्थी । सुरुसुरुमा मलाई अचम्म लाग्थ्यो— यो कस्तो समाज हो ? कति सजिलै यिनीहरू डिभोर्सका कुरा गर्छन्, फेरि खुलेआम ब्वायफ्रेन्ड पनि रे ! त्यो ब्वायफ्रेन्ड सजिलै गाब्रियलाका छोराछोरीसँग पनि घुलमिल भएको देखिन्थ्यो ।

यस्तैमा एक दिन बाटामा गाब्रियला अलिक अधबैंसे लोग्नेमान्छेसँग खित्का छोडेर हाँस्दै गफिँदै गरेकी भेटिई । म त बडो संकुचित समाजमा हुर्केकी मान्छे न परें ! सोचें, उसले ब्वायफ्रेन्ड फेरिछ क्यार ! नजिक पुगेपछि हातैमा तानेर उसैले परिचय गराई— जेबिक डोरोन, उसको पूर्वपति ! सामान्य शिष्टाचार आदानप्रदानपछि म छुट्टिएँ । तर मेरो मनमा अचम्मको घनले हानिरह्यो, निकै बेरसम्म । मलाई फेरि छिट्टै गाब्रियलालाई एकान्तमा भेट्न हतार भयो, आफ्ना अनेक जिज्ञासाा शान्त पार्नलाई । सम्बन्धविच्छेदपछि पनि कस्तो भेटघाट ? त्यो पनि मस्कीमस्की, खित्का छोडेरै कुरा गर्न सकिने गरी ? यो सब बाँकी नै थियो भने किन डिभोर्स गरेको त ? अनि बाटो नै अलग गरिसकेपछि फेरि भेटघाट गर्न वा सँगै कफी पिउन सम्भव छ र ? एकपटक सम्बन्धविच्छेद भएपछि एकअर्काको मुखै नहेर्नेजस्तो वातावरण भएको समाजमा हुर्केकी मेरा लागि गाब्रियलाको सन्दर्भ विस्मयकारी थियो । झन्डै एक साता गाब्रियलासँग भेट्ने मौका जुरेन । मलाई लामा र पट्यारलाग्दा लागेका हप्तामध्ये त्यो पनि एक थियो ।

जब अर्को हप्ता हामी क्याफेमा भेटियौं, मैले एकैसासमा अनगिन्ती जिज्ञासा ओकलिहालें । उसले बडो सामान्य तरिकाले मेरा सबै सवालको जवाफ मात्र होइन, एउटा अद्भुत ज्ञान पनि दिई । गाब्रियलाका अनुसार, सम्बन्धविच्छेदपछि पनि त्यहाँ केही बाँकी रहन्छ । आफूहरूबाट जन्मिएका बच्चाहरूको भविष्य र तिनलाई हेर्नुपर्ने जिम्मेवारी । ती बच्चाहरूको कुनै भूमिका थिएन, तिनका मातापिता जोडिनुमा र फेरि अलग्गिनुमा । जेबिक र गाब्रियलाको सम्बन्ध पतिपत्नीका रूपमा सकिए पनि ती बच्चाहरूका मातापिताका रूपमा सकिएको छैन, सकिँदैन पनि । र, तिनैको खुसीका लागि पनि उनीहरू समयसमयमा भेट्नु, भोजमा सामेल हुनु जरुरी छ । अन्तमा उसले यो पनि थपी, ‘अबउप्रान्त लोग्ने–स्वास्नी पो रहिएन, तर एकअर्काको असल साथी त रहन सकिन्छ नि !’

पछिल्लो समय नेपालमा पनि सम्बन्धविच्छेदका घटना तीव्र रूपमा बढिरहेका छन् । यसले निम्त्याउने तिक्ततामा केही फरकपन आउन थालेको पनि आभास भएको छ । गत वर्षतिर होला, एक नेपाली चर्चित साहित्यकारले डिभोर्सपछि पनि पूर्वपतिसँग आफ्नो मित्रतापूर्ण सम्बन्ध रहिरहेको खुलासा गर्दा एक खालको तरंग उत्पन्न भएको थियो, धेरैजसो टिप्पणी सकारात्मक थिए । त्यसले मलाई गाब्रियलाको याद दिलाएको थियो ।

कुनै पनि सम्बन्धमा उतारचढाव स्वाभाविक हुन्छ । सकिन्छ सम्बन्धलाई हरतरहले सम्हालेर राखौं, बचाएर लगौं । तर कसै गरी सकिन्न भने एउटा नाता तोडिएको न हो, तमाम सम्भावना सकिएको होइन भन्ने हिसाबले सोचौं । कुनै अति सहेरै पनि सम्बन्धलाई अघि बढाइराख्न जरुरी नठानौं । सम्बन्धविच्छेदलाई अजंगको पहाड नमानेर सम्बन्धको सामान्य रूप फेरिएको सम्झौं । र, सकेदेखि विच्छेदपछि पनि मित्रतामै रहौं, जिन्दगीभरि तिक्तताको बोझ नबोकौं ।

प्रकाशित : माघ ७, २०७७ ०८:०५
पूरा पढ्नुहोस्
प्रतिक्रिया
पठाउनुहोस्
×