झापामा मोटरसाइकल दुर्घटना हुँदा २ जनाको मृत्यु- प्रदेश १ - कान्तिपुर समाचार

झापामा मोटरसाइकल दुर्घटना हुँदा २ जनाको मृत्यु

पर्वत पोर्तेल

काँकडभिट्टा — बिहीबार साँझ मेची राजमार्गमा भएको सवारी दुर्घटनामा दुई जनाको मृत्यु भएको छ । 

झापा बुद्धशान्ति गाउँपालिका–४ स्थित वर्ने चिया बगान नजिकै भएको मोटरसाइकल दुर्घटनामा अर्जुनधारा ७ का २१ वर्षीय कविराज भनिने कमल चौधरी र २० वर्षीया हेमा महतको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय झापाले जनाएको छ ।

इलामको कन्याम घुमेर फर्किएका चौधरी र महत सवार मे. ७ प ९४६२ नम्बरको मोटरसाइकल सोही दिशाबाट झापा आइरहेको मे. १ ज २०९३ नम्बरको टाटा सुमोसँग ठोक्किएको थियो । दुर्घटनामा गम्भीर घाइते घाइते भएका दुवैलाई उपचारका लागि बीएन्डसी अस्पताल लगिएको थियो । उनीहरुको उपचारका क्रममा मृत्यु भएको प्रहरीले जनाएको छ ।

अर्जुनधारा ७ स्थित मिलडाँडा नजिकै बस्ने उनीहरुको मृत्युपछि गाउँ शोकमग्न बनेको अर्जुनधाराका पत्रकार रमेश समदर्शी राईले जानकारी दिए । राईका अनुसार कविराज परिवारका एक्लो छोरा तथा हेमा परिवारकी कान्छी छोरी थिइन् । दुर्घटनामा परेको टाटा सुमोका चालक बुद्धशान्ति ७ का सञ्जय गदाल फरार छन् ।

प्रकाशित : माघ २, २०७७ १०:३०
प्रतिक्रिया
पठाउनुहोस्

हुस्सु र कुहिरोले आन्तरिक उडान प्रभावित

इकान्तिपुर डेस्क

काठमाडौँ — शुक्रबार बिहानैदेखि मुलुकका विभिन्न ठाउँमा लागेको हुस्सु र कुहिरोका कारण आन्तरिक उडान प्रभावित भएका छन् । 

फाइल तस्बिर

त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलका अनुसार विराटनगर, भरतपुर, जनकपुर, सिमरा, भैरहवा, नेपालगञ्जलगायत गन्तव्यका उडान प्रभावित भएका छन् ।

बाक्लो हुस्सुले आन्तरिक उडान प्रभावित भए पनि अन्तर्राष्ट्रिय उडान भने सामान्य रहेको विमानस्थल कार्यालयले जनाएको छ ।

मौसम पूर्वानुमान महाशाखाका अनुसार अहिले देशको पहाडी भू-भागहरुमा आंशिक बदली रहेको छ भने उपत्यका लगायत तराई भू-भागका धरै जसो स्थानहरुमा बाक्लो हुस्सु/कुहिरो लागेको छ ।

प्रकाशित : माघ २, २०७७ १०:२५
पूरा पढ्नुहोस्
प्रतिक्रिया
पठाउनुहोस्
×