कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement

सांस्कृतिक सद्‌भाव जोड्दै भाक्का

मनाइयो चौथो राष्ट्रिय भाक्का दिवस
अर्जुन राजवंशी

बिर्तामोड — बुधबार बिहान बिर्तामोडमा राजवंशी युवतीहरु एकसरो पेटानी (राजवंशीको जातीय पहिरन) मा मात्र देखा परे । कपडाले पुस मसान्तको चिसो त छेकेको थिएन तर तात्तातो भाक्का (भक्का), माछा, आलु–भान्टाको तरकारी, टमाटरको अचार र चिया पिउदै/खादै बसेका उनीहरुलाई चिसोको कुनै पर्वाह थिएन ।

सांस्कृतिक सद्‌भाव जोड्दै भाक्का

बुधबार झापाका राजवंशी जातिले चौथो राष्ट्रिय भाक्का दिवस मनाएका छन् । बिर्तामोडको सिटी सेन्टरमा करिब तीन हजार जना भेला भई दिवस मनाइएको हो । ‘यसरी सामूहिक भाक्का खानले कार्यक्रमले हामी नयाँ पुस्तालाई उत्साहित बनाएको छ,’ विराटनगरकी सपना राजवंशीले भनिन् ।

शिक्षक कुवेरप्रसाद राजवंशीले भाक्कालाई राष्ट्रिय परिकारकै रुपमा विकास गर्नुपर्ने माग राखे । ‘विशुद्ध चामलको मात्र बनाइने भाक्कामा कुनै मिसावट छैन । स्वादिष्ट र अर्गानिक भएकाले यो परिकारलाई नेपालीको साझा परिकारको रुपमा विकास गर्न जरुरी छ,’ उनले भने । राजवंशी इतिहासकार फूलसिंह राजवंशी भाक्काले पूर्वी तराईमा सांस्कृतिक सद्भावलाई जोडेको बताउँछन् । ‘भाक्काले स्वाद र भोक मात्र मेटाएको छैन । यसले सबै जाति समुदायबीच सद्भाव जगाउन काम गरेको छ,’ उनले भने ।

भाक्का पूर्वी तराईका जिल्लाहरुमा मौसमी व्यवसायसमेत बनेको छ । हिउँदका ६ महिना बिहान–बेलुका चोक बजारमा भाक्का बेचेर विपन्‍न वर्गका महिलाहरुले परिवारको खर्च जुटाउने गरेको कोचिला गाभुर फ्रन्टका अध्यक्ष अभय राजवंशीले भने । भाक्का राजवंशी समुदायको परम्परागत परिकार हो । यसको संरक्षण र प्रवर्द्धनका लागि चार वर्षदेखि पुस २९ गतेलाई राष्ट्रिय भाक्का दिवसको रुपमा मनाउँदै आएको राजवंशीले बताए ।

भाक्कालाई प्रवर्द्धन गर्न सके भारतीय मेनुको ‘इट्ली’ लाई बिर्साउने ग्लोबल नेप्लिज सेफ फेडेरेसनका महासचिव मोहन गजुरेलको भनाइ छ । ‘थोरै लगानी र समयमा स्वादिष्ट परिकारका रुपमा भाक्का बनाउन सकिने भएकाले भौगोलिक विविधता भएको हाम्रो मुलुकका लागि यो पूर्ण स्वस्थकर र सस्तो खाना बन्न सक्छ,’ उनले भने ।

भाक्का शुद्ध चामलको पीठोबाट बन्छ । मात्राअनुसार चामललाई करिब दुई घण्टासम्म पानिमा भिजाएर थिग्राउनुपर्छ । त्यसपछि ओखली, ढिकी वा मिलमा कुटेर पीठोलाई मसिनो गरी चाल्नुपर्छ । भाडामाथि माटोबाट बनाइएको प्वाल परेको ढकन राख्नुपर्छ । उक्त ढकनलाई भाडाभित्रको बाफ कतैबाट ननिस्किने गरी राख्नुपर्छ । पानीले मुछेर नरम बनाएको पीठोलाई बटुकामा हालेर नरम सुतीको कपडाले बेरेर बाफ निस्किदै गरेको ढकनमा राखे पनि भाक्का पाक्न थाल्छ । बाफकै भरमा भाक्का पाक्न करिब दुई मिनेट लाग्छ ।

प्रकाशित : पुस २९, २०७७ २०:३०
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

छ वर्षअघि अन्त्य भइसकेको यातायात क्षेत्रको सिन्डिकेट ब्युँताउने चलखेल सुरू भएको छ । तपाईंको के राय छ ?