१९.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १४७

मुख्यमन्त्री राई भन्छन्: प्रदेशको बजेट दुर्घटनातर्फ अघि बढेको छ

देवनारायण साह

मोरङ — प्रदेश १ का मुख्यमन्त्री शेरधन राईले निवर्तमान आर्थिक मामिला तथा योजना मन्त्री इन्द्रबहादुर आङ्बोका कारण चालू आर्थिक वर्षको प्रदेशको बजेट दुर्घटनातर्फ अघि बढेको आरोप लगाएका छन् । नेकपा दाहाल–नेपाल समूहका आङ्बोले मुख्यमन्त्री राईले लगाएका आफूविरुद्धको आरोप आधारहीन भएको दाबी गरेका छन् ।

मुख्यमन्त्री राई भन्छन्: प्रदेशको बजेट दुर्घटनातर्फ अघि बढेको छ

मुख्यमन्त्री राईले आर्थिक मामिला मन्त्रालयले चालू आर्थिक वर्षका लागि सही र यथार्थपरक बजेट नलाएकाले दुर्घटनाको अवस्थामा पुगेको बताएका हुन् । ‘चालू आर्थिक वर्षमा मन्त्रालयलले देखिने गरी १५ अर्ब घाटा बजेट ल्याएको र बजेटमा यस्ता थप समस्या छ,’ उनले भने, ‘यसले चालू आर्थिक वर्षको नीति, योजना तथा कार्यक्रम सञ्चालनमा ठूलो असर परेको छ ।’

आङ्बोले आर्थिक मामिला मन्त्रालयकोबारे जानकार नभएकाले मुख्यमन्त्री राईले तथ्यहीन आरोप लगाएको बताए । ‘बजेट दुर्घटनातर्फ अघि बढ्नुको जिम्मेवारी पहिले सरकारको नेतृत्व गर्नुभएको मुख्यमन्त्री ज्यूले आफैं लिनुपर्छ र त्यसपछि मात्रै अरुलाई दोष लगाउन मिल्छ,’ उनले भने, ‘यदी त्यस्तो अवस्था हो भने त्यसको नैतिक जिम्मेवारी आफूलाई लिनुपर्छ ।’

प्रदेश सरकारले चालू आर्थिक वर्षमा चालूतर्फ १८ अर्ब ९३ करोड ४९ लाख ९३ हजार, पुँजीगततर्फ २१ अर्ब ९२ करोड ५० लाख ४ हजार र वित्तीय व्यवस्थातर्फ ४ करोड गरी कूल ४० अर्ब ८९ करोड ९९ लाख ४७ हजारको बजेट ल्याएको छ ।

बजेटको स्रोततर्फ आन्तरिक स्रोतबाट ४ अर्ब ७५ करोड ७ लाख ४७ हजार, राजस्व बाँडफाँटबाट १० अर्ब ३ करोड ५४ लाख र अनुदानबाट १५ अर्ब ११ करोड ३८ लाख, चालु आर्थिक वर्षको नगद मौज्दात ६ अर्ब र ५ अर्ब संघीय सरकारबाट ऋण लिने वयवस्था गरेको छ । तर ६ अर्ब नगद मौज्दात रहनुपर्ने ३ अर्ब ४७ करोड गत वर्ष सम्पन्न भएका योजनाहरुको भुक्तानी दिन नै बाँकी रहेको र संघीय सरकारबाट ऋण प्राप्त गर्न कठिन रहेकाले मुख्यमन्त्री राईले बजेट सही र यथार्थपरक नभएको बताएका हुन् । आन्तरिकलगायत स्रोतबाट आउने रकमको लक्ष्य पनि महत्वाकांक्षी र यथार्थपरक नभएकाले बजेट दुर्घटनातर्फ जाने अवस्था सिर्जना भएको उनको भनाइ थियो ।

मुख्यमन्त्री राईले प्रदेश सरकारले सही र यथार्थपरक बजेट बनाउन नसकेको र वित्तिय अनुशासन कायम नभएकोबारे विभागीय मन्त्रीलाई पटक–पटक सचेत गराउँदा पनि हुन नसकेको उनले बताए ।

मुख्यमन्त्री राईले आफूविरुद्ध अविश्वासको प्रस्ताव दर्ता गराउन हस्ताक्षर अभियान सञ्चालन गरेको भन्दै पुस ११ गते आङ्बोलाई आर्थिक मामिला तथा योजना मन्त्रीबाट बर्खास्त गरेका थिए । पुस १२ गते दाहाल–नेपाल समूहले मुख्यमन्त्री राई बिरुद्ध प्रदेशसभामा अविश्वासको प्रस्ताव दर्ता गराएको छ ।

प्रकाशित : पुस २८, २०७७ १४:४१
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

त्रिभुवन विश्वविद्यालयमा बारम्बार परीक्षार्थीको उत्तरपुस्तिका हराउने गरेको छ। यसको समाधान कसरी हुन्छ?