१९.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १७०

मोटरसाइकल चोर्ने गिरोह पक्राउ

पर्वत पोर्तेल

काँकडभिट्टा — झापालाई ‘सेल्टर’ बनाएर मोटरसाइकल चोरीमा संलग्न ७ जनालाई प्रहरीले पक्राउ गरेको छ । प्रहरीले उनीहरूबाट विभिन्न समयमा चोरिएका १५ थान मोटरसाइकलसमेत बरामद गरेको छ । 

मोटरसाइकल चोर्ने गिरोह पक्राउ

इलाका प्रहरी कार्यालय बिर्तामोडले मंगलबार पत्रकार सम्मेलनमार्फत मोटरसाइकल चोरीमा संलग्नहरूलाई सार्वजनिक गरेको हो । पक्राउ पर्नेमा इलामको माईनगर–२ का क्षितिज भनिने रोशन तामाङ, सोही स्थानका २० वर्षीय रोशन बुढाथोकी, माईनगर–६ का २० वर्षीय रोशन गिरी, सोही स्थानका २० वर्षीय राजेश गिरी र मनीष गिरी छन् । त्यस्तै पाँचथरको फाल्गुनन्द गाउँपालिका–३ का २१ वर्षीय पासाङ तामाङ र ताप्लेजुङको सिदिङ्वा–४ का २२ वर्षीय सन्दीप लिम्बू पक्राउ परेका छन् ।

प्रहरीका अनुसार केही दिनयता बिर्तामोड तथा आसपास क्षेत्रबाट दैनिक मोटरसाइकल चोरी भएको भन्दै उजुरी पर्ने गरेका थिए । त्यसपछि गिरोहको खोजीमा लागेको प्रहरी एक हप्तामा उनीहरूलाई पक्राउ गर्न सफल भएको डीएसपी मुकुन्द रिजालले जनाए ।

प्रहरीका अनुसार चोरी भएका मोटरसाइकल इलाम, पाँचथरलगायत जिल्लामा लगेर बेचेको खुलेको छ । ‘बिर्तामोडवाट चोर्ने, पहाडी जिल्ला पुर्‍याएर सस्तो मूल्यमा विक्री गर्ने गरिएको अनुसन्धानबाट खुलेको छ,’ डीएसपी रिजालले भने, ‘यसपटक हामीले चोरीमा संलग्न गिरोहको सञ्जाल नै तोड्यौं ।’

प्रहरीले उनीहरूलाई चोरीजन्य कसुरमा जिल्ला अदालत झापाबाट म्याद थप गरी हिरासतमा राखेर अनुसन्धान गरिरहेको जनाएको छ ।

प्रकाशित : पुस २८, २०७७ ०९:५६
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

त्रिभुवन विश्वविद्यालयमा बारम्बार परीक्षार्थीको उत्तरपुस्तिका हराउने गरेको छ। यसको समाधान कसरी हुन्छ?