पेस्तोल र गोलीसहित सुनसरीबाट दुई जना पक्राउ

सुनसरी — सुनसरीको कोसी गाउँपालिका–८ भन्टाबारीबाट प्रहरीले २ थान कटुवा पेस्तोल र पेस्तोलमा प्रयोग हुने ५ राउण्ड गोलीसहित २ जनालाई पक्राउ गरेको छ । पक्राउ पर्नेहरुमा कोसी गाउँपालिका ८ बस्ने ३५ वर्षीय मोहम्मद मुक्तार मिया र २७ वर्षीय सद्दाम मिया छन् । उनीहरुलाई प्रहरीले मंगलबार पक्राउ गरे पनि बुधबारमात्र सार्वजनिक गरेको हो । 

पेस्तोल र गोलीसहित सुनसरीबाट दुई जना पक्राउ

प्रहरीले उनीहरुको साथबाट १० इन्चको मजलमा काठको विंड भएको एकथान कटुवा पेस्तोल र ११ दशमलव ५ इन्च मजल र काठकै विंड भएको एकथान कटुवा पेस्तोल, त्यसमा प्रयोग हुने विएमएमकेएफ लेखिएको पाँच राउण्ड गोली, को ३६ प २३९० नम्बरको र विआर–५०सि ०२४४ नम्बरको मोटरसाइकल र दुई थान मोबाइल बरामद गरेको जनाएको छ ।

जिल्ला प्रहरी कार्यालय सुनसरीका अनुसार भन्टाबारी चोक नजिक कोसी रोयल होटल अगाडि भारतबाट शंकास्पद अवस्थामा आउँदै गरेको २ वटा मोटरसाइकल चालकलाई रोकेर जाँच गर्ने क्रममा उनीहरु पक्राउ परेका हुन् ।

सुनसरीका वरिष्ठ उपरीक्षक कमल थापाकाअनुसार सद्दामले कम्मरको दायाँ र बायाँपट्टी भिरेर लुकाइराखेको अवस्थामा २ थान कटुवा पेस्तोल फेला परेको हो । उनीहरुलाई मुलुकी अपराध (संहिता) ऐन २०७४ को हातहतियार खरखजना सम्बन्धी कसुर अनुसार कानुनी कारबाही गर्न थप अनुसन्धान भइरहेको थापाले बताए । दुईदिनअघि मात्र धरानबाट दुई थान अटोमेटिक पेस्तोलसहित प्रहरीले दुई जनालाई पक्राउ गरेको थियो ।

प्रकाशित : पुस ८, २०७७ २०:३२
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

अध्यादेशबाट कानुन ल्याएर भएपनि सहकारीपीडितको रकम फिर्ता गर्ने गृहमन्त्री रवि लामिछानेको भनाईप्रति तपाईं के टिप्पणी छ ?