बराहापोखरी र जन्तेढुंगा गाउँपालिकामा पुमा भाषा पढाइ हुने

डम्बरसिं राई

खोटाङ — बराहापोखरी र जन्तेढुंगा गाउँपालिकामा किरात राई पुमा भाषामा पठन–पाठन सुरु गरिने भएको छ । यी गाउँपालिकाका १४ विद्यालयमा किरात राई पुमा भाषामा पठनपाठन गरिने भएको हो ।

किरात पुमा राई तुप्खाबाङ्गालाको पहलमा बराहापोखरी र जन्तेढुंगा गाउँपालिकामा यसै शैक्षिक सत्रबाट पठन–पाठन सुरु गरिने तुप्खाबाङ्गालाका केन्द्रीय अध्यक्ष भूपेन्द्र राईले बताए । किरात पुमा राई तुम्खाबाङ्गालाले भाषाको पाठ्यक्रम निर्माण गरी पाठ्य पुस्तक समेत तयार भइसकेकाले अब पठनपाठनको तयारीमा रहेको अध्यक्ष राईको भनाइ छ ।

सुरुमा जन्तेढुंगा गाउँपालिका–१ देविस्थानस्थित शिक्षा निकेतन औतारी मावि पौवा, जनता आधारभूत विद्यालय बुकुला र चौतारा आधारभूत विद्यालय पाँडेगाउँमा कक्षा–१ का विद्यार्थीलाई पुमा भाषा पढाइ हुने राईले बताए । त्यसपछि वडा नम्बर–६ दिप्लुङको पैयाँटार प्राथामिक विद्यालय निगाल्बास र भानुमति प्राथामिक विद्यालय दिप्लुङमा कक्षा सञ्चालन गरिनेछ । जन्तेढुंगा गाउँपालिका–५ चिसापानीस्थित जनबहुमुखी आधारभूत विद्यालय घोर्ले र सिंहदेवी आधारभूत विद्यालय पाथीभारा पनि पठनपाठन सुरु गरिनेछ ।

पुमा राईको बाहुल्यता भएको गाउँपालिका भएकाले मातृ भाषाको कक्षा सञ्चालन गर्न गाउँपालिकाले नीति बनाएर पठनपाठन सुरु गर्न तयार गरिएको जन्तेढुंगा गाउँपालिकाका अध्यक्ष शंकर राईले बताए । उक्त गाउँपालिकाको बोपुङ, काहुले र डम्वर्खुशिवालयमा भने बान्तावा भाषाको कक्षा सञ्चालन गरिने अध्यक्ष राईले बताए ।

बराहापोखरी गाउँपालिका–६ मौवाबोटेको चकलीदेवी अधारभूत विद्यालय इमखिम, जलकन्या आधारभूूत विद्यालय आहाले, जनसहयोग आधारभूत विद्यालय चाभालोक्खा र मौवाबोटे अधारभूत विद्यालय बालङ्तुङमा पनि पुमा राई पाठ्यक्रम अनुसार कक्षा सञ्चालन हुने भएको छ । त्यसैगरी उक्त पालिकाकै वडा नम्बर–५ पौवासेराको पाँचकन्या मावि चेङ्गुवामा कक्षा सञ्चालनको तयारी गरिएको बराहापोखरी गाउँपालिका उपाध्यक्ष गोमा मगरले बताए ।

जिल्लाको दिक्तेल रुपाकोट मझुवागढी नगरपालिकामा चाम्लिङ राई, ऐसेलुखर्क र रावाबेसी गाउँपालिकामा थुलुङ राई भाषाको पठन–पाठन सञ्चालन गरिएको छ । हलेसी तुवाचुङ नगरपालिकामा चाम्लिङ, वाम्बुले र तिलुङ राई भाषामा पठन–पाठन सुरु भएको छ । वाम्बुले राईको बाहुल्यता रहेको वडा नम्बर–१ बाहुनीडाँडा र वडा नम्बर–२ डिकुवामा वाम्बुले भाषा तथा तिलुङ राईको बाहुल्यता रहेको वडा नम्बर–३ च्यास्मिटारमा तिलुङ भाषालाई पनि सरकारी कामकाजमा मान्यता दिएको छ ।

प्रकाशित : पुस ४, २०७७ १८:११
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

छ वर्षअघि अन्त्य भइसकेको यातायात क्षेत्रको सिन्डिकेट ब्युँताउने चलखेल सुरू भएको छ । तपाईंको के राय छ ?