कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement
२४.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १३४

सोलुखुम्बुमा तीन वर्षमा १२ वटा पक्की पुल बने

कुम्भराज राई

ओखलढुंगा — स्थानीय तहमा जनप्रतिनिधि चुनिएर आएयता हिमाली जिल्ला सोलुखुम्बुमा धमाधम मोटरेबल पुल बनिरहेका छन् । तीन वर्षमा साना–ठूला गरी १२ वटा पुल बनिसकेका छन् भने अन्य १० वटा निर्माणको चरणमा छन् ।

सोलुखुम्बुमा तीन वर्षमा १२ वटा पक्की पुल बने

निर्माण सकिएकामा दूधकोसी मितेरी, ठाडो खोला, खहरे खोला, सिसाखोला, बोल्दुक, बेनी, तामाखानी, किन्जा, लिखुखोला, भित्ताखर्क, दिप्लीघाट बेलीब्रिज र तिङला भदौरे पुल हुन् । दिप्लीघाटको बेलीब्रिज अस्थायी भए पनि पक्की पुल निर्माण नभएसम्म हिउँद–वर्षा दुवै समयमा मोटर चल्ने गरी बनाइएको छ ।

किन्जा र लिखुखोला दुवै पुल लिखु नदीमा निर्माण भएका हुन् । यी पुलले सोलुखुम्बुलाई रामेछापसँग जोड्छन् । यसै गरी कायाखेत, छिर्दी, दिप्लीघाट, बर्कुघाट, वात्तिम, चुर्पुघाट, पहेंलेघाट, चट्याङघाट, ठुलोढुंगा, हुंगाखोलामा पुल निर्माण चरणमा छन् ।

सबैभन्दा बढी पाँचवटा मोटरेबल पुल दूधकोसीमा निर्माण भइरहेका छन् । ‘अहिलेसम्म सोलुखुम्बुमा सोलुखोलाको साल्मेमा एउटा मात्र पक्की पुल सञ्चालनमा थियो,’ सोलुखुम्बुका निर्वाचित संघीय सांसद हेमकुमार राईले भने, ‘बाँकी सबै पुल गएको तीन वर्षमा निर्माण भइरहेका छन् । अबको एक वर्षभित्र सम्पन्न हुनेछन् ।’

अधिकांश पक्की पुल निर्माणमा संघ, प्रदेश र स्थानीय तहले संयुक्त रूपमा बजेट विनियोजन गरेका छन् । तीनवटै तहको समन्वयमा यी काम भएको सर्वसाधारणको भनाइ छ । निर्वाचन क्षेत्र विकास कोषको बजेटसमेत पुल निर्माणमा खर्च गरिएको छ ।

रामेछाप र सोलुखुम्बु जोड्ने लिखु नदीको किन्जा पुल पहिले नै ठेक्का लागे पनि स्थानीय तहको चुनावपछि सम्पन्न भएको हो ।

सोलुखोलाको साल्मेमा बनेको पक्की पुल सडक पुग्नुअघि नै निर्माण गरिएको थियो । सडकको नक्सांकन नभई पुल बनाइएको कारण साल्मे सडकखण्ड अझै स्थायी हुन सकेको छैन । पुलनजिकै सिस्नेरीमा पहिरोले बर्सेनि सडक अवरुद्ध हुने गरेको छ ।

सदरमुकाम आवतजावत गर्नकै लागि कैयौं दिन लाग्ने कोसीपारिका क्षेत्रहरू पुल बनेपछि सहजै सडकसँग जोडिएका छन् । सडक ट्र्याक खन्ने काम मात्र महत्त्वपूर्ण नभई यसलाई स्थायी बनाउन पक्की पुल निर्माण अनिवार्य भएको महाकुलुङ गाउँपालिका अध्यक्ष सागर किरातीले बताए ।

प्रकाशित : मंसिर २९, २०७७ १३:२५
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

बैंकमा लगानीयोग्य रकम थुप्रिएर साढे ६ खर्ब नाघेको छ। बैंकहरूले ब्याजदर घटाउँदासमेत कर्जा प्रवाह बढ्न नसक्नुको कारण के हो?