२९.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: ३००

बीपी प्रतिष्ठानमा गुणस्तरहीन स्प्रिट आपूर्ति

प्रदीप मेन्याङ्बो

सुनसरी — धरानस्थित बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानमा गुणस्तरहिन स्प्रिट आपूर्ति भएको पाइएको छ । गतसाता गर्ग इम्पेक्समार्फत प्रतिष्ठानमा रंग मिसाएको गुणस्तरहीन स्प्रिट आपूर्ति भएपछि चिकित्कहरुले गुनासो गरेका छन् ।

बीपी प्रतिष्ठानमा गुणस्तरहीन स्प्रिट आपूर्ति

गर्ग इम्पेक्स धरानका मेडिकल उपकरण र औषधि सम्बन्धी व्यापारी पवन अग्रवाल र उनका भाइ चेतन अग्रवालको फर्म हो ।

बिरामी उपचारमा संलग्न चिकित्सकले सुइलगायत साना मेडिकल उपकरण सफा गर्ने र हात सफा गर्न स्प्रिट प्रयोग हुन्छ । दैनिक ४ हजार बढी बिरामी आउने र ८ सय शय्यामा भर्ना भएका बिरामी र चिकित्सक, नर्सहरुले सफाइमा प्रयोग गर्ने लाखौं रुपैयाँको स्प्रिट गुणस्तरहीन आपूर्ति हुनुमा मेडिकल स्टोर हेर्ने कर्मचारीसँग मिलोमतो भएको हुनसक्ने चिकित्सकहरुले आशंका गरेका छन् ।

प्रतिष्ठानका दन्त चिकित्सा कल्याण समाजका अध्यक्ष डा.विष्णु पोखरेका अनुसार मेडिकल स्टोरबाट गतसाता अस्पतालको विभिन्न विभागमा पुर्‍याएपछि चिकित्सकहरुले अरु बेला झै प्रयोग गर्दा हातै रंगिएको पाइएपछि रंग मिसिएको गुणस्तरहीन भएको पुष्टि भएको थियो ।

उनले भने, ‘गुणस्तरहीन स्प्रिट भएको कारण प्रयोगकर्ताहरुको हात नै हरियो बनेको थियो । मानिसले स्प्रिट नपिऊन् भनेर हरियो रंग देखिने गरि कपर सल्फेट मिसाइएको हुन्छ । गुणस्तरीय स्प्रिटमा रुवा चोप्दा रंग आउँदैन र हातमा पनि लाग्दैन । तर, प्रतिष्ठानमा आपूर्ति भएको भएको गुणस्तरहीन स्प्रिटले रुवालाई मात्र होइन, हातलाई नै पनि हरियो बनाइदिएको छ ।’

चिकित्सकहरुले गुणस्तरहीन आपूर्तिकर्ता कम्पनी र व्यक्तिलाई कारबाही गर्नुपर्ने भन्दै आवश्यक छानबिनको माग गरेका छन् । उनीहरुले दोषीलाई कारबाहीको माग गर्दै अस्पताल प्रशासन समक्ष गुनासो गरिसकेको डा. पोखरेलले बताए । उनले भने, ‘सप्लायर्सले दिएको गुणस्तरहीन स्प्रिटको गुणस्तर जाँच नभएको र मेडिकल स्टोरले पनि आवश्यक जाँच (भेरिफाई) नगरी अस्पतालमा प्रयोगको लागि पठाउनु गैरजिम्मेवारी हो ।’

प्रतिष्ठानका गुणस्तर जाँच प्रमुख परमानन्द गुप्ताले विगतमा पनि गुणस्तरहीन स्प्रिटको नमुना आउँदा तीन पटक बदर भएको बताए । प्रतिष्ठानमा आपूर्ति भएको स्प्रिट गुणस्तरहीन भएको गुनासो आएपछि आफूहरुले पनि सोधी खोजी गर्दा गुणस्तरहीन नै भएको पाएको गुप्ताले बताए । गुणस्तरहीन स्प्रिट सबै फर्काउन लगाएको उनले बताए ।

मेडिकल स्टोर प्रमुख संजिव कर्णले सुरुमा हेर्दा राम्रै देखिएको तर प्रयोग गर्दा गुणस्तरहीन भएको थाहा पाएपछि फिर्ता गरेर गुणस्तरीय स्प्रिट आपूर्ति गर्न लगाएको बताए । प्रतिष्ठानमा स्प्रिट आपूर्तिकर्ता चेतन अग्रवालले भने प्रतिष्ठानमा आफूहरुले गुणस्तरहीन स्प्रिट आपूर्ति गर्ने नियत नभएको बताए ।

उनले भने, ‘हामीले टेण्डर पारेपछि प्रतिष्ठानलाई आवश्यक ४ हजार जार स्प्रिट अन्तःशुल्क लाइसेन्स प्राप्त विराटनगरको एक कम्पनीबाट खरिद गरेर आपूर्ति गरेको हौं । पहिलो चरणमा २ सय ८८ जार स्प्रिट आपूर्ति गरेकोमा गुणस्तरहीन भएको गुनासो आएपछि फिर्ता गरेका छौं ।’

प्रकाशित : मंसिर २३, २०७७ १५:५०
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

राजनीतिक दलमा आबद्ध शिक्षकहरूलाई पदबाट हटाउने शिक्षा मन्त्रालयको निर्णय कस्तो लाग्यो ?