१८.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: ६०७

मुन्धुम पदमार्ग शिलान्यास

डम्बरसिं राई

खोटाङ — खोटाङ र भोजपुरको सिमानामा पर्ने चखेवा भन्ज्याङमा मुन्धुम पदमार्गको सोमबार शिलान्यास गरिएको छ ।

मुन्धुम पदमार्ग शिलान्यास

जिल्ला समन्वय समिति भोजपुरका प्रमुख लक्ष्मण खड्काले किराती संस्कार अनुसार शिलान्यास गरेका हुन् । प्रदेश सरकार, स्वीस सरकार र स्थानीय सरकारको ९९ लाख २२ हजार सात सय रुपैयाँको लागतमा टेम्के सेक्टरको पदमार्ग निर्माण सुरु गरिएको हो ।

उक्त बजेटले १४ किलोमिटरमा काम हुने उक्त मुन्धुम ट्रेलमा कार्यरत स्वीस कर्मचारी हिराबाबु थापाले बताए । उनका अनुसार यो रकमले पदमार्ग फराकिलो बनाउने, सिडी बनाउने, चौतारा बनाउने, सोलिङ गर्ने, साइनबोर्ड बनाउने लगायतका काम हुने छ ।

यो योजना पहिलो चरणको हो । आगामी चैतसम्ममा पहिलो चरणको काम सकेर अर्को चरणमा प्रवेश गर्ने थापाले बताए । उनका अनुसार टेम्के सेक्टरको मुन्धुम ट्रेलको कामका लागि दुई करोड बजेट विनियोजन गरिएको छ ।

मुन्धुम ट्रेल अन्तर्गत भोजपुरको टेम्केमैयु गाउँपालिका, सालपा सिलिचो गाउँपालिका, षडानन्द नगरपालिका र भोजपुर नगरपालिकाको भूगोल पर्दछ । त्यस्तै खोटाङको साकेला गाउँपालिका, केपिलासगढी गाउँपालिकाको भूगोलमा मुन्धुम ट्रेल पुगेको छ ।

मुन्धुम ट्रेल किराती संस्कार, संस्कृति र जीवनशैलीमा आधारित छ । किरातीहरुले मुन्धुमलाई मौलिक ज्ञान मान्ने भएकाले यसैको आधारमा जन्मदेखि मृत्युसम्मको क्रियाकलाप गर्ने परम्परा रहेको र यसैलाई आधार मानेर पदमार्गको रुपमा विकासित गरिएको मुन्धुम ट्रेलसँग सम्बद्ध रमेश राईले बताए ।


यो पदमार्ग विभिन्न किराती समुदायको बसोबास गर्ने ठाउँहरुमा भएकाले विभिन्न किराती संस्कृति, संस्कार र जीवनशैली बुझ्न सकिने भएकाले मुन्धुम ट्ेरल नाम राखिएको पर्यटन राईले बताए । यो पदमार्ग किराती समुदायका लागि मात्र नभएर मुलुककै लागि महत्त्वपूर्ण भएकाले सरकारले एक सय पर्यटकीय गन्तव्यभित्रको सूचीमा राखेको राईले सुनाए ।

हिमालनजिकै पुगेर त्यसको सौन्दर्यमा रमाउने पर्यटकहरुका लागि डाँडैडाँडा थकानको महसुस समेत नहुने गरी हिँडिरहुँ लाग्ने अपेक्षा गरिएको राईले सुनाए । यो पदमार्गबाट सगरमाथा, कञ्चनजङ्घा, मकालु, ल्होत्से, च्रोयु लगायतका आठ हजार मिटर अग्ला छ वटा हिमाल देख्न सकिन्छ । यसबाहेक ४५ वटा हिमश्रृङ्खला देख्न सकिन्छ । नेपालको अन्य कुनै ट्रेकिङ रुटबाट देखिँदैन । यसका साथै तराईका भू–भागहरु समेत अवलोकन गर्न सकिने छ ।

ठूला घाँसे मैदान, फराकिला चौरीखर्क तथा भेडीगोठको बीचबाट डाँडाहरुको शीर छिचोण्ल्दै विभिन्न प्रजातिका गुराँस, विभिन्न जडीबुटीहरु तथा घना जंगलहरु अवलोकन गर्न पाइने छ ।

यो यात्रामा मैयुङको हाँसपोखरी क्षेत्रमा पाइने विभिन्न प्रजातिका चराचुरुङ्गी, लोपोन्मुख रेडपाण्डा, लोपोन्मुख भीर माहुरी, लोपोन्मुख सालक, लोपोन्मुख कालोभालु लगायतका विभिन्न जंगली जनावरहरुसँग लुकामारी खेल्न पाइने छ ।

सगरमाथा (चोमालुङ) चुचुरोमा पहिलो पाइला टेकेका तेञ्जिङ नोर्गे सेर्पा र एडमण्ड हिलारीले २०१० सालमा यही पदमार्गको एउटा अंशको रुट प्रयोगको राईको दाबी छ । मध्यपहाडी लोकमार्ग आसपास नै यो पदमार्ग भएकाले अझ सहज हुने राईको भनाई छ । ‘यो सायद विश्वकै ‘भर्जिन’ पदमार्ग हुन सक्छ ।’ राईले भने–‘यसले किराती समुदायको विकास लागि एउटा कोसेढुङ्गा सावित हुने छ ।’

यो पदयात्रामा किराती स्वादको परिकार पाइन्छ । फापर, कोदा तथा गहुँको रोटी, ढिडो, मकैको ठेप्ला, सिस्नुको तरकारी, जौको सातु, मकै–भटमास, कोदोको तीनपाने रक्सी, मांसहारीका लागि विभिन्न चौपायाको सुकुटी लगायतका परिकार पाइन्छन् । यसबाहेक कालिज तथा रैथाने कुखुराको मासु पनि अर्को तिख्खरीलो स्वाद लिन सकिन्छ । यसका साथै चौरीको दूध, घिउ पनि अर्को अनुपम खान्की पाइन्छ । त्यस्तै जटिबुटीयुक्त भीरमाहुरीको मह अर्को दुर्लभ स्वाद पाइने राई सुनाउँछन् ।

प्रकाशित : मंसिर २२, २०७७ २१:३०
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

राजनीतिक दलमा आबद्ध शिक्षकहरूलाई पदबाट हटाउने शिक्षा मन्त्रालयको निर्णय कस्तो लाग्यो ?