कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement
२१.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १५३

टोकटोके जंगलमा तीन दिनदेखि डढेलो

'बस्तीको बीचमा खोला भएकाले आगो बस्तीमा पस्ने कुनै सम्भावना छैन'
आनन्द गौतम

ताप्लेजुङ — सिदिङवा गाउँपालिका–७ सुरुमखिमको टोकटोके जंगलमा तीन दिनदेखि डढेलो लागिरहेको छ । स्थानीय गौरी भट्टराईका अनुसार मंसिर १३ गते दिउँसो देखिएको आगो अझै निभेको छैन । डढेलो निकै ठूलो र धुँवाको ठूल्ठूलो मुस्लो देखिएको सिरिजंगा गाउँपालिकाका अध्यक्ष टिका गुरुङले जानकारी दिए । यो गाउँपालिकाको केन्द्र तेल्लोकबाट आगलागी भएको ठाउँ देखिन्छ ।

गौरीका अनुसार डढेलो लागेको क्षेत्र ठूलो भएकाले यहाँ नियन्त्रणका लागि जाने सम्भावना छैन । ‘यो जंगलमा बर्सेनि डढेलो लाग्छ,’ गौरीले भने, ‘आफै लाग्छ र आफै निभ्छ, यो वर्ष पनि सायदै तेस्तै होला ।’ तेल्लोक प्रहरी चौकिले आइतबार फोन गरेर सोधेको र आफूले त्यही जानकारी गराएको उनले बताए । यही जंगलको नजिकमा कायम्वा बस्ती छ । त्यहाँ चार/पाँच वटा घर भएको बालकल्याण माविका प्रधानाध्यापक यज्ञप्रसाद पौडेलले बताए । तर ती घरहरु जोखिममा नरहेको गौरीले बताए । जंगल र बस्तीको बीचमा कायङमा खोला भएकाले आगो बस्तीमा पस्ने कुनै सम्भावना नभएको उनले जानकारी दिए ।

बुरुमखिमका दिपेन्द्र लिम्बू वन्यजन्तुलाई असर परेको हुनसक्ने तर मानवीय जोखिम नरहेको बताउँछन् । विगतका वर्षमा माघ फागुनमा लाग्ने डढेलो यो वर्ष चाँडै लागेको उनले बताए । ‘हाम्रो ठीक वारिपट्टि पर्छ,’ दिपेन्द्रले भने, ‘बर्सेनि पारिपट्टि सल्केको डढेलो हेर्नुको विकल्प हुँदैन ।’ एकदमै अप्ठेरो भीर भएकाले नियन्त्रणका लागि जाने कल्पनासम्म पनि नहुने उनले बताए । तीन दिन आगो लाग्दा तीनको एक भाग जलेको हुनुपर्ने उनको अनुमान छ । ‘माथि त टुप्पैमा पुग्यो अब डाँडा काटेर गयो भने मात्रै हो,’ दिपेन्द्रले थपे, ‘नत्र नियन्त्रणमा आउँछ होला ।’ डाँडा कटेर गएपनि मानव बस्तीमा नपुग्ने उनले बताए । ‘अलैंची बगानमा पुग्छ त्यसपछि आफैं निभ्छ’ उनले भने । बर्सेनि आगलागी भएपनि कसले लगाउँछ वा आफै लाग्छ अहिलेसम्म थाहा नभएको स्थानीय बताउँछन् ।

प्रकाशित : मंसिर १५, २०७७ १९:०२
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

बैंकमा लगानीयोग्य रकम थुप्रिएर साढे ६ खर्ब नाघेको छ। बैंकहरूले ब्याजदर घटाउँदासमेत कर्जा प्रवाह बढ्न नसक्नुको कारण के हो?