कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement
२२.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १८१

आठपहरियाको पर्व वाडाङ्‌मेट सुरु

रमेशचन्द्र अधिकारी

धनकुटा — आठपहरिया जातिको मुख्य पर्व वाडाङ्‌मेट सोमबार सुरु भएको छ । १५ दिनसम्म मनाइने यस पर्वमा पितृको सम्झना गर्दै शुभकामना साटासाट गरिन्छ ।

आठपहरियाको पर्व वाडाङ्‌मेट सुरु

धनकुटा नगरपालिकाका याक्ते, सान्ताङ, डाँडागाउँ, देब्रेबास, ठोका, वेलहारा, सेउले, छारागाउँ, भीरगाउँलगायत क्षेत्रमा आठपहरिया जातिको मुख्य बसोबास छ । यस पर्वमा सुनसरीको बराहक्षेत्र गएर नुहाउने र परिवारका सदस्य गुमाएकाहरूले यो शुद्धशान्ति गर्ने चलन रहेको आठपहरिया समाजका महासचिव सूर्य आठपहरियाले जानकारी दिए ।

खास गरी यो चाडमा आठपहरिया जातिभित्रको होम्बारक, छिर्लिङे, खावाडो तीन पाछा अर्थात् पुस्ताको डल्ले नाच नाचिन्छ । यस्तै परिवारका सदस्यको मृत्यु भएको पीडालाई सप्तकोसी, कोकाहाखोला र तमोरमा बगाउने चाडका रूपमा वाडाङ्‌मेटको विशेष महत्त्व रहेको उनले बताए ।

यो पर्वमा मार्गा, श्रीपञ्चमीलगायत थलोमा विशेष पूजा गरिन्छ । निमसल्ला घरघरमा पठाएर सुखशान्तिको कामनाका साथै भाकल पूजा गरिन्छ । अल्पसंख्यक यो जातिको संस्कृति, भाषा तथा लिपि जोगाउन लागि पछिल्लो पुस्ताले चासो दिएको आठपहरियाले बताए । ‘चाडपर्वमा पछिल्लो पुस्ताले संरक्षण गर्नुपर्ने भएकोले यसतर्फ जुटेका छौं,’ उनले भने, ‘वाडाङ्‌मीलगायत हाम्रो चाडपर्वका अवसरमा पछिल्लो पुस्तालाई पछ्याउने अवसरका रूपमा लिन सकिन्छ ।’


पर्वका अवसरमा नयाँ लुगा लगाउने तथा मिठा परिकार खाँदै घरघरै नाचगान गरिन्छ । मौलिक पोसाकका रूपमा महिलाले आफैले बुनेको मेख्ली र सिम तथा पुरुषले दौरा–कछाड लगाउने चलन रहेको समाजकी केन्द्रीय अध्यक्ष सारकुमारी आठपहरियाले जनाइन् ।

आठपहरिया जातिले धनकुटा नगरलाई आठपहरिया स्वायत्त क्षेत्रमा सूचीकृत गरिनुपर्नेमा जोड दिँदै आएका छन् । आठपहरियालाई जनजाति महासंघमा सूचीकृत नगरिएकोमा पनि उनीहरूको गुनासो छ । २०६८ सालको जनगणना अनुसार जिल्लामा आठपहरियाहरूको संख्या ५ हजार ९ सय ७७ छ ।

धनकुटा नगरपालिकामा सार्वजनिक बिदा

वाडाङ्‌मेट पर्वका अवसरमा धनकुटा नगरपालिकाले सोमबार सार्वजनिक बिदा दिएको छ । नगरपालिका क्षेत्रमा बसोबास गर्ने आठपहरिया जातिको विशेष चाड रहेकोले सार्वजनिक बिदा घोषणा गरिएको प्रमुख प्रशासकीय अधिकृत रामबहादुर थापाले जानकारी दिए । नगरपालिका कार्यालयसहित नगर क्षेत्रका शिक्षण तथा स्वास्थ्यसंस्थामा पनि बिदा दिइएको छ ।

प्रकाशित : मंसिर १५, २०७७ १०:०५
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

सहकारीको बचत अपचलनमा प्रहरीले गृहमन्त्री रवि लामिछाने संलग्न रहेको प्रतिवेदन लेखेपनि मुद्दामा उन्मुक्ति दिएको विषयमा तपाईंको राय के छ ?